मनमायाको कथा
चितवन जिल्ला, राप्ती नगरपालिका- ५, भण्डारा निवासी २७ वर्षकी मनमाया बिक जन्मदेखि नै न्यून दृष्टियुक्त अपाङ्गता भएकी महिला हुनुहुन्छ । सामान्य परिवारमा जन्मेकी मनमायाले दृष्टिसम्बन्धी अपाङ्गता भएकै कारणले ९ कक्षाभन्दा माथिको शिक्षा प्राप्त गर्न सक्नुभएन । पारिवारिक आर्थिक अवस्था कमजोर र अपाङ्गता भएकै कारणले गर्दा उहाँले अन्यत्र गएर पढ्न नपाउँदा माध्यमिक तहसम्मको समेत शिक्षा लिनबाट वञ्चित हुनुपरेको हो ।
शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुनुपरेको पीडा त्यसमाथि अपाङ्गताको जीवन अगाडि बढाउनु चानचुने र सहज थिएन । आफू अपाङ्गता भएको व्यक्ति हुँ भन्ने थाहा भएकी उहाँमा अपाङ्गताबारे भने थोरैमात्र जानकारी थियो ।
अपाङ्गता भएका व्यक्तिले राज्यस्तरबाट प्राप्त गर्ने सेवा सुविधाका बारेमा जानकारी नहुनु र त्यस्ता सेवा सुविधा प्राप्त गर्न के गर्ने ? कहाँ जाने ? कसरी लिने ? कसलाई भन्ने, भेट्ने ? भन्नेसम्मको जानकारी नहुँदा घरमै बस्नुपरेको अवस्था रहेको थियो । अपाङ्गता भएकै कारण कतै बाहिर जान नपाउँदा आफूले राज्यबाट पाउने कानुनी अधिकारहरू प्राप्त गर्नबाट वञ्चित रहनुपरेको अवस्था थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेशमा संचालित “हामीलाई पनि समावेश गर” परियोजनाका २ वटा लक्षित नगरपालिकामध्ये राप्ती नगरपालिका पनि कार्यक्षेत्रको रूपमा छानिएपछि परियोजना संचालनका लागि विभिन्न समूह र समिति गठन गरिए । यसै क्रममा पहुँच परीक्षण वकालत समितिमा मनमाया पनि सदस्यका रूपमा समावेश हुनुभयो ।
हरेक विषयवस्तुमा चासो राख्ने र अपाङ्गताका बारेमा जानकारीहरू लिन जुनसुकै समय पनि तयार हुने मनमायालाई महासंघले राप्ती नगरपालिकामा गर्ने वकालत तथा अभिमुखीकरण र अन्य क्रियाकलापहरूमा समावेश गरायो । उहाँलाई सूचना सामग्री वितरणका लागि जिम्मेवारीसमेत दियो । महासंघले प्रदेशस्तरमा आयोजना गर्ने क्षमता विकासलगायत अन्य तालिममा समेत उहाँलाई समावेश गर्न थाल्यो ।
महासंघका कार्यक्रमका माध्यममबाट अन्य संस्थाहरूसँग पनि राम्रो सम्बन्ध बनेका कारण अन्य ओपीडीहरूले गर्ने तालिममा समेत मनमायाको बाक्लो सहभागिता हुँदैगयो । विभिन्न किसिमका तालिम, क्षमता विकास, अभिमुखीकरणका माध्यमबाट मनमायाले २ वर्षको अन्तरालमा अपाङ्गतासँग सम्बन्धित नीता, नियम, कानुन, राज्यको व्यवस्था आदिका बारेमा धेरै जानकारी हासिल गर्नुभयो ।
अपाङ्गताकै क्षेत्रमा धेरै चुनौतीसँगैै अवसर र सम्भावना पनि देखेकी मनमाया आफ्नो क्षमता अभिवृद्धिका लागि अपाङ्गतासँग सम्बन्धित जुनसुकै कार्यक्रममा सहभागी हुनेगरेको बताउनुहुन्छ ।
अपाङ्गता भएका कारणले शिक्षा प्राप्त गर्न नपाउँदैमा जीवनमा केही गर्न सकिन्न भन्ने कुरा सबैको हकमा लागु नहुने रहेछ । मनमा दृढ इच्छाशक्ति र लगनशीलता भएकी मनमायाले पनि विद्यालय शिक्षासम्म पूरा गर्न नपाए पनि जीवन उपयोगी शिक्षा लिने बाटो देखिसक्नुभएको छ ।
महासंघले दिएको स्थानलाई भरपुर सदुपयोग गरी आफूलाई निखार्दै लैजाने क्रममा हाल उहाँ स्थानीय ओपीडी नगर अपाङ्ग समन्वय समिति नाममा रहेको दर्ता संस्थाको अध्यक्ष पदमा रही नेतृत्व गर्दै हुनुहुन्छ । हालैमात्र उहाँको संस्थाले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट एक लाख रुपियाँ बजेट प्राप्त गरेको छ ।
उहाँको संस्थाले राप्ति नगरपालिकाका २ ठाउँमा १०० जनाभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूलाई १ दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । मनमायाकै नेतृत्वमा प्रदेश सरकारकै तीन लाख रुपियाँको बजेट रहेको सीबीआर कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।
मनमाया बिक पालिकाको अपाङ्गता परिचयपत्र वितरण समितिमा पनि रहनुभएको छ । उहाँ हरेक बैठकमा सल्लाह सुझाव दिने गर्नुहुन्छ । वडाको महिला समूह, सहकारी समूह र अन्य समूहहरूमा समेत उहाँको सहभागिता रहेको छ । साथै, दलित समुदाय उत्थानका लागि गठन गरिएका समितिि तथा संस्थाहरूमा समेत उहाँ सक्रिय हुनुहुन्छ ।
दलित समुदायकी न्यून दृष्टियुक्त अपाङ्गता भएकी महिला, जसले माध्यमिक तहसम्मको शिक्षा पनि प्राप्त गरेको छैन, महासंघबाट एउटा स्थानीय तहमा संचालन गरिएको परियोजनाको समूहबाट अपाङ्गताबारे जानकारी लिन सुरु गरी आफ्नो क्षमता अभिवृद्धि गर्दै २ वर्षको अन्तरालमा ओपीडीजको नेतृत्व गरी प्रदेशबाट बजेटसमेत प्राप्त गर्न सफल भई कार्यक्रम सम्पन्न गर्नु भनेको सम्भवतः सजिलो कुरा होइन । मनमायाको यो सफलतामा स्वयं उहाँको दृढ इच्छाशक्ति र लगनशीलता त छदैछ, साथै यो स्थानसम्म आइपुग्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेशको भूमिका पनि उत्तिकै बलियो छ भन्न सकिन्छ ।
- नेपाली र अंग्रेजी दुवै भाषामा रहेको प्रकाशित प्रति डाउनलोड गर्न तलको लिंकमा जानुहोस् ।
- The Story of Manmaya
- The Story of Manmaya-Nepali Version