कोभिड-१९ को सन्दर्भमा अपाङ्गता समावेशी जोखिम सञ्चार
पृष्ठभूमि
हाल विश्वले यसअघि परिकल्पना नै नगरेको स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ। कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वमा झन्डै ३ करोड बढी मानिसहरू सङ्क्रमित भइसकेको छन् भने दश लाखको मृत्यु भइसकेको छ। नेपालमा पनि हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७० हजार र मृत्यु हुनेहरूको सङ्ख्या ५०० बढी पुगिसकेको छ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरू सामान्य समयमा समेत आधारभूत स्वास्थ्य तथा सञ्चार सेवाबाट वञ्चित हुने कुरा प्रस्ट नै रहेछ। त्यसमाथि कोभिड-१९ जस्तो महामारीको समयमा त झन्, अपाङ्गता भएका व्यक्तिहरू सबै भन्दा बढी जोखिममा रहने गरेका छन् ।
जोखिमको समयमा सूचना र सञ्चार
कुनै पनि महामारी र प्रकोपको समयमा जोखिम सम्बन्धी सूचना र सञ्चार निकै महत्त्वपूर्ण हुन्छ। एउटा आधिकारिक सूचनाले धेरै व्यक्तिको जीवनमा दुर्घटना हुनबाट बचाउँछ । तर हाल कोभिड-१९ को कारण उत्पन्न विषम परिस्थितिमा भने अपाङ्गता भएका व्यक्तिहरू समयमा नै सही र आधिकारिक सूचना प्राप्त गर्ने अवसरबाट वञ्चित भइरहेका छन्। नेपाल सरकारले दैनिक रूपमा आयोजना गर्ने कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलनमा साङ्केतिक दोभासेको व्यवस्था गरेर पहुँचयुक्त सूचना प्रणालीमा एक प्रशंसनीय काम गरे तापनि यसैमा ढुक्क भइराख्ने अवस्था भने छैन। अपाङ्गता भित्रका विविधता जस्तै दृष्टिसम्बन्धी, सुनाई सम्बन्धी, बौद्धिक तथा अटिजम भएका, श्रवणदृस्ष्टिविहिन र मनोसामाजिक तथा सिकाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई पहिचान गरी पहुँचयुक्त प्रक्रिया तथा ढाँचाहरूको प्रयोग गरी सूचना प्रदान गर्ने व्यवस्था अझ सम्म पनि भएको छैन ।
सबैजसो सरकारी तथा गैरसरकारी निकायहरू र आम सञ्चार माध्यमहरूले कोरोनासँग सम्बन्धित थुप्रै खालका सन्देशमूलक सामाग्रीहरू तयार गरेर प्रकाशन, प्रसारण तथा वितरण गरिरहेको छन् तर ती सामाग्रीहरू पहुँचयुक्त ढाँचा र शैलीमा विकास नगरिँदा अपाङ्गता भएका व्यक्तिहरू तथ्यपरक सूचनाको अभावमा बाँच्न बाध्य छन्। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले हालसालै गरेको एक द्रुत अध्ययनले ६१ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूले कोभिड-१९ सम्बन्धी सूचनाहरू सामाग्री पहुँचयुक्त नभएको भनेका थिए भन्ने कुरा उल्लेख गरेको छ। त्यस्तै राष्ट्रिय बहिरा महासङ्घले हालसालै गरेको अर्को अध्ययनमा उल्लेख भएअनुसार २८ प्रतिशत बहिरा व्यक्तिहरूले मात्र बन्दाबन्दीको भएकै दिनमा मात्र त्यसबारेमा थाहा पाएका थिए र अधिकतम बहिरा व्यक्तिहरूले भोलिपल्ट मात्र त्यसबारेमा थाहा पाएका थिए। अझ ४ प्रतिशत बहिरा व्यक्तिहरूले त केही दिनपछि मात्र सरकारले गरेको बन्दाबन्दीका बारेमा थाहा पाउनुले पनि देशको विद्यमान सूचना प्रणालीले अपाङ्गता वर्गलाई कतिसम्म प्राथमिकता दिएको छ भन्ने तथ्यलाई दर्साएको छ ।
कानुनी प्रावधान
नेपालको संविधान २०७२ को धारा २७ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन, २०७५) ले अपाङ्गता भएका व्यक्तिहरूको सूचनाको हकलाई स्पष्ट रूपमा उल्लेख गरेको छ। त्यस्तै नेपालले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (UNCRPD) को धारा २१ मा पनि यस हकको बारेमा चर्चा गरिएको छ भने सोही महासन्धिको धारा ९ ले सबै किसिमका सूचना तथा सञ्चार प्रणाली पहुँचयुक्त हुनुपर्ने कुरा स्पष्टसँग उल्लेख गरेको छ। नेपाल सरकार आफैँले पनि भौतिक संरचना तथा सञ्चार निर्देशिका, २०६९ जारी गरेर कार्यान्वयनमा ल्याइसकेको छ। त्यसका साथै विश्वको विकासको साझा दस्ताबेजको रूपमा कार्यान्वयनमा रहेको दिगो विकास लक्ष्यको धारा १० ले पनि अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक र राजनीतिक मूल प्रवाहीकरणमा जोड दिँदै उनीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिताको कुरा गरेको छ।
कोरोना महामारी फैलिए यता तत्काल प्रतिकार्य र पुनर्लाभका क्रममा जारी हुने जोखिम सञ्चारलाई सबैका लागी पहुँचयुक्त बनाउन विभिन्न अन्तर्राष्ट्रिय निकायहरू तथा संस्थाहरूले विभिन्न निर्देशिका तथा मापदण्ड तयार समेत तयार गरेका छन् । अन्तर्राष्ट्रिय अपाङ्गता सञ्जाल (IDA) को “अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य”, संयुक्त राष्ट्र सङ्घको नेपाल कार्यालयको “कोभिड-१९ तयारी तथा प्रतिकार्य योजना”, विश्व स्वास्थ्य सङ्गठनको “कोभिड-१९ महामारीमा अपाङ्गता सम्बन्धी सवाल”, युनिसेफको “कोभिड १९ र जोखिम सञ्चार” तथा अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको “कोभिड-१९को समय डिजिटल सूचना, सेवा तथा उत्पादनहरू कसरी अपाङ्गता भएका व्यक्तिहरू सहित सबैका लागि पहुँचयुक्त बनाउने” जस्ता विभिन्न निर्देशिका तथा दस्ताबेजहरूले महामारीको समयमा गरिने प्रतिकार्य र पुनर्लाभका कार्यहरू सहित जोखिम सञ्चारलाई अपाङ्गता समावेशी बनाउने कुरामा जोड दिएका छन् ।
यद्यपि नीति तथा कानुनहरूमा स्पष्ट रूपमा पहुँचयुक्तताको बारेमा उल्लेख गरिए तापनि कार्यान्वयन पक्ष निकै कमजोर हुँदा अपाङ्गता भएका व्यक्तिहरू सूचना बाट वञ्चित हुन पर्न बाध्य छन्।
कोभिड-१९ को सन्दर्भका जोखिम सञ्चारका साधनहरूको विश्लेषण
कोरोना महामारीको समयमा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह भइरहेको सूचना प्रणालीको विश्लेषण गर्दा केही सकारात्मक प्रयासहरू भएको देखिए तापनि अझ सुधार गर्नुपर्ने धेरै कुराहरू रहेको पाइयो। नेपाल सरकारले दैनिक रूपमा गर्ने कोभिडको जानकारी गराउने पत्रकार सम्मेलनमा साङ्केतिक भाषाका दोभासेको व्यवस्था गरेर प्रशंसनीय काम गरेको छ यद्यपि उक्त प्रेस मिटमा क्लोज क्याप्सनिङको व्यवस्था नगरिदिँदा सुस्त श्रवण भएका व्यक्तिहरूले सूचना राम्ररी ग्रहण गर्न पाएका छैनन्। त्यस्तै नेपाल सरकारले दैनिक रूपमा कोभिडको समसामयिक जानकारीहरूलाई समेटेर प्रकाशन गर्ने स्थिति प्रतिवेदनलाई PDF को ढाँचामा तयार पार्ने गर्दछ। उक्त डकुमेन्ट नेपाली फन्टमा नै लेखिएको भए तापनि, PDF डकुमेन्ट नहुनुका साथै प्रयुक्त चार्ट र टेबलहरू पूर्ण रूपमा पहुँचयुक्त नभएको तथा केवल रङ्ग हरू मात्रै प्रयोग गरेर महत्त्वपूर्ण जानकारी प्रदान गरिएको पाइयो जून दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त हुँदैन ।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले दैनिक रूपमा जारी गर्ने PDF डकुमेन्ट निकै पहुँचयुक्त देखिए पनि उक्त डकुमेन्टको MS Word फर्म्याट तथा बुझ्न सजिलो ढाँचा (Easy to Read) उपलब्ध नगराइदिँदा केही अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्ण र प्रभावकारी ढङ्गले जानकारी प्राप्त गर्नबाट वञ्चित गराइएको पाइयो। त्यस्तै विश्व स्वास्थ्य सङ्गठनको नेपाल कार्यालयले साप्ताहिक रूपमा प्रकाशित गर्ने कोभिडको राष्ट्रीयस्तरको जानकारीसम्बन्धी PDF फाइल पहुँचयुक्तताको दृष्टिकोणले निकै कमजोर रहेको पाइयो। जानकारीहरू बक्समा डिजाइन गरेर राखिदिनु, चार्ट तथा टेबलहरूमा कुनै पनि पहुँचयुक्तताका सुविधाहरू नराखिदिनु साथसाथै जानकारी पनि केवल अङ्ग्रेजी भाषा र PDF ढाँचामा मात्र उपलब्ध गराइनाले विश्व सङ्गठनको नेपाल कार्यालय पहुँचयुक्त सूचना प्रणालीमा संवेदनशील नरहेको पाइयो।
यसअतिरिक्त प्रदेश सरकार र स्थानीय सरकारले पनि कोरोनासम्बन्धी दैनिक अपडेटहरू PDF डकुमेन्ट र सामाजिक सञ्जालमा तस्बिर मार्फत प्रदान गरिरहेको पाइयो। त्यसता PDF डकुमेन्टहरू पहुँचयुक्त नभएको तथा सामाजिक सञ्जालका पोस्टहरूमा पनि आवश्यक विवरण, तस्बिरको जानकारी आदि प्रयोग नगरी तस्बिर मात्र राख्ने ले धेरै अपाङ्गता भएका व्यक्तिहरूका लागि ती सूचनाहरू पहुँचयुक्त नरहेको देखियो।
अर्कोतर्फ जोखिम सम्बन्धी जानकारी मूलक सूचना सामाग्रीहरूको कुरा गर्दा यस्ता सामाग्रीहरूको निर्माण र वितरण गर्ने आधिकारी सरकारी निकाय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र ले विकास गरेका सञ्चार सामाग्रीहरू अपाङ्गताको दृष्टिकोणले पहुँचयुक्त भएको पाइन। केन्द्र को वेबसाइटमा उपलब्ध भिडियो सामाग्रीहरूमध्ये केवल एउटामा मात्र साङ्केतिक भाषाको प्रयोग गरिनु, कुनै पनि पोस्टरमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर जानकारीहरू नराखिनु तथा वेबसाइटमा उल्लेख गरिएका तस्बिरहरूमा समेत वैकल्पिक विवरण (Alternative Text) को प्रयोग नगर्नुले, ती सामाग्रीहरू अपाङ्गता भएका व्यक्तिहरूको लागी पहुँचयुक्त बन्न सकेका छैनन्। महामारीको समयमा धेरैजसो नागरिक समाजहरूले सत्य र तथ्य जानकारीहरू आम सर्वसाधारणमा पुर्याउनको लागी खास गरी सामाजिक सञ्जालहरूको अत्यधिक प्रयोग गरेको भए तापनि त्यस्ता सूचना र जानकारीहरू तस्बिरको रूपमा कुनै विवरण उपलब्ध नगराई पोस्ट गर्नुका साथै तथा ती पोस्टहरूमा प्रयोग भएका भाषा पनि कठिन र जटिल भई बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले बुझ्न नसक्ने किसिमको भएको देखियो
पहुँचयुक्त सूचना प्रणालीको लागी अपाङ्गताको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूको प्रयास भने निकै सह्रानीय पाइयो। खास गरी राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपाल अपाङ्ग महिला सङ्घ, राष्ट्रिय बहिरा महासङ्घजस्ता संस्थाहरूले प्रकाशन तथा प्रसारण गरेको कोभिडसँग सम्बन्धित सन्देशमूलक सामाग्रीहरूमा पहुँचयुक्तताका आधारभूत सिद्धान्तहरूलाई अनुसरण गर्नुको साथै अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकता र सवाललाई समेटेर पनि थुप्रै सन्देशहरू प्रकाशन तथा प्रसारण गरेको पाइयो।
यसै गरी कोभिड-१९ सम्बन्धी अनलाइन प्लेटफर्महरूको विश्लेषण गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय कोभिड ड्याश बोर्डमा केही पहुँचयुक्तताको सुविधाहरूलाई उल्लेख गरिएको पाइए तापनि अझै तस्बिर, चार्ट तथा तालिकाहरू पूर्ण रूपमा पहुँचयुक्त नभएको देखियो। त्यस्तै विश्व स्वास्थ्य सङ्गठनको कोभिड ड्याशबोर्डको विश्लेषण गर्दा उक्त प्लेटफर्म भने पहुँचयुक्तताका सबैजसो सुविधाहरू उल्लेख गरिएकोले पहुँचयुक्त रहेको देखियो। त्यस्तै जन हप्किनस् विश्व विद्यालयको कोभिड ड्याशबोर्ड पहुँचयुक्त भएको पाइए तापनि त्यसमा तथ्याङ्कहरू चार्टका रूपमा मात्र उपलब्ध गराइएको र तालिकाको रूपमा समेत उपलब्ध गराएको भए अझ पहुँचयुक्त बन्न सक्ने पाइयो ।
सुझाव
सूचना तथा सञ्चारमा पहुँच हुनु हरेकको मौलिक अधिकार मात्र नभई, उसको जीवनका कतिपय महत्त्वपूर्ण निर्णय गर्नको लागी अपरिहार्य तत्त्व हो। कुनै पनि महामारीको समयमा सही र तथ्यपरक सूचना प्राप्त गर्नु निकै अपरिहार्य हुने भएकोले यस कोरोना महामारीको समयमा सबै पक्ष र तहका सरोकारवाला निकायहरूले आम सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी अपाङ्गता भएका व्यक्तिहरू सहित सबैका लागि पहुँचयुक्त जोखिम सञ्चारको विकास र वितरण गर्न जरुरी छ । यसका लागी सम्बन्धित सरोकारवाला निकायहरूले निम्न कार्यहरू गर्न सक्छन्:
- आफ्नो संस्था/निकायबाट प्रवाहित हुने सबै सूचना तथा जानकारीहरू पहुँचयुक्त बनाउनको लागी नीतिगत रूपमा नै आवश्यक व्यवस्था गरी त्यसलाई कडाइका साथ कार्यान्वयन गराउने,
- सबै किसिमका डिजिटल प्लेटफर्महरू जस्तै वेबसाइट, मोबाइल एप्लिकेसन आदी अन्तर्राष्ट्रिय मापदण्ड (Web Content Accessibility Guideline) लाई पूर्ण रूपमा अनुसरण गरी पहुँचयुक्त बनाउने,
- सबै किसिमका डिजिटल डकुमेन्टहरू वर्ड, एक्सेल, पावरपोइन्ट, PDF डकुमेन्ट आदी सबै अन्तर्राष्ट्रिय मापदण्डलाई पूर्ण रूपमा अनुसरण गरेर तयार पार्ने। PDF मार्फत सूचना दिनुपर्ने भए, विकल्पको रूपमा वर्ड फर्म्याट पनि उपलब्ध गराउने ।
- नेपाली डकुमेन्ट तयार गर्दा युनिकोड फन्ट को मात्र प्रयोग गर्ने ।
- सामाजिक सञ्जालमार्फत प्रसारण गरिने सन्देशमूलक सामाग्रीहरूको तस्बिरसँगै त्यसको सही क्याप्सन लेखिदिने, अडियो/भिडियो सामाग्रीहरूमा साङ्केतिक भाषा र क्लोज क्यापसनिङ उल्लेख गर्ने, तस्बिरको डिजाइन सामान्य तरिकाले गर्ने तथा सरल भाषाको प्रयोग गर्ने,
- कुनै पनि सन्देशमूलक सामाग्रीहरू विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका लागी अनुकूल हुने ढाँचाहरू जस्तै दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागी ब्रेल, अडियो तथा Epub फर्म्याट, सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागी साङ्केतिक भाषा र क्यापसनिङ/सबटाइटलसहितको अडियो/भिडियो सामाग्री, सिकाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागी इजि टु रिड ढाँचा र सरल शब्दहरूको प्रयोग गरेर सचेतनामूलक सामाग्रीहरू तयार गरेर वितरण गर्ने,
- टेलिभिजनबाट प्रसारण हुने दैनिक बुलेटिन, महत्त्वपूर्ण छलफल तथा सार्वजनिक सन्देशहरूमा साङ्केतिक दोभासे र क्लोज क्यापसनिङको व्यवस्था गराउने,
- सरकारले दैनिक रूपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा साङ्केतिक भाषाका दोभासे सहित क्यापसनिङको व्यवस्था गराउने,
- सामाजिक सञ्जालका विभिन्न माध्यमहरू जस्तै वाट्स् एप, भाइवर, इमेल आदिको प्रयोग गरेर आधिकारिक र तथ्यपरक सूचना र जानकारीहरू अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गर्ने
- पहुँचयुक्त सूचना प्रणालीको साथसाथै प्रवाह गरिने सन्देश र जानकारीहरूमा अपाङ्गताका विशेष आवश्यकता र सवालहरू जस्तै सहयोग चाहिने अवस्थामा कसरी सामाजिक दूरी कायम गराउने, सहायक सामाग्रीहरूलाई कसरी सुरक्षित राख्ने तथा विशेष हेरचाह कसरी दिने आदिजस्ता विषयहरूलाई पनि समेट्ने ।
निष्कर्ष
कोरोना महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूले अन्य समयमा जस्तै पहुँचयुक्त सूचना र सञ्चारको लागी निकै अवरोधहरूको सामना गरिरहेका छन्। आवश्यक सूचना र जानकारीहरू समयमा नै प्राप्त गर्न नसक्दा, उनीहरू झन् धेरै जोखिममा पर्न सक्छन्। तसर्थ, सम्बन्धित सरोकारवाला निकायहरूले पहुँचयुक्त जोखिम सूचना तथा सञ्चारको सवाललाई गम्भीरतापूर्वक लिएर आवश्यक व्यवस्था गर्नु पर्छ । यसका लागि पहुँचयुक्त सूचना प्रणालीमा देखिएका समस्या र कमजोरीहरूलाई सच्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कानुन तथा निर्देशिकाहरूले निर्दिष्ट गरेबमोजिम अपाङ्गता भएका व्यक्तिहरूसहित सबैको सूचना र सञ्चारमा पहुँच स्थापित गराउनको लागी नेतृत्वदायी भूमिका खेल्न जरुरी छ ।
Background information in jpg format
Available in English _Issue_Brief_Disability_Inclusive_Risk_Communication