कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हालसम्म गरेका केही प्रयासहरू सम्बन्धी अध्यावधी
मितिः २०७६ चैत्र १२ (25 March 2020)
कोभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट उत्पन्न महाविपत्तिको चपेटामा आज सारा विश्व परिरहेको छ । चीनवाट सुरू भएर युरोप र अमेरिकामा फैलिदै क्रमशः दक्षिण एशिया र अफ्रीकी मुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट यो प्रतिवेदन तयार गर्दा सम्म ४ लाख २८ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन भने १९ हजार भन्दा बढीको मृत्यू भैसकेको छ । चीन पछी यसको सबैभन्दा ठूलो प्रभाव यूरोप र अमेरिकामा परेको छ भने दक्षिण एशियाली देशहरूमा पनि यसको संक्रमण बढ्दै गएको छ ।
नेपालमा यसको हालसम्म ठूलो संक्रमण नदेखिएको भएतापनि भारत, पाकिस्तान लगायतका देशहरूमा संक्रमण वढीरहेको हुनाले नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको छ । विगतका तथ्याङ्क, प्रतिवेदन र अनुभवहरूले देखाए अनुसार विपत्तिको वेला सबैभन्दा धेरै अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकहरू जोखिममा रहने गर्छन् । तसर्थ नेपालमा पनि कोरोना भाइरसको महामारीबाट अपाङ्गता भएका व्यक्तिहरू संक्रमित नहुन भन्ने उद्देश्यले आफ्ना कर्मचारीहरूलाइ लकडाउनको अवस्थामा पनि घरबाटै भएपनि परिचालन गरि राष्ट्रिय अपाङ्ग महासंङघले विभिन्न संभव हुन सक्ने पहलहरू गरिरहेको छ ।
- अपाङ्गता भएका व्यक्तिहरूका लागि क्वारेन्टाइनमा रहनुपर्ने अवस्थामा र संक्रमण भएको खण्डमा आइसोलेसनमा रहनुपर्ने अवस्थामा सरकार, स्वास्थ्य संस्था र सरोकारवालाहरूले ध्यान पुर्याउनुपर्ने विषयमा र भाइरस संक्रमणबाट जोगिनको लागि दिइने सार्वजनिक सूचनाहरूलाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त बनाउन अनुरोध गर्दै सार्वजनिक अपिल जारी गरिएकोछ र उक्त अपिललाई इमेलमार्फत पनि विभिन्न सरोकारवाला निकायहरूमा सर्कुलर गरिएको छ ।
- सरकारको प्रोटेक्सन क्लस्टरको बैठकमा राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि उपस्थित भई अपाङ्गता भएका व्यक्तिहरूका सम्बन्धमा देहायबमोजिमका मागहरू उठाइएको छ,
- अपाङ्गता भएका व्यक्तिहरूका लागि कोरोना भाइरस सम्बन्धी सबै सूचना र जानकारीहरू पहुँचयुक्त हुनुपर्ने ।
- क्वारेन्टाइन र आइसोलेसनका लागि बनाइएका स्थान र सेवा सुविधाहरू भौतिक र संचार दुवै दृष्टिकोणबाट पहुँचयुक्त हुनुपर्ने
- संक्रमित अपाङ्गता भएका व्यक्तिहरूलाइ आइसोलेसन वार्डमा राख्दा वा उपचार गर्दा विशेष उनीहरूको स्वास्थ्य अवस्था, उनीहरूले अपाङ्गताको कारणले सेवन वा प्रयोग गरिरहेका औषधी, स्वास्थ सम्बन्धी उपकरण र सहायक सामग्रीहरूबाट बञ्चित गर्नु नहुने ।
- अपाङ्गता भएका व्यक्तिहरूलाइ आवासीय सूविधा सहित राखिएका ठाउँहरूको विशेष निगरानी गरि संक्रमण हुनबाट बचाउन उपयुक्त पहलहरू गर्ने ।
- कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भन्ने विषयमा अपाङ्गता भएका व्यक्तिहरू लगायत अन्य सबैको पहुँच हुनेगरि सांकेतिक भाषा, अडियो न्यारेसन, चित्र र अक्षर सहितको नेपाली भाषाको भिडीयो तयार गरि वेवसाइट, युट्युव च्यानल र फेसवुक पेजबाट सार्वजनिक गरेको छ । सबै महानुभावहरूले यो सूचनालाई धेरै भन्दा धेरै सेयर गरि अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा पुर्याइदिनुहुन पनि अनुरोध गरिन्छ ।
- यसैगरी कोरोना भाइरस कसरी सर्छ र यसको संक्रमणबाट जोगिन के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने विषयमा विद्युतीय पोष्टर तयार गरि वेवसाइट र फेसवुक पेजबाट सार्वजनिक गरेको छ । सबै महानुभावहरूले यो सूचनालाइ धेरै भन्दा धेरै सेयर गरि अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा पुर्याइदिनुहुन पनि अनुरोध गरिन्छ ।
- राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बाहिर मानिसहरू भेला भएर गर्नुपर्ने सबै वैठक र परियोजना अन्तर्गतका गतिविधिहरू हाललाइ ३ अप्रिलसम्मका लागि बन्द गरेको छ र कार्यालयमा पनि कर्मचारीहरूको भौतिक उपस्थिति बन्द गरि विद्युतीय माध्यमको प्रयोग गरेर कम्प्युटर, टेलिफोन, मोवाइल आदिवाट गरिने कामहरू मात्र घरबाटै संचालन गर्ने गरिएको छ ।
- हाल सरकारलाई सहज होस भनेर महासंघले विभिन्न आवासीय सुविधा सहित अपाङ्गता भएका व्यक्तिहरूलाइ राखिएका स्थानहरूको अवस्थाको वारेमा जानकारी सहित त्यहाँ रहेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क विद्युतीय माध्यम र फोनको उपयोग गरि संकलन गरिरहेको छ ।
- आज मिति २०७६ साल चैत्र १२ गते (मार्च २५) मा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयले सातवटै प्रदेश कार्यालयका अध्यक्ष, सचिव र कर्मचारी लगायतका प्रतिनिधिहरूसँग स्काइप मिटीङको आयोजना गरियो । बैठकमा सातवटै प्रदेशको सामान्य स्थिति जानकारी लिनुका साथै प्रदेशले गरेका कामहरूको बारेमा सबै प्रदेशबाट जानकारी गराउने काम भयो । प्राप्त जानकारी अनुसार प्रदेश समितिले सूचना प्रवाहमा काम गरिरहेको, स्रोत कक्षा र विद्यालयहरूको अवस्थाको वारेमा सूचना लिइरहेको र आवासीय सुविधासहित अपाङ्गता भएका विद्यार्थीहरू रहेका विद्यालयहरूको अवस्थाको बारेमा जानकारी लिने काम गरिएको छ । प्रदेश कार्यालयबाट प्राप्त जानकारी अनुसार प्रायः सबै आवासीय सूविधा सहितका स्रोतकक्षाहरू बन्द भएको र सबैजसो विद्यार्थीहरू घर गैसकेका छन् । केही ठाउँहरूमा अझैपनि आवासीय सुविधामा अपाङ्गता भएका विद्यार्थी वा अपाङ्गता भएका व्यक्तिहरू रहेको हुनाले प्रदेश कार्यालयले यसमा निगरानी गरिरहेको र यस विषयमा प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको छ ।
- सबै प्रदेश कार्यालयहरूले हालसम्म कहाँ कहाँ अझै आवासीय सूविधामा अपाङ्गता भएका व्यक्तिहरू रहेका छन र उनीहरूको अवस्था के छ भन्ने विषयमा सबै प्रदेशले चाँडो भन्दा चाँडो संघीय कार्यालयमा सूचना उपलब्ध गराउने र अर्को स्काइप बैठक चैत्र १५ गते शुक्रवार बस्ने समेत सहमति भएको छ ।
सम्पूर्ण मुलुक लकडाउनको अवस्थामा रहेको बेलाको यो कठिन परिस्थितिमा उक्त कार्य गर्नको लागि हामीलाई सहयोग गर्नुहुने कर्मचारी साथीहरू, कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिहरू र कर्मचारीहरू, सदस्य संस्थाका साथीहरू लगायत सहयोग गर्ने सबैमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ र यस कठिन परिस्थितिबाट मुक्त हुन अझै धेरै सहयोगको अपेक्षा गर्दछ ।
धन्यवाद
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
संघीय कार्यालय, भृकुटीमण्प काठमाडौं