अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन सार्वजनिकीकरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क सहितको प्रतिवेदन “अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन” नामक पुस्तकको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका जनसंख्या शाखा निर्देशक ढुण्डिराज लामिछाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देविदत्त आचार्य, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) निती सल्लाहकार विन्दा मगर, अपाङ्गता अधिकारकर्मी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सल्लाहकार डा. विरेन्द्रराज पोख्रेलका साथै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान एंव पुर्व अध्यक्ष सहित अन्य अपाङ्गता अधिकारकर्मी सञ्चारकर्मी तथा कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) का निती सल्लाहकार विन्दा मगरले राज्यका हरेक निकायमा वकालत र पैरवी गर्दा तथ्याङ्कको महत्व हुने र सरकारले पनि तथ्याङ्कमा आधारित रहेर आफ्नो योजना तर्जुमा गर्नुपर्ने कारणले गर्दा नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क के कति रहेछ भन्ने कुरा सार्वजनिक गर्नका लागि यूएनडीपीले महासंघसँग यस तथ्याङ्कको तयारी र प्रकाशनमा सहकार्य गरेको कुरा बताउनुभयो साथै यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क प्रति रुची राख्ने सबैजना लाभान्वित हुने युएनडीपीले विश्वास राखेको कुरा व्यक्त गर्नुभयो । अपाङ्गता अधिकारकर्मी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सल्लाहकार डा. विरेन्द्रराज पोख्रेलले यस पुस्तकमा अपाङ्गता भएका व्यक्तिहरुको विविध पक्ष जस्तै आर्थिक सामाजिक शैक्षिक क्षेत्रबारे विस्तृत विवरण रहेकोले र सो तथ्याङ्कको प्रयोग अपाङ्गता भएका व्यक्तिहरुका संघ संस्थाले कसरी गर्न सक्छन् भन्ने बारेमा प्रस्तुतिकरण गर्दै यसले आगामी दिनमा पार्ने सकारात्मक प्रभावको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागी अपाङ्गता अधिकारकर्मिहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले इतिहासमै पहिलो पटक यस्तो खालको खण्डिकृत तथ्याङ्क सार्वजनिक गरेकोमा धन्यवाद् व्यक्त गर्दै यस प्रकारको तथ्याङ्क संघीय तह हुदैं प्रदेश र स्थानिय तह सम्म पुग्नुपर्ने विचार व्यक्त गरेका थिए । साथै उनीहरुले यो तथ्याङ्क सहि समयमा सार्वजनिक भएकोले गर्दा अब आफुहरु सोहि तथ्याङ्कलाई आधार मानी सरकारसँग आगामी आव २०८१/०८२ को वार्षिक निति तथा कार्यक्रममा अपाङ्गताका सवालहरु समेट्न पैरवी गर्ने कुरा बताए । कार्यक्रममा बोल्दै महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यले राष्ट्रिय अपाङ्ग महासंघले निकै पहिले देखि देखिरहेको सपना आज आएर साकार भएकोमा यस कार्यमा सहयोग गर्नुहुने सबै साझेदार निकाय र अपाङ्गता भएका व्यक्तिहरुका संघ संस्थाका प्रतिनिधिहरु प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । साथै उहाँले यस पुस्तकलाई छिट्टै नै पहुँचयुक्त ढाँचामा तयार गरी सबैको पहुँचमा पुर्याइने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सार्वजनिक गरिएको यो प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये ६ लाख ४७ हजार ७ सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । यो कुल जनसंख्याको २.२ प्रतिशत हो । यो संख्यालाई यस अघि के कस्तो प्रकारको अपाङ्गता भएका व्यक्ति हुन् भनेर यकिन गरिएको थिएन । तर यसपटक उनीहरूको आवासको स्थिति, सम्पतीमा स्वामित्व, अपाङ्गताको प्रकार,उमेर अनुसार अपाङ्गताको जनसंख्या, परिवार मुली, वैवाहिक स्थिति, साक्षरता दर, बसाइँसराइ लगायतका विभिन्न तथ्याङ्कहरूलाई अलग अलग प्रस्तुत गरेर अपाङ्गताको तथ्यांकीय तस्विर प्रष्तुत गरिएको छ । कुल जनसंख्यामा अपाङ्गतामा भएका २.२ प्रतिशत भए पनि पुरुषहरू २.५ र महिला २.० प्रतिशत रहेका छन् । जनगणनाको प्रतिवेदन अनुसार कुल परिवार मध्ये ३.१ प्रतिशत अर्थात् २ लाख ५ हजार ५ सय ५५ वटा घरपरिवार मुली अपाङ्गता भएका व्यक्तिहरू छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५०.१ प्रतिशत मात्र रहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन पढ्न यहाँ रहेको लिंकमा जानु होला।