अपाङ्गता सवालमा मन्त्रालयसँग छलफल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासँघको समन्वयमा आज मिति २०७६ पौष ६ गते मन्त्रालयको कार्यको प्रभाबकारीताको सबालमा अपाङ्गता भएका ब्यक्तिहरुको बर्गीय सँस्थाहरु तथा अन्य सरोकारवालाहरुसँग बिस्तृत छलफल कार्यक्रमको आयोजना गरियो ।
मन्त्रालयमा नया मन्त्रीको पदबहाली पछि गरिएको यस प्रकारको यो पहिलो कार्यक्रम हो । राज्यले अबका दिनमा गर्नुपर्ने कार्य के के हुन्, उक्त कामको प्रभाबकारिता कसरी सुनिश्चित गर्ने, अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय महासन्धिले दिशानिर्देश गरेका कामहरु कसरी अगाडि बढाउन सकिन्छ, लक्षित बर्गसम्म प्रभाबकारी रुपमा कार्यक्रम कसरी पुर्याउन सकिन्छ, आगामी दिनमा अपाङ्गताको क्षेत्रमा मन्त्रालयले कस्ता कार्यक्रम अगाडि बढाउनु पर्छ तथा दिगो विकासका लक्ष्यहरु कसरी हासिल गर्न सकिन्छ जस्ता सवालहरुमा मन्त्रालयले अपाङ्गताका बर्गिय सँस्थाहरु र अन्य सरोकारवाला निकायहरुसँग छलफल गरी सुझाब सङ्कलन गरेको थियो ।कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासँघको तर्फबाट सँघीय अध्यक्ष मित्रलाल शर्माले सुझाबहरु पेश गर्नुभएको थियो भने अन्य सहभागिहरुले पनि क्रमैसँग आ-आफ्ना सुझाबहरु राख्नुभएको थियो । सँकलित सुझाबको आधारमा आगामी दिनमा कार्यक्रमहरु तर्जुमा गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा माननीय मन्त्री पार्बत गुरुङ्ग सहित ८२ जनाको सहभागिता रहेको थियो ।