प्रेश विज्ञप्ती
४० भन्दा बढी अपाङ्गता भएका व्यक्ति स्थानीय तह निर्वाचनमा निर्वाचित ।
राजनैतिक गतिविधिमा सहभागी हुन पाउने, सार्वजनिक पद वा कुनैपनि निर्णयायक पदमा आफ्नो प्रतिनिधि चुन्न पाउने वा स्वयम चुनिन पाउने मानवअधिकार प्रत्येक नागरिकलाई हुन्छ । तर अपाङ्गता भएका व्यक्तिहरू यस्तो अधिकारबाट विभिन्न नाममा अक्सर बञ्चित हुने गर्छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी २००६ को धारा २९ ले अपाङ्गता भएका व्यक्तिलाई विना कुनै भेदभाव सबै राजनैतिक अधिकारहरू समान रूपमा सुनिश्चित गर्न निर्देश गरेको छ ।
२०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै अपाङ्गता भएका व्यक्तिहरूले दलहरू र स्वतन्त्र उम्मेदवारका हैसियतमा विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका थिए तर यसको अलग्गै तथ्याङ्क निर्वाचन आयोगले राख्न कुनै चासो लिएको थिएन । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्ना प्रदेश कार्यालय र अन्य विभिन्न स्रोतहरूको प्रयोग गरि यस सम्बन्धी तथ्याङ्क लिएको थियो । हामीलाई प्राप्त तथ्याङ्क अनुसार देशभरिका विभिन्न स्थानहरूमा १२४ जना अपाङ्गता भएका व्यक्तिहरूले मेयर लगायत विभिन्न पदहरूमा उम्मेद्वारी दिएका थिए । यसरी उम्मेद्वारी दिएका मध्ये महासंघलाई विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार ४० जना विभिन्न पदमा विजयी भएका छन् ।
निर्वाचित ४० मध्ये ३४ जना पुरूष छन भने ६ जना महिला छन् । निर्वाचित मध्ये १ जना मेयर पदमा, २ जना उपमेयर पदमा, पालिका उपाध्यक्षमा २ जना, बडा अध्यक्षमा २० जना र वडा सदस्यमा १५ जना छन् ।
यस परिणामबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत समस्त नेपाली अपाङ्गता जगत हर्षित भएको छ र यसले अपाङ्गता भएका व्यक्तिहरू पनि सरकार सञ्चालनमा योग्य र सक्षम छन् भन्ने कुरा जनताहरुले पुष्टि गरेका छन् । यसले सबै अपाङ्गता भएका व्यक्तिलाई असिम हौसला मात्र दिएको छैन, विभेद र अवरोधहरूसँग लड्ने शक्ति पनि प्रदान गरेको छ । तसर्थ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै उम्मेद्वार हुनुभएका र विजय हुनुभएका अपाङ्गता भएका व्यक्तिहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दै विजयी महानुभावहरूले अपाङ्गता भएका व्यक्ति लगायत सबै जनताको पक्षमा राम्रा काम गरि कार्यकाललाई सफल र गौरब गर्न लायक बनाउनुहुनेछ भन्ने सुभेच्छा राख्दछ ।
तर यो सुरूवात मात्र भएको हुनाले हामीले अझै धेरै कामहरू गर्न बाँकी छ । समाजलाइ अपाङ्गता भएका व्यक्तिको क्षमतामाथि विश्वास जगाउन, धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिलाई निर्णय प्रकृयामा पुर्याउन हामीले अझ धेरै विभेद र अवरोधहरूसँग लड्नुछ । यसको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था र सम्पूर्ण सरोकारवालाहरूको साथ लिएर निरन्तर काम गरिरहने प्रतिवद्धमा सँधै दृढ छ ।
मिति २०७९/०२/१८