राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश
०७७/०७८/२५ मितिः २०७७ भदौ १५
राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा
आबद्ध सदस्यहरू, सम्पूर्ण अपाङ्गता भएका व्यक्ति,
साझेदार तथा सरोकारवाला निकाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु ।
नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।
महासंघ स्थापना कालदेखी नै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण प्रवर्द्धनका खातिर निरन्तर क्रियाशिल रहँदै आएको एकमात्र राष्ट्रिय छाता संस्था हो । आफ्नो २७ वर्षे यात्रामा हामीले धेरै राम्रा उपलब्धीहरू हासिल गरेका छौँ । सी.आर.पी.डी.को अनुमोदन, नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिका सवालको समावेशीकरण, सी.आर.पी.डी.को कार्यान्वयनका लागि अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, सो ऐनलाई कार्यान्वयन गर्न, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी निमयावली २०७७, पहुँचयुक्त भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ लगायतका महत्वपूर्ण नीतिहरू ल्याउन यहाँहरूको साथ सहितको हाम्रो भूमिका ज्यादै संघर्षपूर्ण रह्यो ।
यद्यपी, उपरोक्त ऐन र नीतिहरूको प्रभावकारी कार्यान्वयन र थप नीति निर्माणका अझै धेरै काम गर्न बाँकी छन् । ऐन, नीति र कार्यक्रमहरुको कार्यान्वयनलाई परिणाममुखी बनाउन समयले हामीलाई ऐक्यबद्ध हुँदै प्राप्त उपलब्धि को रक्षा र थप उपलब्धिको लागि अझै सशक्त बन्दै अगाडि बढ्न अभियान सञ्चालन गर्न लाई थप जिम्वेवारी दिएको छ । यो जिम्वेवारी पूरा गर्न सबैमा जनवकालत, जनचेतना, क्षमता विकास र सञ्जालीकरणको माध्यमबाट महासंघले चालेका कदमलाई साथ दिनुहुने सबै सरोकारवालाहरुलाई धेरै धेरै धन्यवाद दिँदै, आगामी दिनमा अझ प्रभावकारी र दिगो सहकार्यको सबै सरोकारवालाहरुसँग अपेक्षा गर्दछ ।
………………
राजु बस्नेत
महासचिव
नोटः यस शुभकामना सन्देशलाई Image फर्माट पनि राखिएको छ ।