झुल्कँदै आशाका किरण

सफलता जीवन जिउने आधार हो । सफलता अधरमा मुस्कान ल्याउने आधार हो । जीवनमा रङ्गीन सपनाहरू सजाउने आधार पनि यही सफलता नै हो । सफलता आखिर सानै किन नहोस्, त्यसले दिने खुसी र सन्तुष्टि अमूल्य हुन्छ । अझ सामाजिक बन्धन र अवरोधलाई तोड्दै प्राप्त गरेको उपलब्धिले पार्ने प्रभाव त झनै पृथक् हुन्छ ।

नेपाली समाजमा आज पनि यस्तो स्थिति छ कि त्यहाँ कसैले कुनै नयाँ काम गर्न खोज्यो भने उसलाई अनेकतरहबाट असफल बनाउन खोजिन्छ । मानिसको अठोट त्यतिबेला दृढ हुन्छ, जुनबेला उसलाई अगाडि बढ्नबाट रोक्न खोजिन्छ । यस किसिमको प्रवृत्ति विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूले धेरैमात्रमा भोगिरहेका छन् ।

अपाङ्गता, त्यसमाथि महिला पनि हुनाले नेपाली समाजमा आज अपाङ्गता भएका महिलाहरूको स्थिति निकै नाजुक छ । दोहोरो सीमान्तीकरणका कारणले गर्दा आज धेरैजसो अपाङ्गता भएका महिलाहरू मूल प्रवाहमा आउन सकेका छैनन् । केही महिलाले त्यस्ता बन्धनलाई तोड्न सफल भए पनि स्थिति त्यति राम्रो भने हुनसकेको छैन । यहाँनेर म मेरो आफ्नै प्रसङ्गद्वारा केही कुरा प्रष्ट पार्न चाहन्छु ।

म एक सामान्य परिवारमा जन्मिएकी छोरी हुँ । म जन्मजात साङ्ग नै थिएँ । ममा कुनै पनि समस्या थिएन तर दिनहरू हामीले सोचेजसरी अगाडि बढ्न कहाँ सक्छ र ? एक दिनको कुरा हो, म करिब चार वर्षकी थिएँ, काठमाडौँस्थित सामाखुसीमा बाटो काटिरहँदा अचानक म सडक दुर्घटनामा पर्न पुगेँ । मैले मेरो खुट्टा गुमाउनु पर्‌यो । कलिलैमा खुट्टा गुमाउन पुग्दा मेरो बालमष्तिष्कमा कस्तो कुरा खेल्यो भन्ने कुरा त म राम्ररी सम्झन सक्दिँन तर यसले मेरो परिवारमा भने ठूलै चिन्ता निम्त्यायो भन्ने मलाई लाग्छ । यति हुँदाहुँदै पनि उहाँहरूले मलाई कहिल्यै फरक नजरले हेर्नु भएन । अरूलाई जस्तै मलाई पनि सधैँ सहयोग गर्दै जानुभयो । मेरा हरेक इच्छा र काममा मलाई साथ दिनुभयो र त म आज यस स्थितिमा छु ।

बाल्यकालमा मलाई आफ्नो खुट्टा नभए पनि निकै खुसी लाग्थ्यो । वैशाखीकै साहारा लिएर पनि म साथीहरूसँग दौडन सक्थेँ । वर्षा ऋतुमा विद्यालय जाँदा पानी जमेको बाटोहुँदै जानुपर्थ्यो । त्यसबेला मेरा साथीहरू इँटा खोज्दै हिलो पार गर्न खोज्थे तर म भने वैशाखिको सहाराले सजिलै हिलो पार गर्थेँ । कहिले त साथमा साना बहिनीहरूलाई बोकेरसमेत म हिलो पार गर्थे । म हरेक कुरामा साथीहरूको तुलनामा राम्रै थिएँ । त्यसकारणले मलाई आफूमा अपाङ्गता छ भन्ने सोच नै आउँदैनथ्यो । तर, समय बित्दै जाँदा समाजबाट अनेक कुराहरू सुन्न थालेँ । मेरो रूपलाई देखेर प्रशङ्सा गर्ने तर खुट्टा देख्नासाथ सहानुभूति दर्साउने व्यवहार हुनथाल्यो । यस्ताे व्यवहारले मभित्रको उर्जा र चञ्चलतालाई कम गराउँदै लग्यो ।

समाजले गर्ने व्यवहार र देखाउने सहानुभूतिले मलाई झन्‌ झन्‌ कमजोर बनाउन थाल्यो । आफ्नो अपाङ्गता देखेर आफैँलाई अप्ठ्यारो लाग्न थाल्यो । तैपनि मैले हरेश भने खाइँन । त्यसकारण मैले आफ्नो एस.एल.सी. परीक्षा पनि राम्रै अङ्क ल्याई प्रथम श्रेणीमा उत्तीर्ण गरेँ ।

इच्छा अनुसारै एचए (HA) पढेँ । एचएको अध्ययन सकेर केही समय एउटा क्लिनिकमा काम पनि गरेँ । काठमाडौँको एउटा कलेजमा शिक्षा शास्त्र सङ्काय अन्तर्गत स्वास्थ्य शिक्षा विषयमा स्नातक तहका लागि भर्ना भएँ । त्यहाँ मैले अनेक समस्या र चुनौतीको हुँदाहुँदै पनि पहिलो वर्ष पढेँ तर परीक्षाको नतिजामा मेरो प्राक्टिकलकाे मार्क्स आएन । खोज्दै जाँदा म एक शारीरिक अपाङ्गता भएकी व्यक्ति भएको र शारीरिक क्रियाकलापमा भाग लिन मैले नसक्ने शिक्षकको साँघुरो सोच र पाठ्यक्रममा पनि बन्देज रहेका कारण मेरो मार्क्स नआएको कुरा पत्ता लगाएँ । त्यसकारण मैले मेरो इच्छाहरूलाई मार्दै ग्रामीण विकास विषयमा स्नातक गरेँ ।

मेरो रुचि सानैदेखि खेलकुदमा थियो तर पनि शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले के के खेल खेल्न सक्छन् भन्ने कुरा मलाई पछिसम्म पनि थाहा भएन । संयोगवश कामविशेषले राष्ट्रिय अपाङ्ग महासङ्घको काठमाडाैँको भृकुटीमण्डपमा रहेको कार्यालयमा पुग्दा त्यहाँ ह्विलचियर बास्केटबल खेल्ने दिदीसँग भेट भयो । त्यहाँबाट नै मेरो खेल जीवनको आरम्भ भयो । खेलकुदमा सक्रिय हुन थालेपछि मैले अपाङ्गता क्षेत्रलाई पनि विस्तारै बुझ्दै गएँ र बिस्तारै यसै क्षेत्रमा लागेर काम गर्ने रहर मभित्र जाग्नथाल्यो ।

बास्केटबल खेल्दै गर्दा म बिस्तारै पावर लिफ्टिङतिर पनि आकर्षित हुनथालेँ । नेपाल पाराभारोत्तलन सङ्घका आदरणीय दाइहरूको प्रेरणा र हौसलाबाट मैले आफ्नो क्षमतालाई थप निखार्दै लग्नसकेँ । परिणामस्वरूप सन् २०१८ मा मैले दुई वटा गोल्ड मेडल हात पार्न सकेँ । गत अक्टोबरमा इन्डोनेसियामा अायोजित एसियाली पाराओलम्पिक गेममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेँ ।

Nirmala Bhandari in Powerlifting Exercise
तस्विर: लक्ष्मी प्रसाद ङाखुसी

अहिले म खेलकुदकै माध्यमबाट समाजमा जनचेतना जगाउने र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण गर्ने काममा सक्रिय छु । साथै, अपाङ्गता अधिकार र सवालका लागि पैरवी गर्ने र अभियानहरू चलाउने काममा पनि सक्रिय छु । कुनैबेला मलाई सहानुभूति दर्साउने मेरै आफ्ना नजिकका मानिसहरू आज मेरो कोठामा मेडलहरू झुन्डिएका देख्दा र मेरो खेल प्रदर्शन देख्दा अचम्मित छन् । उनीहरूको मप्रतिकाे दृ‌ष्टिकाेणमा परिवर्तन आएको छ । मेरो क्षमता र कलाको सम्मान गर्दै अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर युएन वुमन-नेपाल (UNWoman Nepal) ले नेपालका प्रेरक महिलामध्येमा मलाई पनि छानेको थियो, जुन मेरो लागि निकै ठूलो उपलब्धि हो ।

यी यस्ता उपलब्धि, जुन हेर्दा सामान्य नै किन नदेखियून्, यिनले मलाईमात्र होइन मेरो परिवारमा पनि खुसी ल्याएको छ । आज मैले मेरो यही खुसी अरूसँग साटेर अरूको मुहारमा पनि उत्साह भर्ने प्रयास गरिरहेकी छु । खेलकुदलाई नै माध्यम बनाएर नेपाली समाजमा व्याप्त अपाङ्गताप्रति राखिने साँघुरो सोचलाई हटाउन म अभियानकै रूपमा लागिरहेकी छु । यस अभियानले पक्कै पनि धेरैका मुहारमा हाँसो ल्याउन सक्छु भन्ने मैले आशा राखेकी छु ।

अपाङ्गता वरण गर्नु पर्ने प्रमुख कारणमध्ये सडक दुर्घटना पनि हो । सडक दुर्घटनाकै कारण बर्सेनि धेरै व्यक्तिले अपाङ्गता वरण गर्नु परेको छ । सडकको अस्तव्यस्तता होस् वा चालकको लापरबही, दुवै कारणले गर्दा हुने दुर्घटनाबाट कोही कसैले पनि अपाङ्गता वरण गर्नु नपरोस् भन्ने म चाहन्छु । यसै विषयमा आम जनमानसमा चेतना जगाउने मेरो ठूलो इच्छा छ । यस अघि पनि मैले यस विषयमा केही चेतनामूलक कार्यक्रमहरू गरिसकेकी छु । आगामी दिनहरूमा पनि यस किसिमका कार्यक्रमलाई अगाडि बढाउँदै जाने प्रतीज्ञा मेरो रहेको छ । यस किसिमका सकारात्मक सोच र चिन्तनले गर्दा नै आज ममा सकारात्मक आशाका किरण  झुल्कँदै अाएका अनुभव मैले गरेकी छु । म विश्वस्त छु कि पक्कै पनि एक दिन म आफूलाई एक सशक्त अभियन्ता र व्यावसायिक खेलाडीका रूपमा सबैसामु परिचित गराउने छु ।

यो त केवल मेरो सानो उदाहरणमात्र हो । यहाँ यस्तै आशाका किरणहरू अरूमा पनि  झुल्कँदै अाएका मैले अनुभव गरेकी छु । आशा छ पक्कै यी आशाका किरणले एक दिन नेपाली समाजमा झलमल्ल उज्यालो छर्नेछन् । समस्या र चुनौतीको रूपमा लिने गरिएको अपाङ्गतालाई अवसरको रूपमा प्रमाणित गर्ने छन् ।

(लेखक स्नातकोत्तर अध्ययनरत विद्यार्थी हुनुहुन्छ । साथै, युवाका सवालसँग सम्बन्धित अभियानहरूमा समेत सक्रिय हुनुहुन्छ ।)

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)