अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस हर्ष उल्लासका साथ शुभकामना कार्यक्रम मनाईयो
मिति: १८ मंसिर २०८०
“United in action to rescue and achieve the SDGs for, with and by person with disabilities.” तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” नारा सहित अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बर २०२३ काठमाडौको भृकुटीमण्डपमा सम्पन्न भएको छ । उक्त औपचारिक समारोह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्री श्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता, सचिव माननीय श्री सुमन राज अर्यालको विशेष आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराई र उपाध्यक्ष अनिता गैरेको संयुक्त रुपमा संचालन गर्नुभएको थियो । उक्त औपचारिक कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, समाज कल्याण परिषदका सहसचिव सञ्जय कुमार मल्लिक, महासंघका पुर्व अध्यक्षज्यूहरु, लगायत विभिन्न सरकारी निकायहरु, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सदस्य संस्थाहरु, अपाङ्गता भएका व्यक्तिहरुका संस्थाहरु, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको अभिभावकहरु. नागरिक समाज, पत्रकार, राष्ट्रिय र अर्न्तराष्ट्रिय संघ संस्थाहरुबाट विभिन्न प्रतिनिधिज्यूहरु लगायत करिब १५०० जनाको उल्लेखनीय कार्यक्रममा उपस्थिति थियो । दिवसको कार्यक्रम महिला बालबालिका, तथा ज्येष्ठ नागरिकका सचिवको नेतृत्वमा बिहान ८ बजे भृकुटीमण्डपबाट विशाल प्रभातफेरिबाट शुरु गरियो । नेपाल प्रहरी र नेपाली सेनाको ब्याण्ड बाजागाजा, स्वंयसेवकहरु सहित नाचगान गर्दै, बिभिन्न नाराहरु लेखिएका प्ले कार्डहरु, विभिन्न संघ संस्थाका ब्यानरहरू सहितको उक्त र्यालीले टुँडिखेल परिक्रममा गरी पुनः भृकुटीमण्डपको बगैँचामा पुगेर सभामा परिणत भएको थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुको ३२ औं अन्तराष्ट्रिय दिवसको अन्तर्राष्ट्रिय र राष्ट्रिय नारा वाचन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्री श्री प्रकाश ज्वालाले कार्यक्रमको उद्घघाटन गर्नु थियो । मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल र सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) को शुभकामना सन्देश वाचन गरेर सुनाउनु भयो । यस पश्चात राष्ट्रिय अपाङ्ग महासंघको वरिष्ठ उपाध्यक्ष राम कार्कीले नेपालको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुको विद्मामान अवस्था र भावी कार्यदिशाबारे सुचनामुलक प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त प्रस्तुतिकरणमा अपाङ्गता भएका व्यक्तिहरुको कानुनी अधिकारको सवालमा हालसम्म प्राप्त भएको उपलब्धी, भोग्नु परेका समस्या र चुनौतिहरुका साथै उपायहरुका साथ भावी कार्यदिशा बारे छलफल गर्नुभयो ।
दिवसको शुभकामना व्यक्त गर्ने क्रममा अन्तराष्ट्रिय गैर सरकारी संस्थाका तर्फबाट एचआईका निर्देशक पलिनले यो अपाङ्गता दिवस मात्र नभएर अपाङ्गता अधिकारको दिवस पनि भएको बताउनु भयो । यसै गरी अबको दिनमा महासंघ लगायत सबै सम्बन्धित निकायहरुसँगको साझेदारीमा पहुँचयुक्तताका आयामहरुलाई अझै विस्तार गर्दै अपाङ्गता समावेशीताको सवालहरुमा जोड दिनुपर्ने बताउनु भयो । साथै अपाङ्गता समावेशी विपद जोखिम व्यवस्थापनमा पनि हाम्रो समन्वय र साझेदारी बढाउनु पर्ने बताउनु भयो । यसै अपाङ्गता भएका महिलाहरुको महासंघका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाहरुले भोग्नु परेका चुनौतीहरुको बारेमा भएको अध्ययनको संक्षिप्त जानकारी दिनुभयो । शुभकामनाको क्रममा डिपिओडी/एफएफओ नेपालका प्रतिनिधि रेणु लोहनीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्ति तथा प्रवर्धनको लागि लामो समयदेखि राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको साझेदारीलाई स्मरण गर्नुहुदै अपाङ्गता अधिकारको सुनिश्चितताको लागि सबै नीति तथा कानुनहरुमा समावेशीता हुनुपर्ने बताउनु भयो । यसै गरी महासंघको पुर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले विगतको अपाङ्गता आन्दोलन र अपाङ्गता अधिकार प्राप्तिको लागि गरेको सबै संर्घषलाई सम्झनुहुदै दिगो विकास लक्ष्यको सूचक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीमा भएका सिफारिसको कार्यान्वयन अवस्थालाई सविस्तार गर्नुभयो । साथै हाल राष्ट्रिय नीति पारित गर्न अपाङ्गता अधिकारकर्मीहरुले निरन्तर गरिरहनुभएको पहलकदमीको बारेमा पनि बताउनु भयो । अन्त्यमा यो वर्षको अङ्ग्रेजी नारामा उदृत भएझै दिगो विकास लक्ष्य प्राप्तिको लागि आगामी दिनमा थप प्रभावकारी र तथ्यमा आधारित पैरवी तथा वकालत गर्न र समावेशी राष्ट्र निर्माणमा सबैको एकिबद्धता हुनुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको सबै अधिकार र सेवा सुविधाहरुको सहज पहुँच सुनिश्चतता भएको होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
यो वर्षको दिवसमा केही नवीनतम प्रयासहरु पनि गरिएको थियो । दिवसको अवसर पारेर अपाङ्गता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुहुने सरकारी कर्मचारी, अपाङ्गता सवालमा उठान गर्ने पत्रकार, अपाङ्गता भएको व्यक्तिसँग बिवाह गरी निन्तर अपाङ्गताको क्षेत्रमा कृयाशिल व्यक्ति र राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा कर्मचारीको रुपमा निरन्तर योगदान पुर्याउनुहुने कर्मचारी गरी विभिन्न चार बिधाहरुमा सम्मान प्रदान गरिएको थियो । साथै समावेशी साँस्कृतिक नृत्य र अपाङ्गता सहितको समावेशी विकासको भाव सहित लोकदोहोरी प्रतियोगिताको आयोजनाको भएको थियो ।
कार्यक्रमका विशेष अतिथि श्री सचिव सुमनराज अर्यालले अपाङ्गता अधिकार प्राप्ति र प्रवर्धनको सवालमा सबै एकीबद्ध भई अघि बढ्नुपर्ने बताउनुहुदै राष्ट्रिय नीति २०८० अविलम्बन क्याविनेटबाट पारित गर्नको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री ज्यूसँग आवश्यक समन्वय गर्ने अठोट गर्नुभयो । कार्यक्रमको विशिष्ट अतिथि माननीय मन्त्री प्रकाश ज्वाला ज्यूले यस वर्षको नारामा उल्लेख भएझैं नेपालले दिगो विकासको लक्ष्यको प्राप्तिको लागि आगामी दिनहरुमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग थप समन्वय तथा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । सबै अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भर भई सम्मानित जीवनको लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटको लागि पनि महिला बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्ने बताउनु भयो । साथै भौतिक, यातायात लगायत सबै अपाङ्गतामैत्री बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र विज्ञहरुसँग आगामी दिनहरुमा छलफल गर्ने प्रतिबद्धता गर्नुभयो । यस दिवसको अवसरमा सम्मान पाउनुभएका व्यक्तिहरुलाई देखेर अन्य व्यक्तिहरुले पनि हौसला र प्रेरणाको स्रोतमा लिने भएकोले यो कार्य निकै प्रशंसनीय भएको बताउनुभयो । साथै यस वर्ष पहिलो पटक महिला, बालबालिका र ज्येष्ठ नागरिक र सूचना तथा संचार प्रविधि मन्त्रालयको सहयोगमा मोबाइलमा अपाङ्गता दिवसको शुभकामना रिङटोन बजाइएकोमा पनि हर्ष व्यक्त गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य ज्यूले दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय हक अधिकार प्राप्तिको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिहरुले सेवा सुविधाहरु पहुँच बढ्न अझै बढ्न सकेको छैन । यसको लागि संघ प्रदेश र स्थानीय स्तरमा ऐन कानुन नीति तथा नियमावलीहरु समयसापेक्ष निमार्ण/परिमार्जन गर्न आवश्यक छ । यस वर्षको नारामा उल्लेख भएझैं अपाङ्गता समावेशीमा जोडिएका दिगो विकास लक्ष्यहरुको प्राप्तिको लागि हामी सबै एकजुट भई लाग्नु पर्ने बताउनु भयो । उहाँले अपाङ्गता अधिकारमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुमा सरकारको बजेट तथा कार्यक्रम दिने गरेको अभ्यासको बारेमा बताउनु भयो । उक्त असल अभ्यासलाई नेपालमा पनि यसलाई अवलम्बन गर्नुपर्ने बताउनु भयो । साथै अपाङ्गता अधिकार सुनिश्चतताका लागि संघ, प्रदेश र स्थानीय तहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाहरु र अपाङ्गता भएका व्यक्तिहरुको महत्वपूर्ण भूमिका बनाउन अनुकुल वातावरण बनाउन पनि जरुरी छ ।