हार्दिक शुभकामना
मिति २०७९/०५/१५ गते
प्रजातन्त्रको पुनर्थापना पश्चात् जारी नेपाल अधिराज्यको संविधान २०४७ ले सुनिश्चित गरेका अधिकार प्रयोग गर्दै अपांगता क्षेत्रका तत्कालीन अभियन्ता र समाजसेवी सवैको पहलमा श्री निर्मल कुमार देवकोटाको नेतृत्वमा बिक्रम संवत् २०५० साल भाद्र १५ गते राष्ट्रिय अपांग महासंघ नेपालको स्थापना भइ यस संस्थाले अपाङ्गता भएका व्यक्तिको अधिकार र हितको लागि निरन्तर काम गरेको आज २९औँ बर्षमा प्रवेश गरेको छ । ७ वटा सदस्य संस्थाहरुको पहलमा स्थापना भएको महासंघमा हाल ३६० सदस्यहरु, संघीय कार्य समिति, सातवटै प्रदेशमा प्रदेश कार्य समिति र ६७ जना कर्मचारी कृयाशिल छन । महासंघ स्थापना भएयता यस संस्थाले अपाङ्गता अधिकार आन्दोलनको सवलीकरण, अपाङ्गता भएका व्यक्तिको कानूनी अधिकारको सुनिश्चिता, अपाङ्गता अधिकारमा सचेतना, क्षमता विकास, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सञ्जालीकरणमा निकै ठूलो योगदान गरिसकेको छ ।
यी उपलब्धीहरु महासंघको मात्र पहलले हासिल हुन संभव थिएन । त्यसैले यि उपलब्धीहरू हासिल गर्न योगदान गर्ने सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, अपाङ्गता सम्बन्धी सेवा प्रदायक संस्थाहरू, अपाङ्गता भएका व्यक्तिका वा उनीहरूका लागि काम गर्ने संस्था, नेपाल सरकार, नागरिक समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, संचार माध्यम लगायत यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण सरोकारवाला,व्यक्ति तथा समुहप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ र आगामी दिनमा पनि यस्तै सहयोग, साथ र सहकार्यको अपेक्षा गर्दछौँ । यस सुखद अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट जोडिनु हुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका संस्था, समुह, व्यक्ति सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
मित्रलाल शर्मा
अध्यक्ष