कोभिड बिरुद्ध खोप बारे प्रेश बिज्ञप्ती
अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी, नेपालको संबिधान लगायतका कानूनहरुले अपाङ्गता भएका ब्यक्तिहरु समाजका अन्य नागरिक भन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार, गमनशिलता, सामाजिक साँस्कृतिक र राजनैतिक सहभागीतामा समेत पछी परेका छन् भन्ने कुरा स्वीकार गरी नेपालको संविधानमा नै सामाजिक न्याय र सामाजिक सुरक्षा मौलिक हकको रुपमा राखिएको छ । उल्लेखित सेवा सुविधाबाट बञ्चितिकरणमा परेका कारण अपाङ्गता भएका ब्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता समेत कमी हुँदा कोरोनाको थप जोखिममा रहेका हुन्छन ।
यिनै कुरालाई मध्यनजर गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोरोना बिरुद्धको खोपमा अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकतामा राखी खोप दिन पटक पटक सम्बद्ध निकायहरुको ध्यानाकर्षण गराएको थियो । स्वास्थ्य तथा जनसख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग टेकु काठमाण्डौको च. नं ३१४१ मिति २०७८/०३/२८ गतेको कोभिड बिरुद्धको खोप अभियान सञ्चालन सम्बन्धी पत्र अनुसार पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरुलाई Janssen AD26COV2.S Vaccine खोप दिने भन्ने कुराको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक स्वागत गर्दछ ।
तर अपाङ्गता भएका नागरिकहरु अन्य नागरिकहरुको तुलनामा थप जोखिममा रहेको कुरा पुन स्मरण गराउँदै सबै अपाङ्गता भएका नागरिकहरुलाई प्राथामिकतामा राखी कोभिड बिरुद्धको खोप दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल नेपाल सरकारका सम्बद्ध निकायहरुसँग जोडदार माग गर्दछ ।
मिति २०७८/०३/२८
राजु बस्नेत
महासचिव