सहायक सामग्रीहरू प्रदान गर्ने (Distribution of Assistive Devices)

(नीति तथा कार्ययोजनामा उल्लेखित व्यवस्था)

सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सामग्रीहरू राज्यबाटै अधिकारका रूपमा पाउने प्रावधान रहेको छ ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने र सहायक सामग्री आवश्यक पर्र्ने अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने सरकारी निकाय:

क) महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय/समाजकल्याण परिषद्अन्तर्गत सञ्चालित “राष्ट्रिय अपाङ्ग कोष”
ख) जिल्ला शिक्षा कार्यालय (विशेष शिक्षा नीतिअन्तर्गत)
ग) विभिन्न जिल्लामा अपाङ्गता अधिकार तथा उनीहरूको सेवा तथा सुविधाका लागि कार्यरत गैरसरकारी संघसंस्थाहरू । (यस्ता केही संस्थाहरूको नामावली अनुसूची ४, ५ र ६ मा प्रस्तुत गरिएको छ ।)

सुविधा प्राप्त गर्ने प्रक्रिया:

उल्लिखित संस्थाहरूले तय गरेको प्रक्रियाअनुसार आफ्नो अपाङ्गता परिचय पत्रको प्रतिलिपि र आफूलाई आवश्यक पर्ने सहायक सामग्रीको विवरणसहित संलग्न गरी आवेदन गर्ने ।

सुविधा प्राप्त गर्ने आधार:

क) अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ : यस नीति तथा कार्ययोजनाले छुट्टयाएका १७ वटा प्राथमिकता क्षेत्रमध्ये १४ औँ प्राथमिकता “सहायक साधन र साहायता सेवाहरु ” अन्तर्गत तय गरिएको नीति १४.४.१ : अपाङ्गका लागि आवश्यक पर्ने सहायक साधन उत्पादन गरी नि:शुल्क/सहुलियत मूल्यमा वितरण गर्ने व्यवस्था गरिनेछ ।
ख) विशेष शिक्षा नीति २०५३, बुँदा नं. १६: अपाङ्ग विद्यार्थी बालबालिकाले दैनिकरूपमा प्रयोग गर्ने सामग्रीहरू जस्तै ह्विलचियर, वैशाखी, ह्वाइट क्यान, श्रवण यन्त्र, ब्रेल स्लेट, स्टाइलस, स्पेसल चियर र कत्रिम अंग आदि आयात गर्दा यथासंभव विशेष सहुलियत दिने व्यवस्था गर्ने ।