प्रेस विज्ञप्ति
मितिः २०८० चैत्र १२ गते
अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीको जारी आन्दोलनमा ऐक्यबद्धता सम्बन्धि
प्रेस विज्ञप्ति
गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्णअशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारी गत चैत्र ६ गते देखि रत्नपार्क स्थित शान्तिबाटिकामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७मा भएका व्यबस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि अनिश्चितकालिन धर्नामा बसिरहनु परेको अवस्था प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । सवारी दुर्घटनाका कारण पूर्णअशक्त भई आफ्नो दैनिक कामकाज पनि सहयोगीको सहयोग बिना गर्न नसक्ने अवस्थामा हुनु भएका भण्डारी, आफू जस्तै लाखौँ पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यबाट कानुनमा व्यवस्था भएको हेरचाहकर्ता, व्यक्तिगत सहयोगी र सहायक सामाग्री निःशुल्क रूपमा स्थानिय तह मार्फत उपलब्ध गराउनुपर्ने माग गर्दै धर्नामा बस्दै आउनु भएको छ ।
नेपाल पक्ष राष्ट्र भई सन् २००९ मा संसदबाट अनुमोदन भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ एवं नियमावली २०७७ पूर्ण रूपमा लागू गरियोस् भन्दै पटक पटक म्याग्दे गाउँपालिकामा आन्दोलन र अनसन समेत बसेर गाउँपालिकासँग राष्ट्रिय अपाङ्ग महासंघ नेपला गण्डकी प्रदेशको रोहबरमा सहमति गर्दा समेत उहाँका माग पुरा हुन नसक्नु दुखद हो भने उहाँको मानवअधिकारको गम्भीर हनन हो र कानुनको ठाडो उल्लंघन भएको छ भन्ने महासंघलाई लागेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका लागि कानूनमै व्यवस्था भएका प्रावधानहरू कार्यान्वयनको लागि धर्ना बस्नुपर्ने र आन्दोलन गर्नुपर्ने कुनै पनि लोककल्याणकारी राज्यका लागि सोभनिय विषय हो भन्ने हामिलाई लाग्दैन । हाल अनिश्चितकालिन धर्नामा बस्नु भएका दिपक भण्डारीले उठाएका सबै जायज मागहरू यथासिघ्र पुरा गर्नका लागि महासंघ सम्बन्द्ध सबैमा हार्दिक अनुरोध गर्न चाहान्छ, र महासंघ उहाँको जारी धर्ना सहितको आन्दोलनमा पुर्ण ऐक्यवद्धता जनाउँदछ । साथै जारी आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि सम्पुर्ण मानव अधिकारवादी संघसंस्था तथा व्यक्तिहरू, गैरसरकारी संघसंस्थाहरू, कानुनविद्हरू, सुशासनकर्मिहरू, अपाङ्गताको क्षेत्रमा कार्यगर्ने सम्पूर्ण संस्थाहरू, अपाङ्गता अधिकारकर्मी मित्रहरू, नागरिक समाज, पत्रकार, बुद्धिजिवी, लगायत सबैमा ऐक्यबद्धता, साथ, सहयोग र समर्थनका लागि महासंघ हार्दिक अनुरोध गर्दछ ।
……………….
रमेश पोख्रेल
प्रवक्ता