राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सवाल विषयक अन्तरकृया कार्यक्रम
“मेरो गणना मेरो सहभागीता” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र केन्द्रीय तथ्याकं बिभागको संयुक्त अयोजनामा माइराइट नेपालको सहयोगमा राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गताका भएका व्यक्तिहरूको सवाल बिषयमा छलफल बृहत अन्तर्कृया कार्यक्रम भर्चुअल माध्यमबाट मिति २६ भाद्र २०७७ मा सम्पन्न भएको थियो । केन्द्रिय तथाङ्क विभागबाट महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूको अध्यक्षता संचालित यस बृहत अन्तर्कृया कार्यक्रममा विभागका कर्मचारी, युएनफपीए, युएनका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय, प्रादेशिक पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कर्मचारी, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष, दश वर्गीय स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा कार्यरत अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु र पत्रकारहरु गरी १३९ जनाको सक्रिय सहभागितामा रहेको थियो ।
विभागका उपमहानिर्देशक श्री हेमराज रेग्मी ज्यू र निर्देशक श्री ढुण्डीराज लामिछाने ज्यूले राष्ट्रिय जनगणना २०७८ र अपाङ्गता भएका व्यक्तिहरूको सवालका कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तुतिमा अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न बर्ग, क्षेत्र, लिंग प्रतिनिधित्व गर्ने स्वावलम्बी संघ संस्था र अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरूका प्रमुख र प्रतिनिधिहरूले जिज्ञासा र सुझाव राख्नु भएको थियो साथै कोरोनाको विषम परिस्थितिमा पनि भर्चुअल रुपमा जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । तथ्याङ्क सबैको साझा सवाल भएको हुनाले आगामी तथ्याङ्कमा अपाङ्गता भएका व्यक्तिहरुको सहि र तथ्य परक तथ्याङ्क ल्याउन यसको हरेक प्रकृयाहरुमा महासंघ र सरोकार निकायहरुसँग समन्वय हुनुपर्ने र सोको प्रचार प्रसार देखि तालिम पनि सबै अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशी ढङ्गमा समेटिनु पर्ने माग पनि सहभागिताहरु गर्नुभएको छ । अपाङ्गता को छुट्टै प्रतिबेदन ल्याउने कुरा सह्रानिय भएको र अन्य कार्यहरु जस्तै तालिम दिने बिज्ञ, गणक र अनुगमनकर्ता को रुपमा अपाङ्गता भएका ब्यक्तिलाई अनिबार्य प्रनिधित्व गर्ने रणनीति तय गरिनु पर्छ भन्ने कुरा पनि छलफलमा आएको छ ।
कार्यक्रममा मन्तव्यको क्रममा महासंघको पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेल ज्यूले अबको रणनीति जनगणनाको आगामी कार्ययोजनामा बढी ध्यान दिनुपर्ने र विधुतीय माध्यमको प्रयोग अपाङ्गतामैत्री बनाउनु पर्ने बताउनु भयो । त्यसै गरि महासंघको निर्वतमान अध्यक्ष श्री सुदर्शन सुवेदी ज्यूले विगतका संघर्षका पलहरुलाई सम्झदै अबको दिनमा यस्तै सहकार्यमा काम अघि बढाउनु पर्नेमा जोड दिनुभयो। महासंघको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूले आजको कार्यक्रम समयसापेक्ष भएको र यस छलफलले आगामी दिनमा गरिने जनगणनाका कार्यक्रमलाई अझै समावेशी बनाउने सघाउनेमा विश्वास गर्नुभयो ।
यस कार्यक्रमको संचालन महासंघको संघीय कार्यसमिति सचिवालय सदस्य श्री कृष्ण गौतम ज्यूले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य महासंघको उपाध्यक्ष श्री रमा ढकाल ज्यूले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएको विभागको महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूले आगामी जनगणना २०७८ लाई सफल बनाउनको लागि सबै सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै अघि बढ्ने प्रतिबध्दता जाहेर गर्नुभएको छ । कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन गर्नुहुदै नो वन लेफ्ट बिहाइन्ड भन्ने कुरामा ऐकिबध्दता जाहेर गर्दै मेरो गणना मेरो सहभागीताको नारालाई सबै मिलेर सार्थक बनाउन आग्रह गर्नुभयो ।