अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस
संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । हरेक बर्ष नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय अपाङ्ग महासंघको समन्वय र यस क्षेत्रमा कार्यरत अपाङ्गता भएका व्यक्तिका संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, मानवअधिकार सम्बन्धी काम गर्ने निकायहरू, नीजि क्षेत्र, संयुक्त राष्ट्रसंघीय निकायहरू लगायत आम नागरिकहरूको वृहत संलग्नतामा विभिन्न कार्यक्रमहरू गरि यो दिवस मनाउने गरिन्छ । यस दिन सञ्चार माध्यमहरूले समेत यो विषयलाइ विशेष महत्वका साथ स्थान दिने हुनाले देश भर कुनै न कुनै रूपमा यो दिवस मनाउने गरिएको छ ।
३ डिसेम्बर २०२२ सम्म पुग्दा यो दिवसको ३१ औँ श्रृङ्खलामा प्रवेश गरेको छ । त्यसैले सधैँ झै यस पटक पनि प्रभात फेरी, मुल समारोहको आयोजना लगायत सप्ताहव्यापी रूपमा विभिन्न गतिविधिहरू गरि मनाइयो । दिवसको यस बर्षको मुल नारा “Transformative solutions for inclusive development: the role of innovation in fuelling an accessible and equitable world भन्ने अन्तर्राष्ट्रिय नारा अर्थात “समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान”
प्रभातफेरी तथा मूल समारोह
३ डिसेम्बरका दिन विहान ८ बजे भृकुटीमण्डपबाट विशाल र्याली शुरु गरियो | नेपाल प्रहरी र नेपाली सेनाको ब्याण्ड बाजाहरु सहित नाचगान गर्दै, बिभिन्न नाराहरु लेखिएका प्ले कार्डहरु, विभिन्न संघ संस्थाका ब्यानरहरू सहितको उक्त र्यालीले टुँडिखेल परिक्रममा गरि पुनः भृकुटीमण्डपको बगैँचामा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री देविदत्त आचार्यको अध्यक्षता र माननीय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त समारोहमा राष्ट्रिय समावेशी आयोगका प्रतिनिधि हरिदत्त भट्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्मा विशेष अतिथि र बिभिन्न सरकारी निकाय, साझेदार सँस्थाका प्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरु द्वारा खोलिएका संघ संथाका प्रतिनिधिहरु अतिथि रहनुभएको थियो ।
समारोहमा विभिन्न मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिहरु द्वारा खोलिएका संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी सँस्थाका प्रतिनिधिहरु, पत्रकारहरु , विभिन्न राजनैतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, बिभिन्न मन्त्रालयका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरू, अपाङ्गता भएका व्यक्ति, नेपालि सेना, प्रहरीहरु, पत्रकार, वुद्धिजीवी र आम नागरिकहरू गरि १७०० भन्दा बढिको उपस्थिति रहेको थियो |
समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै माननीय मन्त्री उमा रेग्मीले हालसम्म अपाङ्गता भएका व्यक्तिको लागि भएका नीतिगत व्यवस्थाको बारेमा चर्चा गर्दै अपाङ्गता सम्बन्धी नीति तथा कार्यक्रम चाँडै मन्त्रीपरिषदको बैठकबाट पारित गराउने प्रतिवद्धता जनाउनुभयो ।
समारोहका अध्यक्ष तथा महासंघका नवनिर्वाचित अध्यक्ष श्री देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिको हक अधिकारका लागि हालसम्म नेपाल सरकार लगायत विभिन्न सरोकारवालाहरूले पुर्याएको योगदानको लागि धन्यवाद दिँदै महासंघले थप कार्यक्रम सहित सहकार्यको क्षेत्र बढाउने र जनवकालतलाई अझै शसक्त बनाउने प्रतिवद्धता यसै अवसरमा राष्ट्रिय अपाङ्ग महासंघसँगकै समन्वयमा नेत्रधाम फाउन्डेसनको आयोजना, नेत्रधाम आँखा उपचार केन्द्र संगको प्राविधिक सहयोग भृकुटीमण्डप परिसरमा निशुल्क आँखा जाँच तथा परामर्श शिविर समेत संचालन गरियो । राष्ट्रिय अपाङ्ग महासंघको भृकुटीमण्डप स्थित कार्यालयमा बिहान १० बजे देखि शुरु भएको उक्त शिविरमा अपाङ्गता भएका र अपाङ्गता भएका व्यक्तिका सहयोगी गरि ११४ जनाले लाभ लिएका थिए |उल्लेखित मुख्य कार्यक्रमहरू बाहेक सीबीएम, ह्याण्डीक्याप इन्टरनेशनल, एस एन भी नेपाल, एल डब्लु एफ नेपालसँगको सहकार्यमा सप्ताहाब्यापी रूपमा देहायबमोजिम कार्यक्रमहरू सञ्चालन गरिए ।
- मुल आयोजक समिति गठन र राष्ट्रिय नारा चयन सम्बन्धी बैठक ।
- दिवसको पूर्वसंध्यामा दिवसको महत्व र सप्ताहव्यापी गरिने कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार सम्मेलन ।
- दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन ।
- राष्ट्रिय पत्रिका तथा अन्य सञ्चार माध्यमबाट शुभकामना सन्देश प्रकाशन।
- प्रभातफेरी तथा मुल समारोह सभा ।
- नि:शुल्क आँखा जाँच शिविर ।
- बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय वेबिनार ।
- राष्ट्रिय मानव अधिकार आयोगसंग पहुँचयुक्त संरचना निर्माणको लागि अन्तरकृया तथा योजना निर्माण कार्यशाला ।
- पालिकाहरुको वेवसाईटको पहुँच परिक्षण प्रतिवेदन सार्वजनिकरण तथा अन्तरकृया ।
- अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त भौतिक संरचना (२०६९) तथा राष्ट्रिय भवन आचारसंहिता २०६० सिआरपिडी अनुरूपको वनाउन अन्तरकृया।
- नेपालको अपाङ्गता अधिकार आन्दोलनमा महिला नेतृत्व : वर्तमान अवस्था,सम्भावना र चुनौती विषयमा अन्तरकृया ।
- अपाङ्गता समावेशी समाज निर्माणको लागि नवप्रवर्तनको भूमिका बिषयमा कार्यशाला ।
- अपाङ्गता अधिकार प्रवर्ध्दनका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग अन्तरकृया।
- सम्पन्न कृयाकलापहरुको प्रतिवेदन, भिडियो डकुमेन्ट निर्माण ।