२७ वर्षको उमेरमा बल्ल मायाको हात पर्यो परिचयपत्र
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका- १२, पदमपोखरी निवासी सुनाइसम्बन्धी अपाङ्गता भएकी माया रुम्बाले २७ वर्षको उमेरमा जन्मदर्ता, नागरिकता र अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएको छ । एक छोराकी आमा उहाँले यी प्रमाणपत्र पाएपछि मात्र नेपाल सरकारबाट दिइने सामाजिक सुरक्षा भत्तासमेत पाउन थाल्नुभएको छ ।
माया जन्मैदेखि सुनाइसम्बन्धी अपाङ्गता भएकी महिला हुनुहुन्छ । सामान्य परिवारमा जन्मेकी मायाले बहिरा अपाङ्गता भएकै कारणले समयमा शिक्षा प्राप्त गर्न सक्नुभएन । पारिवारिक आर्थिक अवस्था सामान्य र शिक्षाको आवश्यकतालाई नबुझेका कारणले गर्दा उहाँले सामान्य शिक्षाबाट वञ्चित रहनु पर्यो ।
आफू अपाङ्गता भएको व्यक्ति भएकै र पारिवारिक कारणले गर्दा सामान्य अधिकार पाउनबाट समेत उहाँ वञ्चित रहन पुग्नुभयो । जन्मेपछि प्राप्त गर्ने जन्मदर्ता देखि नागरिकता र अपाङ्गता परिचयपत्रसमेत समयमा प्राप्त गर्न सक्नुभएन । आवश्यकता महसुस हुँदा पनि परिवारले अनेक बहाना गरी आलटाल गरिरहे । बनाइदिन पहल भएन । उहाँको विवाह हुँदा पनि जन्मदर्तासमेत थिएन ।
बागमती प्रदेश सरकारले संचालन गरेको सीपमूलक तालिममा सहभागी मायाको परिचय खुल्ने आवश्यक कागजात माग्दा केही पनि नभएको थाहा पाएपछि तालिममा सहभागी नगराउने भन्ने सूचना महासंघले प्राप्त गर्यो । तत्काललाई तालिममा सहभागी गराउन र तालिमपछि सबै कागजात बनाएर बुझाउने भनी महासंघले मन्त्रालयलाई अनुरोध गरी तालिम दिलायो ।
माया लामा (रुम्बा) का नागरिकतालगायत अन्य सम्पूर्ण कागजात बनाउन महासंघका तर्फबाट माइती परिवार र वडा सचिव, जन प्रतिनिधिसमेत सचिवसमेत राखी पटक पटक छलफल गरियो ।
उहाँका पिता सकेसम्म छलफलमा आउनै नमान्ने, आए पनि अनेक बहाना गरेर टाढा हुने, पञ्छने गर्नुहुन्थ्यो । बाहिर सुनिए अनुसार बहिरा छोरी भएका कारण सम्पत्ति दिनुपर्छ कि भन्ने सोच र डरले उहाँ टाढा टाढा हुने गर्नुहुन्थ्यो रे ! वडाध्यक्ष र वडा सचिवले पटकपटक उहाँ (पिता) लाई कार्यालयमा बोलाई कागजातका लागि सिफारिस गरिदिन अनुरोधसमेत गरेका थिए ।
वडाबाट नै सिफरिस नगरिदिएका कारण कुनै काम अघि बढ्न सकेको थिएन । यस्तैमा २ वर्ष बितेको थियो । यसैबीच, २०७९ मा मायाका पिताको मृत्यु भयो । दाजुहरूले झन् वास्तै गर्नुभएन ।
पछि २०७९ चैत १६ मा राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेश कार्यलयमा उहाँको हस्तलिखित निवेदन पर्यो । त्यसमा भनिएको छ- हेटौडा- १२ निवासी वर्ष २५ कि सुनाइसम्बन्धी अपाङ्गता भएकी म माया रुम्बा अहिले विवाहित रहेको, माइतीघरमा एक दाजु र एक बहिनी रहेका, उनीहरूको जन्मदर्ता र नागरिकताको प्रमाणपत्र बनिसकेको तर मेरो हालसम्म पनि जन्मदर्ता र नागरिकतासमेत नबनेको, घरमा धेरै अनुरोध गर्दासमेत बेवास्ता गरी पछि बनाइदिन्छु भनेर आशामात्र दिलाउने गरेको, हाल आमा-बुबाको मृत्युसमेत भइसकेको र जन्मेको प्रमाणसमेत माइतीघरमा नभएको, जन्मदर्ता र नागरिकता नभएका कारण विवाहदर्तासमेत गर्न नपाएको तथा अपाङ्गता परिचयपत्रसमेत नबन्दा सामाजिक सुरक्षा भत्ताका साथै अन्य सुविधाबाट समेत वञ्चित रही अन्यायमा परेको छु र मलाई न्याय दिलाईदिन हुन अनुरोध गर्दछु ।
उहाँको निवेदन परेपछि न्याय दिलाउनका लागि मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयसमक्ष निवेदनको प्रतिलिपिसमेत संलग्न गरी यो निवेदन पेश गरेको थियो ।
निवेदनका आधारमा महासंघले मानव अधिकार आयोगलाई पत्रमार्फत जानकारी गरायो । त्यसै अनुरूप आयोगको अनुकूलतामा महासंघसमेत भई मायाका माइतीपक्षलाई सूचना गरी वडा कार्यलयमा वडाध्यक्ष र सचिबको उपस्थितिमा एकचरणको छलफल गरियो । त्यसपछि माइती परिवार र वडाका प्रतिनिधि पूर्णरूपमा सकारात्मक भए ।
उनको त्यस समयको अवस्थालाई मध्यनजर गरी (उनी सुत्केरी भई अस्पतालमा रहेको) उनको अनुकूल समयमा जन्मदर्ता गराई अन्य कागजात पनि बनाउन माइतीपक्ष मञ्जुर भए । महासंघको अथक प्रयास र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयात्मक भूमिकाबाट माया लामाले स्थानीय निकायहरूबाट जन्मदर्ता, नागरिकता, विवाहदर्ता र अपाङ्गता परिचयपत्र प्राप्त गरेर सामाजिक सुरक्षा भत्तासमेत पाउन जानकारी दिनुभएको छ ।
भत्ता समेत प्राप्त गर्न थालेको बतायकी छन । हाल उनले मासिकरूपमा सामाजिक सुरक्षा भत्तास्वरूप २१२८ रुपियाँ प्राप्त गर्दै आएकी मायाका श्रीमान पनि सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ दैनिक ज्याला मजदुरीको काम गर्ने गर्नुहुन्छ । हाल माया र उहँको परिवार खुसीसाथ जीवन बिताइरहेको छ ।
- पिडीएफ फर्म्याटमा रहेको नेपाली र अंग्रेजी भाषामा डाउनलोड गर्न तलको लिंकमा जानुहोस् ।
- Maya_s Journey to Identity and Rights
- Maya_s Journey to Identity and Rights-Nepali Version