जिल्ला सम्पर्क व्यक्तिहरु तथा महिला दौतरी परामर्शदाताहरुका लागि एकदिने भर्चुअल तालिम सम्पन्न
मिति २०७८, वैशाख २७ गते सोमबार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा, टेकुको समन्वय तथा विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयको सहयोगमा संचालित संयुक्त पहलमा संचालित हो हामी सक्छौं–अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गता–समावेशी कोभिड १९ प्रतिकार्य परियोजनाको लुम्बिनी प्रदेश स्थित १२ वटै जिल्लाका १२ जिल्ला सम्पर्क व्यक्तिहरु र १२ महिला दौंतरी परामर्शदाताहरुलाई कोभिड १९ को समयमा आईपर्ने अपाङ्गता महिला, महिला युवा तथा किशोरी अपाङ्गता भएका व्यक्तिहरुको समस्या तथा सवालहरुलाई भर्चुअल सहायता कक्षको माध्ममबाट भर्चुअल विज्ञहरुहरुको पुल मार्फत परामर्श तथा सहयोग उपलब्ध गराउनका लागि क्षमता अभिबृद्धि गर्ने उद्देश्यले भर्चुअल अभिमुखीकरण तालिमको आयोजना भएको थियो ।
लुम्बिनी प्रदेश हाल कोभिड १९ को हटस्पट भएको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुलाई के कसरी दुर पुर्नःस्थापना तथा दुर परामर्श उपलब्ध गराउन सकिन्छ र जिल्ला सम्पर्क व्यक्तिहरु र महिला दौंतरी परामर्शदाताहरुको यसमा के र कस्तो भुमिका रहन्छ भन्ने विषयमा आधारित भई अभिमुखीकरण तालिम विश्व स्वास्थ्य संगठन नेपालका परामर्शदाता कामराज देवपिचाईबाट उपलब्ध गराइएको थियो । तालिम पश्चात सहभागीहरुले आफ्ना जिल्लामा जिल्ला भर्चुअल सहायता कक्ष स्थापना गरि कोभिड १९ प्रभावित अपाङ्गता भएका व्यक्ति, तिनका परिवारका सदस्यहरु वा सहयोगी व्यक्तिहरुको भर्चुअल माध्यमबाट सुचना संकलन गरि भर्चुअल रुपमा विज्ञहरुबाट परामर्श र सहयोग दिलाउन सहजीकरण गर्नुपर्ने छ ।
तालिमको औपचारिक सत्रको अवसरमा विशेष अतिथि महासंघका अध्यक्ष मित्रलाल शर्माले यो विश्व स्वास्थ्य संगठन र महासंघको पहलमा संचालित भएकाले नतिजा ल्याउनका लागि महासंघका सदस्य संस्थाहरुले दत्तचित्त भएर लाग्नुपर्ने बताउनु भयो । त्यस्तै, अर्का विशिष्ट अतिथि विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयका प्रतिनिधि डा. केदार मरहट्टाले अपाङ्गता भएका व्यक्तिहरुको कोभिडको समयमा विशेष गरि स्वास्थ्यसँग सम्बन्धित समस्याहरु पहिचान गर्ने र त्यसलाई उचित तरिकाले सम्बोधन गराउनका साथै निरन्तर सेवामा वहाँहरुलाई जोड्नका लागि कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखासँग समेत सहकार्य गरि अपाङ्गता समावेशी स्वास्थ्य सेवा प्रवाह प्रणाली र प्रकृया स्थापना गर्न समेत यो परियोजनाले योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै, प्रमुख अतिथि डा. उत्तम घिमिरेले यस्तो आपतकालीन समयमा कोभिड प्रभावित अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक तथा सुचना महत्वपुर्ण हुने र त्यसैको आधारमा उनीहरुलाई पहिचान गर्दै सहयोग र परामर्श उपलब्ध गराउन सकिने र यस पहललाई कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले समन्वय गरेर धेरैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई लाभान्वित बनाउने कुरामा प्रणाली र प्रकृयाको स्थापनाका लागि आवश्यक पहलकदमी लिने समेत बताउनु भएको थियो ।
त्यस्तै समापनको अवसरमा औपचारिक सत्रको अध्यक्षता गरिरहनु भएका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष देवीदत्त आचार्यले लुम्बिनी प्रदेश समितिले यस परियोजनालाई आवश्यक समन्वय र सहकार्यका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यस तालिम कार्यक्रमको उद्येश्य बारे परियोजनाका राष्ट्रिय संयोजक किशोर रिजालले प्रकाश पार्नु भएको थियो । यसपछि सहभागीहरुलाई विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयका परामर्शदाता कामराजले प्रशिक्षण प्रदान गर्नुभएको थियो । यस तालिम कार्यक्रममा परियोजनाकी प्रदेश संयोजक विमला नेपाल तथा महासंघ लुम्बिनी प्रदेश कार्यालयकी प्रमुख गोमा पन्थीको समेत सहभागिता रहेको थियो ।