अपाङ्गसम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ ले तय गरेका केही महत्वपूर्ण कार्ययोजनाहरू (National Policy and Plan of Action on Disability 2007)

अपाङ्गसम्बन्धी नीति तथा कार्ययोजना, २०६३ ले अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार संरक्षण र विकास तथा सशक्तीकरणका लागि विभिन्न कार्यहरू गर्न कुल १७ वटा प्राथमिकता क्षेत्र छुट्टयाई हरेक प्राथमिकता क्षेत्रअन्तर्गत उद्देश्य, नीति, रणनीति र कार्ययोजना तय गरेको छ ।

यस नीति तथा कार्ययोजनाले तय गरेका प्राथमिकताका क्षेत्रहरू निम्न प्रकार छन् :

१. राष्ट्रिय समन्वय
२. कानुन विधायन
३. सूचना र अनुसन्धान
४. जनचेतना र अधिवाचन
५. तालिम र रोजगारी
६. पहुँच
७. सञ्चार
८. यातायात
९. शिक्षा
१०. खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलाप
११.अपाङ्गपनको निरोध
१२.स्वास्थ्योपचार
१३.पुनर्स्थापना, सशक्तीकरण र गरिबी निर्वारण
१४. सहायक साधन र सहायता सेवाहरू
१५. स्वावलम्बी संस्थाहरू
१६. महिला र अपाङ्गता
१७.अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग

माथि उल्लेख गरिएका प्राथमिकता क्षेत्रहरूमध्ये केही महत्वपूर्ण क्षेत्रका लागि तय गरिएका केही महत्वपूर्ण कार्ययोजनालाई तल संक्षेपमा प्रस्तुत गरिएको छ ।

तालिम तथा रोजगारी

• सरकारी निकायका व्यावसायिक र रोजगारमूलक सीप विकास तालिम केन्द्रहरूमा ५ प्रतिशत अपाङ्गलाई नि:शुल्क तालिम (छात्रवाससहित) प्रदान गर्ने । यसमा अपाङ्गता भएका महिलालाई प्राथमिकता दिने ।
• पाँंचै विकास क्षेत्रमा एक/एक प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रहरूलाई अपाङ्गता अनुकूल बनाउँदै सुदृढ तुल्याउने ।
• सबै सरकारी, गैरसरकारी र निजी निकायमा अपाङ्गलाई ५ प्रतिशत रोजगारका निमित्त सकारात्मक विभेदको प्रावधान राख्ने र क्रमश: कार्यान्वयन गर्दै जाने ।

जनचेतना र वकालत

• समुदाय स्तरमा जनचेतना जगाउने प्रभावकारी सामग्री विकास उत्पादन, वितरण र प्रचारप्रसार ।
• अपाङ्गहरूका लागि अधिवाचन गर्ने सीप र क्षमताको विकास गर्न तालिम सञ्चालन गर्ने ।

पहुँच

• सार्वजनिक महत्वका भौतिक संरचना निर्माण र पुनर्निर्माण गर्दा मापदण्डअनुरूप अपाङ्गता हुनेको पनि सहज पहुँच (Disabled Friendly) हुने प्रकारका संरचना बनाउने ।
• ट्राफिक प्रहरीको तालिममा अपाङ्गतासम्बन्धी विषयवस्तु समावेश गरी सञ्चालन गर्ने ।

सञ्चार

• टेलिभिजनबाट साङ्केतिक भाषामा दैनिक समाचार प्रसारण गरिने र समाचार प्रसारण भएका बेला लेखेर (Caption) पनि देखाइने ।
• बहिरा र सुस्त श्रवणका लागि सार्वजनिक महत्वका मुख्य स्थानहरूमा दोभाषेको व्यवस्था, दृष्टिविहीनलाई बे्रल लिपिमा सार्वजनिक महत्वका सूचनाको व्यवस्था गर्ने ।
• अपाङ्ग व्यक्तिहरूलाई सूचना र आधुनिक प्रविधिबारे तालिम दिने
• अपाङ्ग व्यक्तिहरूले प्रयोग गर्ने सूचना प्रविधिका सामग्रीमा कर छुट गर्ने

शिक्षा

• स्कुल जाने उमेरका ५० प्रतिशतभन्दा बढी अपाङ्गता भएका बालबालिकालाई नि:शुल्क गुणस्तरीय प्राथमिक शिक्षा उपलब्ध गराउने ।
• विद्यालयहरूमा अवरोधमुक्त तथा पहुँच योग्य व्यवस्था मिलाउने ।
• अपाङ्गता भएका बालबालिकालाई पूर्वप्राथमिक र बाल विकास कक्षामा भर्ना गर्न प्रोत्साहन गर्ने ।
• विशेष/स्रोत शिक्षकलाई स्तरयुक्त तालिम सञ्चालन गर्ने ।

अपाङ्गपनको कारणहरुको निरोध

• अपाङ्गपन रोकथामका लागि अपाङ्गमुखी स्वास्थ्य शिक्षा, सूचना र सञ्चारसम्बन्धी सामग्री तयार गर्ने र व्यापक प्रचारप्रसार गर्ने ।
• सुरक्षित मातृत्व यथाशीघ्र अवस्था पहिचान र अविलम्ब सेवा, परामर्श कार्यक्रम सञ्चालन गर्ने ।

स्वास्थ्योपचार

• अपाङ्गहरूलाई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरीय अस्पतालहरूमा नि:शुल्क एवं प्राथमिकताका साथ स्वास्थ्य सेवा प्रदान गर्ने ।
• स्वास्थ्यसम्बन्धी नीति, नियम र निर्देशनहरूमा अपाङ्गको स्वास्थ्य उपचारसम्बन्धी प्रावधानलाई समावेश गरी कार्यान्वयन गर्ने ।

पुनर्स्थापना, शसक्तिकरण र गरिवी निवारण

• सामुदायिक पुनर्स्थापनालगायत अन्य जनशक्तिको विकास गर्ने ।
• अपाङ्गसम्बन्धी राष्ट्रिय कोषहरूको सुदृढीकरण एवं विकास गर्ने ।
• अपाङ्ग व्यक्ति र यिनका परिवारको स्वास्थ्य बिमा प्रणालीबारे अध्ययन र बिमा प्रणाली लागू गर्ने ।
• गरिबी निवारण र सशक्तीकरणका लागि आयआर्जन, स्वरोजगार, सामाजिक सुरक्षाका लागि विशेष प्याकेज (सीपमूलक तालिम, निर्ब्याजी ऋण) कार्यक्रम सञ्चालन गर्ने ।
• अपाङ्ग पुनर्स्थापना र थेरापेटिक सेवाहरू सञ्चालन गर्ने

सहायक साधन र सहायता सेवाहरु

• स्थानीय स्रोतसाधनको उपयोग गरी सहायक सामग्रीको उत्पादन एवं नि:शुल्क वा सहुलियतमा वितरण गर्ने ।
• बहिरा तथा सुस्त श्रवण भएका अपाङ्गका लागि श्रवणयन्त्र उपलब्ध गराउने ।
• अर्थोपेडिक वर्कसपहरूको स्थापना र सञ्चालन गर्ने ।
• सहायक साधन (Assistive Device) उत्पादन मर्मत गर्ने जनशक्ति विकास गर्ने ।

स्वावलम्बी संस्था

• स्वावलम्बी संस्थाहरूको संस्थागत विकास र सुदृढीकरणका लागि आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने ।
• केन्द्रदेखि स्थानीय तहसम्मका विकास योजना र कार्यक्रम कार्यान्वयनमा स्वावलम्बी संस्थाहरूलाई सहभागी गराउने ।

महिला र अपाङ्गता

• महिला सहभागिता हुने केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी निकायका योजना कार्यक्रम कार्यान्वयनलगायत अनुगमन मूल्याङ्कनमा अपाङ्गता भएका महिलालाई उचित प्रतिनिधित्व र सहभागिता गराउने ।
• अपाङ्ग महिलाका लागि शिक्षा तालिम र रोजगारी तथा संरक्षणको विशेष व्यवस्था गर्ने ।
• अपाङ्गता भएका महिलाहरूका लागि नेतृत्व विकास तालिम सञ्चालन गर्ने ।

खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कृयाकलाप

• अपाङ्गता भएका बालवालिकाका लागि खेलकुद, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू संचालन गर्न गराउन शिक्षण प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
• राष्ट्रिय खेलकुद परिषदमा अपाङ्गहरूको प्रतिनिधित्व, नीतिगत व्यवस्थालगायत अपाङ्गता भएका बालवालिकाको लागि अपाङ्ग खेलकुद इकाइको व्यवस्था गर्ने ।
• विद्यालयहरूमा प्रकृतिअनुरूप खेलकुद तथा मनोरञ्जनका क्रियाकलाप संचालन गराउने र आवश्यक सामाग्रीहरू उपलब्ध गराउने ।