अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव संकलन
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यही पुस १४ र १५ गते युएनडिपीको आर्थिक सहयोगमा “अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव लिनको लागि कार्यशाला नेपालगंञ्जमा सम्पन्न भएको छ। उक्त कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको छेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्गताको विविधताका आधारमा वर्गीकरण पनि वृद्धि हुँदै गएको तर तथ्याङ्क लिने क्रममा राज्यले अपाङ्गताको विविधतालाई संवोधन गर्न नसक्दा नेपाल सरकारले सञ्चालन गर्ने जनगणनाबाट अपाङ्गताको यकिन तथ्याङ्क आउन नसकेको कुरा राख्नु भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सात वटै प्रदेशका अध्यक्षहरुले विगतमा सञ्चालन भएका राष्ट्रिय जनगणनाले अपाङ्गताको सही तथा यकिन तथ्याङ्क प्राप्त हुन नसक्दा राज्यका विभिन्न तह र तप्कामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता हुन नसकेको कारणले गर्दा राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती हुँदै हैरहेको, र अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क लिनको लागि राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै लक्षित गरेर छुट्टै गणना गर्न सकेमा मात्रै अपाङ्गता भएका व्यक्तिहरुको सहि तथ्याङ्क आउने कुरामा जोड दिनु भएको थियो ।
सो २ दिने कार्यशालामा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८को तथ्याङ्कको बारेमा जानकारी र अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क लिनका लागि राज्यले अबलम्वन गरेका प्रयासहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको समन्वयमा जनगणना २०७८को तथ्याङ्कलाई खण्डिकृत गरी अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सहितको तथ्याङ्कीय प्रतिवेदन प्रकाशन गर्न गइरहेको कुरा बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्कलाई विस्तृत विश्लेषण गरी प्रतिवेदन तयार भए पछि अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइएका ऐन कानुन तथा नीति नियमहरूको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्न सहज हुने बताउनु भयो । साथै उहाँले यस तथ्याङ्किय प्रतिवेदनले अपाङ्गता भएका व्यक्तिहरुका छुटेका तथ्याङ्किय सवालहरुलाई महासंघले सन् २०२४ मा गर्ने राष्ट्रिय अपाङ्गता सर्वेक्षणको प्रश्नावलीमा समेटिने कुरालाई जोड दिनु भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सञ्चालन गर्नु भएको सो २ दिने कार्यशालामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय कार्यसमिति सदस्यहरु, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु, राष्ट्रिय तथ्याङ्क कार्यलयका प्रतिनिधि सहित २३ महिला र ३३ पूरुष गरी ५६ जनाको सहभागिता रहेको थियो ।