अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ (Disability ID Card Distribution Directive)

१. परिचय

अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्द्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनर्स्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियाहरूमा समावेशीकरण गराउन तथा राज्यद्वारा तोकिएका सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन अपाङ्ग संरक्षण तथा कल्याण नियमावली २०५१ को नियम ५ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ जारी गरिएको छ ।

२. परिचयपत्र वितरणका आधार

नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र खण्ड ५६ (२०६३ भाद्र २ ) मार्फत् गरेको अपाङ्गताको परिभाषा र वर्गीकरण एवं संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षरसमेत गरिसकेका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको उद्देश्य, मर्म र भावना यस परिचयपत्र वितरणका आधार हुनेछन् ।

३. उद्देश्य

क) विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरूको पहिचान गर्न, स्थानीय निकायदेखि नै त्यस्ता व्यक्तिहरूको लगत राख्न ।

ख) नेपाल सरकारले २०६३ सालमा जारी गरेको अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजनामुताबिक एवं अपाङ्गतासम्बन्धी अन्य प्रचलित नीति तथा कार्ययोजना र नेपाल सरकारको अध्यावधिक विकास योजनाहरूका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराइनुपर्ने सेवासुविधाहरू व्यवस्थितरूपमा प्रदान गर्न ।

ग) प्रचलित ऐन, नियमअनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी उपयुक्त अनुकूलता (Resonable Accmmodation) सहित विकास प्रक्रिया र राज्यका संयन्त्रहरूमा समावेशीकरण गराउन ।

घ) अपाङ्गताको प्रकृति र मात्राको आधारमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा, सुविधा र अवसरको प्राथमीकरण गर्नु ।

४. लक्षित वर्ग

नेपाल राजपत्र खण्ड ५६ (२०६३ भाद्र २) अनुसार निर्धारण गरिएका सात प्रकारका वर्गीकरणमा रहेका सबै अपाङ्गता भएका व्यक्तिहरू (अनुसूची – १ अनुसार)

५. परिचयपत्र वितरणका मापदण्ड

नेपाल राजपत्र खण्ड ५६ (२०६३ भाद्र २) अनुसार अपाङ्गताको मात्राको आधारमा गरिएको वर्गीकरणलाई मुख्य मापदण्ड बनाई चार समूहका परिचयपत्रहरू वितरण गरिनेछ जस अनुसार :–

क) पूर्णअशक्त अपाङ्गता :

व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई “क” वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ ।

यो रातो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

ख) अतिअशक्त अपाङ्गता :

निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ ।

यो नीलो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

ग) मध्यम अपाङ्गता :

कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह “ग” का अपाङ्गता वर्गमा पर्दछन् ।

यो पहेँलो रङमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

घ) सामान्य अपाङ्गता :

शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरीऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू “घ” वर्गमा पर्दछन् ।

यो सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

६. अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्रको ढाँचा

परिचयपत्र वाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट हुने एवं निजलाई सरकारी तथा गैरसरकारी निकायहरूबाट उपलब्ध गराइएका सेवा सुविधा उपभोगका अभिलेखहरू एवं उपलब्ध अवसरको उपभोग गरिएका अभिलेखहरूसमेत स्पष्ट हुने गरी पासपोर्टको ढाँचामा अनुसूची ३ मा उल्लेख भएअनुसारको २० पृष्ठको परिचयपत्र चार फरक रङ्गमा उपलब्ध गराइनेछ ।

७. परिचयपत्र वितरण प्रक्रिया

क) सम्बन्धित गाविस वा नगरपालिकामार्फत् समाजकल्याण अधिकृतलाई परिचयपत्रका लागि अपाङ्ग स्वयं वा निजको अभिभावक/संरक्षकले अनुसूची २ बमोजिम निवेदन दिनुपर्नेछ ।

ख) सम्बन्धित गाविस वा नगरपालिकाले स्पष्ट नदेखिने अपाङ्गताका हकमा स्थानीय निकायको सिफारिससहित समाजकल्याण अधिकृतसमक्ष पठाउनुपर्नेछ ।

ग) दरखास्तमा आफ्नो उमेर, अपाङ्गता खुलेको लिखित प्रमाणित नक्कल, अशक्तताको गम्भीरताको आधारमा स्थायीरूपले काम गर्न सक्षम नभएको विवरण संलग्न हुनुपर्नेछ । यस प्रयोजनका लागि जन्मदर्ता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, विद्यालयको प्रमाणपत्र, जिप्रकामा दर्ता भएका अपाङ्गसम्बन्धी कार्य गर्ने संघसंस्थाले गरेको सिफारिसमध्ये कुनै एक वा यस्तै अन्य प्रमाणित लिखतलाई आधार मानिनेछ ।

घ) परिचयपत्र सिफारिस समिति : परिचयपत्रका लागि पर्न आएका निवेदनहरू छानबिन गरी समाजकल्याण अधिकृतसमक्ष सिफारिस गर्न निम्नबमोजिम एक परिचयपत्र सिफारिस समिति रहनेछ ।

१. संयोजक – सहायक प्रमुख जिल्ला अधिकारी

२. सदस्य – योजना अधिकृत, जिल्ला विकास समिति

३. सदस्य – जिल्ला जनस्वास्थ्य अधिकृत

४. सदस्य – राष्ट्रिय अपाङ्ग महासंघ, नेपालमा आबद्ध संघसंस्थाका प्रतिनिधि वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधि

५. सदस्य सचिव – महिला विकास अधिकृत

ङ) समितिको बैठक आवश्यकताअनुसार समाजकल्याण अधिकृतले बोलाउन सक्नेछ । तर यस्तो बैठक वर्षमा कम्तीमा ६ पटक बस्नुपर्नेछ ।

च) प्रत्यक्षरूपमा अपाङ्गता देखिने अपाङ्गता भएका व्यक्तिहरू, जस्तै : अङ्गभङ्ग भएका, पूर्ण दृष्टिविहीन, पूर्णअशक्त अपाङ्ग, अतिअशक्त बौद्धिक अपाङ्ग (सुस्त मनस्थिति ) र अतिअशक्त बहिराआदिलाई परिचयपत्र वितरण गर्न समितिले अनुमोदनमात्र गर्ने गरी परिचयपत्र बैठकअगाडि तत्काल नै दिन सकिनेछ ।

छ) गाउँघरमा रहेका माथि “च” अनुसारका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र उपलब्ध गराउन गाविसबाट सिफारिस गराई समाजकल्याण अधिकृतले अभिभावक वा संरक्षकको रोहबरमा सोझै उपलब्ध गराउन सकिने र नदेखिने खालका वा अपाङ्गता मात्राका आधारमा चिकित्सकको सिफारिस लिनुपर्ने भएमा समितिले निर्णय गरेर परिचयपत्र उपलब्ध गराउनुपर्नेछ ।

ज) सामान्यतया परिचयपत्र अपाङ्गता भएको व्यक्ति स्वयं उपस्थित भई बुझेर लानुपर्नेछ । तर पूर्णअशक्त अपाङ्गता भएका कारण आफैँ उपस्थित हुन नसक्ने भएमा त्यस्तो अवस्थाको विवरण र जिल्लास्थित अपाङ्गता क्षेत्रमा कार्य गर्ने संस्थाको सिफारिससहित आएमा निजको संरक्षक वा अभिभावकले बुझेर लान सक्नेछ ।

झ) दुर्गम गाउँमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई गाविसको समन्वयमा घुम्ती टोली खटाई वा समाजकल्याण अधिकृतको उपस्थिति गराई यथास्थानमै परिचयपत्र वितरण गराउने । यसरी यथास्थानमै परिचयपत्र वितरण गराउँदा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, महिला विकास अधिकृत, जनस्वास्थ्य कार्यालयको प्रतिनिधि, स्थानीय विद्यालयका शिक्षक प्रतिनिधि र स्वावलम्बी संस्थाको प्रतिनिधिसमेत उपस्थिति गराई गाविसले समन्वय गर्नुपर्ने ।

ञ) परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिहरूबाट प्रतिव्यक्ति तीन प्रति (सम्भव भएसम्म अपाङ्गता स्पष्ट देखिने) फोटो सङ्कलन गरी सम्बन्धित गाविस/नपामा एक प्रति र महिला विकास कार्यालयमा एक प्रति, समाजकल्याण अधिकृतको कार्यालयमा एक प्रति राख्नुपर्नेछ ।

ट) परिचयपत्र प्राप्त व्यक्तिहरूको लगत अनुसूची ४ बमोजिमको ढाँचामा वा तोकिएबमोजिमको सˆटवेयरमा कम्प्युटराइज गरी समाजकल्याण अधिकृतको कार्यालय र महिला विकास कार्यालयमा राखी अर्धवार्षिकरूपमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा जानकारी गराउनुपर्नेछ ।

ठ) समाजकल्याण अधिकृतको कार्यालयले अनुसूची ३ बमोजिमको परिचयपत्र (अपाङ्गता भएका व्यक्तिहरूलाई) नि:शुल्क उपलब्ध गाराउनुपर्नेछ ।

ड) परिचयपत्रको प्रतिलिपि लिन सम्बन्धित प्रहरी कार्यालयको सिफारिस वा नपा/गाविसको सिफारिससहित अपाङ्गता परिचयपत्र सिफारिस समितिमा पेस गर्नुपर्नेछ ।

८. विविध

क) परिचयपत्र सिफारिस समितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।

ख) परिचयपत्र वितरण सम्बन्धमा माथि उल्लेखित व्यवस्थाबाहेक अन्य बिषयमा मन्त्रालयले दिएको निर्देशनको अधिनमा रही समाजकल्याण अधिकृत र महिला विकास अधिकृतले काम गर्नुपर्नेछ ।

ग) परिचयपत्र वितरणको अनुगमन अपाङ्ग सेवा राष्ट्रिय समन्वय समितिले गर्नेछ ।

घ) यो निर्देशिका लागू हुनुअगाडि प्राप्त अपाङ्गता परिचयपत्र सम्बन्धित निकायमा बुझाई यस निर्देशिका बमोजिमको परिचयपत्र लिनुपर्नेछ ।

ङ) अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ खारेज गरिएको छ ।

सुविधा प्राप्त गर्ने कानुनी आधार :

क) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९, अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ को नियम नं. ५ (समाजकल्याण अधिकृतले अपाङ्गता भएका व्यक्तिलाई ऐन तथा नियमावलीबमोजिम सुविधा दिने प्रयोजनका लागि मन्त्रालयले तोकिदिएबमोजिमको ढाँचामा परिचयपत्र प्रदान गर्न सक्नेछ ।) को व्यवस्थाअनुसार जारी गरिएको अपाङ्गपन परिचयपत्र वितरण निर्देशिका, २०६५ ।

नोट : अपाङ्गता परिचयपत्र लिनको लागि आवेदन गर्नुपर्ने आवेदन फारमको नमुना अनुसूची – ११ मा राखिएको छ ।