सरल भाषा सम्बन्धी बौद्धिक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय सेमिनार
२०७९ साल माघ २० गतेका दिन बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले काठमाडौमा पढ्न वा बुझ्न सरल भाषा सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना गरे । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाइ पनि समावेश गर” अन्तर्गत गठन गरिएको बौद्धिक अपाङ्गता भएका यूवाहरूको एक समुह “सरल भाषा सम्पादन समुह” ले उक्त कार्यक्रमको आयोजना गरेको हो । बौद्धिक अपाङ्गता भएका व्यक्तिको सिकाई आवश्यकतालाई मध्यनजर गरेर चित्र सहितका सरल भाषामा कसरी सूचना सामाग्रीहरू निर्माण गर्न सकिन्छ र यस प्रकृयामा स्वयम बौद्धिक अपाङ्गता भएका व्यक्तिको भूमिका कसरी सूनिश्चित गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी दिनु उक्त कार्यक्रमको तात्कालिक उद्देश्य रहेतापनि समग्रमा यस कार्यक्रमको मुख्य उद्देश्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य सरह सामाजिक गतिविधिहरूको नेतृत्व लिन सक्छन्, सहभागी हुन सक्छन्, विचारहरू राख्न सक्छन् र त्यस्ता गतिविधिहरूमा योगदान पनि गर्न सक्छन भन्ने मान्यता स्थापित गर्नु हो ।
कार्यक्रममा बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले ‘सरल भाषा सम्पादन समूह’ के हो? यसले कसरी काम गर्छ? र सरल र सबैलाइ बुझ्ने भाषामा सामाग्री उत्पादन गर्नमा यस समुहले कसरी कामहरू गर्छ भन्ने विषयमा उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरूलाइ जानकारी गराएका थिए । कार्यक्रमका स्वागत मन्तव्यदेखि लिएर समापन सम्मका सबै प्रकृया र चरणहरू बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरू आफैँ सक्रिय भएर सञ्चालन गरेका थिए । कार्यक्रममा प्यानल डिस्कसनको समेत आयोजना गरिएको थियो जसमा प्यानलमा प्यानलिस्टको रूपमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू नै थिए जसले सहभागीले सोधेका प्रश्नहरूको उत्तर समेत दिएका थिए । कार्यक्रमको अन्त्यमा आफैले सम्पूर्ण रुपमा कार्यक्रम सञ्चालन गर्न पाएकोमा आफुहरुलाइ ज्यादै खुशी लागेको र हौसला पाएको कुरा सरल भाषा सम्पादन समुहका सदस्य शिव श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सरल भाषा सम्पादन समुहको परिचय, उनीहरूले गरेका काम र अनुभवको बारेमा एक श्रव्यदृश्य सामाग्री समेत प्रस्तुत गरिएको थियो । उक्त सामाग्रीले सूचना सामाग्री बनाउँदा भाषा सवैले बुझ्ने र सजिलो हुनुपर्ने, वाक्यहरु छोटा हुनुपर्ने, सामाग्रीहरुमा सजिला र चित्रको प्रयोग गरिएको हुनुपर्ने, चित्र बाँया र अक्षर दायाँ भागमा राख्नुपर्ने, अंग्रेजी अक्षरको फन्ट साइज कम्तीमा १६ हुनुपर्ने र नेपाली अक्षर फन्ट साईज कम्तीमा २० हुनुपर्ने जानकारी दिइएको थियो ।
कार्यक्रमको सञ्चालन सरल भाषा सम्पादन समुहका सदस्यहरू आयुष्मा मानन्धर र शिव श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य शान्ति फूयालले…..दिनुभएको थियो । कार्यक्रममा प्यानलिष्टको रूपमा आयुष्मा मानन्धर, शिव श्रेष्ठ, निश्चल के.सि, शान्ति फूयाल,लुज:श्रेष्ठ,प्रसंसा शाक्य रहनुभएको थियो ।
अपाङ्गता क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि लगायत २९ जनाको उपस्थति रहेको उक्त कार्यक्रमको समापनमा विभिन्न महानुभावहरूले आफ्ना विचारहरू राख्नुभएको थियो ।
प्रमुख अतिथीको रूपमा रहनुभएका राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस कार्यक्रमबाट आयोगलाइ समेत नयाँ सिकाइ भएको र आयोगबाट प्रकाशित हुने सामाग्रीहरूलाइ पनि सरल भाषामा सबैलाइ पढ्न र बुझ्न सजिलो हुनेगरि निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बौद्विक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु वस्नेतले सबैको साथ, प्रेरणा र सहयोग पाउँदा बौद्धिक अपाङ्गता भएका व्यक्ति आफैँ पनि अग्रसर भएर काम गर्न सक्छन् भन्ने यो एउटा ठूलो उदाहरण रहेको बताउनु भयो।
कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धिताल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी महिला उपाध्यक्ष अनिता घिमिरेले बौद्विक अपाङ्गता भएका व्यक्तिका थप सम्भावनाहरुको पहिचान गर्नु पर्ने र थप प्रोत्साहित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आगामी दिनमा सरल भाषा सम्पादन समूहलाई विस्तार गर्दै लाने समेत स्व-वकालतकर्ताहरूले कार्यक्रममा बताएका थिए ।