Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

गतिविधि तथा समाचार

December 11, 2019

मङ्सिर देखि फागुन २०७५ को अवधि मा महासङ्घले संचालन गरेका विभिन्न गतिविधिका समाचार र तस्विरहरू यस प्रकार छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार अनुगमन प्रशिक्षक प्रशिक्षण

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माइराइटको सहकार्यमा सातवटै प्रदेशका मानव अधिकार अनुगमन कार्यदललाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) सञ्चालन गर्‌यो ।

मङ्सिर ३ देखि ५ गतेसम्म सञ्चालन गरिएको र महासङ्घका महासचिव राजु बस्नेतले उद्घाटन गर्नु भएको कार्यक्रममा माइराइटका राष्ट्रिय संयोजक श्री शिव रायमाझीले सम्बोधन गर्नुभयो ।

 

group photo of participants of the MTOT training

प्रशिक्षणका क्रममा मानव अधिकार अनुगमन, मानव अधिकार के हो र यो कसरी आयो, मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र- १९४८, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, यूएनसीअारपीडीका सिफारिस, मानव अधिकार अनुगमन भनेको के हो, अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र यसका विशिष्टता, नेपालमा मानव अधिकारसम्बन्धी काम गर्ने संयन्त्र, मानव अधिकार उलङ्घन र उजुरी प्रक्रियाका बारेमा जानकारी गराइयो ।

त्यसैगरी, अपाङ्गतासम्बन्धी नीति, कानुन, नियम, निर्देशिकाहरूमा थप जानकारी (संविधानमा भएका व्यवस्था, अपाङ्गता अधिकार ऐन, समावेशी शिक्षा नीति, पहुँचसम्बन्धी निर्देशिका) अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार अनुगमन चेक लिष्ट, अनुगमनका क्रममा आइपर्ने समस्या, सूचना सङ्कलनका लागि अपानउनु पर्ने होसियारी, प्रमाण संकलन र सुरक्षासम्बन्धमा छलफल, समूहकार्य, सामुलेशन तथा प्रस्तुति तथा अभ्यास जस्ता कार्य गरिए ।

‘काउण्ट मी’ अभियानको औपचारिक सुरुवात

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको आयोजनामा मङ्सिर १५ गते “मलाई गणना गर, समावेश गर” अभियान औपचारिकरूपमा सुरु भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा अभियान सुरु गरिएको हो ।
नेपाल सरकारले वर्गीकरण गरेको अपाङ्गता भएका व्यक्तिहरूको ११ प्रकारलाई प्रतिनिधित्व गर्ने गरी काठमाडौँको भद्रकालीमा रहेको चौतारामा नेपालको नक्साभित्र ११ वटा मैनबत्ती बालेर अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

 

lighting of candle to inaugurate count me campaign

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीको अध्यक्षतामा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न वर्गका अपाङ्गता भएका युवाले मैन प्रज्वलन गरी अभियान सुरु गरेका हुन् ।

‘मानव पहिले’ कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर मङ्सिर १८ का दिन राष्ट्रिय अपाङ्ग महासङ्घले काठमाडाैँको घण्टाघर अगाडिको जेब्रा क्रसिङ्गमा मानव पहिला (Human First) ट्राफिक जागरण कार्यक्रम अायाेजना गर‌्यो ।
नेपालमा हरेक वर्ष औषत दुई हजार जनाको सडक दुर्घटनामा परेर मृत्यु हुनेगरेको छ भने हरेक वर्ष औषत झण्डै सात हजार जना सडक दुर्घटनामा परी घाइते हुनेगरेका छन् । सडक दुर्घटनाबाटै अधिकांश व्यक्ति अपाङ्गताको अवस्थामा बाँच्न बाध्य छन् ।

 

Human First Campaigners advocating for safety using plac cards

सडक दुर्घटनाका विभिन्न कारण हुनसक्छन तर सवारी चलाउँदा बाटो काट्दै गरेको मान्छेलाई मात्रै ध्यान दिनसकेमा पनि दुर्घटनामा पर्नबाट धेरै मानिसलाई जोगाउन सकिन्छ ।

सवारी दुर्घटनामा परेर आफूले सानै उमेरमा अपाङ्गता भएकाे व्यक्ति हुनुपरेकोले आफूजस्तै अवस्था अरूले व्यहोर्न नपरोस् भनेर आफू यस अभियानमा लागेको अभियानकी मुख्य अभियन्ता निर्मला भण्डारीले बताउनुभयो ।

सामाजिक सञ्जाल अभियान

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिहरूलाई गरिने बहिष्करण, विभेद र उपेक्षाविरूद्ध संसारभरि आवाज उठाउन र समाजमा अपाङ्गता भएका व्यक्तिका मागहरूका पक्षमा जनमत तयार गर्न १५ दिने #CountMeIncludeMe सामाजिक सञ्जाल अभियान सञ्चालन गर्‌यो।

२७औँ अपाङ्गता दिवसको अवसर पारेर सञ्चालन गरिएकाे अभियानको मुल उद्देश्य अपाङ्गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह समान अधिकार भएका व्यक्तिहरू हुन् र उनीहरूलाई जीवनका हरेक पक्षमा समान हैसियतका साथ गणना गरिनुपर्छ भन्ने हो ।

यस अभियानमा जोसुकैले पनि आफ्नो सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि) मा अपाङ्गतासम्बन्धी विभेदका वा सफलताका कथालाई पोस्ट गर्न सक्ने व्यवस्था थियो ।

पँहुचयुक्तता अवार्ड प्रदान

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले पहुँचयुक्तता अवार्ड प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय दिवस मुल समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा सञ्चालनमा रहेकाे सामुदायिक जनजागरण पुस्तकालयलाई अवार्ड प्रदान गर्नुभयो ।

जनजागरण पुस्तकालयले सबै संरचनालाई सबै किसिमका अपाङ्गता भएका व्यक्तिले समेत सहजरूपमा प्रयोग गर्न सक्ने बनाएर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा अवार्ड प्रदान गरिएको हो ।

समावेशी शिक्षासम्बन्धी कार्यशाला

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको समावेशी शिक्षासम्बन्धी दुई दिने कार्यशाला गोष्ठी प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएकाे छ ।

मङ्सिर २० र २१ गते काठमाडौंमा अायाेजित गाेष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विगतदेखि अपाङ्गता भएका व्यक्तिको शिक्षामा पहुँच अभिवृद्धिका लागि भए-गरेका कुराहरूको पुनरावलोकन गर्दै अब थप गर्नु पर्ने विषयवस्तुबारे सुझाव दिन सहभागीहरूसँग अनुरोध गर्नु भयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिहरूसरह एउटै पाठ्यक्रम र पद्धतिमार्फत शिक्षा प्रदान गर्न प्रयास गर्ने तर त्यसले समेट्न नसकेका समूहलाई विशेष व्यवस्था गरेर भए पनि सबैलाई शिक्षाको पहुँचमा ल्याउने हाल सरकारको नीति रहेको जानकारी दिनुभयो ।

 

Minister of Education addressing the inclusive education workshops

कार्यक्रमको उद्घाटन समारोहका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले आफूहरूले नेपाल सरकारलाई नै सघाइ रहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समन्वय एवं राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सीबीएम, ह्युमानिटि इन्क्लुजन र आरसीआरडी भक्तपुरसँगको साझेदारीमा यो कार्यक्रम आयोजना गरेको हो ।

उद्घाटन सत्रमा अनुसन्धानकर्ता सपना बस्नेत विष्ट, सांसदहरू प्रकाश पन्त र जीवन बुढालगायतले गोष्ठीको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

अपाङ्गतासम्बन्धी तथ्याङ्क प्रणालीको थालनी

अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित सबै प्रकारका तथ्याङ्क तथा जानकारी एकै ठाउँमा पहुँचयुक्त ढङ्गबाट उपलब्धत गराउने उद्देश्यले अपाङ्गतासम्बन्धी खुला तथ्याङ्क प्रणाली (पोर्टल) सुरु गरिएको छ ।
राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालले मङ्सिर २५ गते काठमाडाैँमा आयोजना गरेको कार्यक्रममा नेपाल अपाङ्गता पोर्टल को विमोचन गरिएको हो ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अबका दिनमा हिमालदेखि तराईसम्मका सबै अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र राज्यका सेवा-सुविधाहरूमा पहुँचको सुनिश्चितताका लागि वास्तविक तथ्याङ्कको आवश्यकता रहेको बताउनु भयो ।

 

Open Data Portal Launching ceremony.

कार्यक्रममा तथ्याङ्क विभागका उपमहानिर्देशक नवीललाल श्रेष्ठले यस प्रकारको पोर्टलले अपाङ्गतासम्बन्धी सबै जानकारी एकै स्थानमा उपलब्ध हुने साझा टोकरीको रुपमा कार्य गर्नेमा विश्वस्त भई २०७८ सालको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कमा पहुँच बढाउन यस पोर्टलले ध्यानाकर्षण गरेको बताउनुभयो ।

एसिया फाउन्डेसनको विकासका लागि तथ्याङ्क परियोजनाको सहकार्यमा यो पाेर्टल निर्माण भएको हो । यसको प्रयोगका लागि www.nepaldisabilityportal.org मा जान सकिन्छ ।

पहुँचयुक्तता परीक्षण प्रतिवेदन सार्वजनिक

पहुँचयुक्तता परीक्षण गर्दा काठमाडाैँ उपत्यकाभित्रका १५० वटा विभिन्न सार्वजनिक संरचना अपाङ्गता भएका व्यक्तिहरूका लागि पूर्णरूपमा पहुँचयुक्त नभएको पाइएका छन् । तीमध्ये १८ वटामात्र केहीमात्रामा पहुँचयुक्त पाइए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले काठमाडाैँ महानगरपालिकासँगको सहकार्य एवं सीबीएम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको साझेदारीमा गरिएको पहुँचयुक्तता परीक्षणपछि मङ्सिर २६ गते काठमाडाैँमा सार्वजनिक प्रतिवेदनमा यस्ताे अवस्था पाइएकाे हो ।
काठमाडाैँ महानगरपालिका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यको प्रमुख आथित्यमा सम्पन्न त्यस कार्यक्रममा महासङ्घद्वारा पहुँचयुक्तता प्रवर्द्धनका लागि तयार पारिएका अन्य प्रकाशनसमेत सार्वजनिक गरिए ।

 

NFDN representatives and guests launching acess audit report

त्यस अवसरमा मेयर शाक्यले पहुँचयुक्तता प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि सबैले साथ दिनु पर्ने बताउँदै अपाङ्गताका क्षेत्रमा गर्नु पर्ने थप कामको समीक्षा गरेर सबैखाले संस्था र व्यक्तिहरूको प्रतिनिधित्व गर्दै एकमुष्ठरूपमा प्रस्ताव गर्न महासङ्घलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी, सीबीएमका शौरब शर्मालगायतका वक्ताले पहुँचयुक्ततासम्बन्धी निर्देशिका जारी भएको ५ वर्ष बितिसक्दासमेत कार्यान्वयनको अवस्था नाजुक हुनु विडम्बना भएको भन्दै पहुँचयुक्तता परीक्षण प्रतिवेदनका सिफारिश कार्यान्वयनका लागि सबैले मिलेर काम गर्नु पर्ने अवस्था आएको बताउनुभयो ।

मुनिश्वर स्मृति दिवस मनाइयो

राष्ट्रिय अपाङ्ग महासङ्घले पुस १ गते महासङ्घका पूर्व अध्यक्ष मुनिश्वर पाण्डेको स्मृति दिवस मनाएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको वि.सं. २०५६ को महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित स्वर्गीय पाण्डे २०५९ मा भएको अर्को महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूका हकहित र अधिकारका लागि स्थापित महासङ्घलाई उच्च स्थानमा ल्याउने श्रेय मुनिश्वर पाण्डेलाई जाने जानकारहरू बताउँछन् ।

 

NFDN vice president offering her remembrance to Munishwor Pandey

राष्ट्रिय अपाङ्ग महासङ्घका सङ्घीय अध्यक्ष सुदर्शन सुवेदीले मुनिश्वर पाण्डे राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व अध्यक्षमात्र नभएर अपाङ्गता आन्दोलनलाई नयाँ उचाइमा पुर्‌याउन अथक र अविरल लागिरहेका कर्मशील योद्धा भएको बताउनुभयो ।

महासङ्घका सङ्घीय उपाध्यक्ष टीका दाहालले पनि मुनिश्वर पाण्डे अपाङ्गताको सवाललाई मानव अधिकारको सवाल बनाउन र अधिकारमुखी अवधारणालाई स्थापित गर्न सफल अधिकारकर्मी भएको र आफूहरू पनि उहाँकै चेलाचेली भएको बताउनुभयो ।

सीप साझेदारी कार्यशाला

महासङ्घले अपाङ्गता भएका र नभएका युवाबीच एक-अर्कासँग रहेका सीप, ज्ञान तथा रोजगारीका अवसरहरू साझेदारी गर्ने उद्देश्यसहित सीप साझेदारी कार्यशाला आयोजना गरेको छ ।

डीआरपिआई परियोजनाको सहयाेगमा पुस २ गते अायाेजित कार्यशालामा सहभागी ६० जना युवा सहभागीले रोजगारीका क्षेत्रमा आफ्ना सङ्घर्ष तथा सफलताका कथा सुनाए भने यसबाट रोजगारी प्रवर्द्धनका क्षेत्रमा नयाँ पहलकदमी सुरूभएको छ ।

 

 

समावेशी कार्यस्थल निर्माणमा अपाङ्गता भएका र नभएका व्यक्तिहरूबीच सञ्जाल बनाउनु ज्यादै अावश्यक हुने र यस्ता कार्यक्रमबाट विकास भएको चिनजानले कुनै पनि व्यक्तिको अपाङ्गतामा नभई उसमा भएको ज्ञान र सीपमा केन्द्रित हुन
मद्दत गर्छ ।

कार्यक्रममा मुख्य सहजकर्ता मानव संसाधन विषयका विज्ञ विशाल दाहाल रहनुभएको थियो भने महासङ्घका रोजगारीसम्बन्धी परियोजनाका संयोजक सागर प्रसाईँ र रोजगार समन्वय संयोजक किरणराज पौडेलले पनि आफ्नो अनुभव प्रस्तुत गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रियस्तरको अनुभव आदन-प्रदान

कुष्ठप्रभावित तथा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका समस्या तथा चुनौतीका साथै असल अभ्यासका प्रयासहरू राष्ट्रिय तथा दक्षिण एसियालीस्तरमा एक अर्कासंग आदान प्रदान गर्ने एक साझा थलो बनाउने उद्देश्यले काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय स्तरको अनुभव आदन प्रदान कार्यक्रम अायोजना गरियो ।

NFDN workplacement coordinator Kiran Raj Poudel presenting in the program

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय संस्था (DPI) को आयोजना तथा निपोन फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको समन्वयमा पुस ४ देखि ६ गतेसम्म चलेको कार्यक्रममा बङ्गलादेश तथा भारतकाका नेपालका अपाङ्गता क्षेत्रमा कृयाशील व्यक्ति एवं संस्थाका प्रतिनिधि गरी करिब ३०० जनाको सहभागिता रह्यो ।

कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको सवालको साझा माध्यमको रुपमा लिइएको यस कार्यक्रमलाई अपाङ्गता क्षेत्रमा भएको उदाहरणीय कार्यको लिन सकिन्छ ।

नेपालमा कुष्ठ प्रभावित व्यक्तिहरूको अवस्था तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, रोजगारी तथा अन्य अवस्था, नेपालका कानुनी व्यवस्थाका बारेमा नेपालका तर्फबाट राष्ट्रिय अपाङ्ग महासङ्घका प्रशासकीय व्यवस्थापक मनिष प्रसाईं, कुष्ठरोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. रवीन्द्र बास्कोटा, सांसद प्रकाश पन्थ, विश्व स्वास्थ्य सङ्घ अन्तर्गतको मानसिक स्वास्थ्यका सम्पर्क व्यक्ति डा. केदार मराहाथा) तथा इनेवलमेन्ट नेपालका व्यवस्थापक सवित्री दाहालले प्रस्तुति गर्नुभयो ।

बङ्गलादेशबाट प्रतिनिधित्व गर्नुभएकी सलमा महबुवले बङ्गलादेशमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र सरकारले गरेका व्यवस्थाका बारेमा जानकारी गराउनु भयो ।

 

NFDN president Shudarson Subedi giving his remarks during the program

डीपीआई (DPI) भारतका निर्देशक अरमान अलीले आफ्ना अनुभव सुनाउँदै अपाङ्गताका क्षेत्रमा सबै अपाङ्गता भएका व्यक्तिहरूको एकीकृत अधिकारको मर्म बुझ्नुपर्ने बताउनुभयो । उहाँले कुष्ठ प्रभावित तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य तथा अन्य आधारभूत क्षेत्रहरूमा पहुँचको कमी भएको बताउनुभयो ।

नेदरल्याण्ड लेप्रोसी रिलिफ नेपालका तर्फबाट उपासना रेग्मीले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि भएका विभिन्न कार्यक्रमबाट भएको सिकाइका बारेमा बताउनुभयो ।

कार्यक्रमको दोस्रो दिन अवलाेकनका लागि सबै सहभागी ललितपुरमा रहेको आनन्दवन अस्पताल पुग्दा भारत र बङ्गलादेशबाट आउनुभएका कुष्ठ प्रभावित व्यक्तिहरूले पनि आफ्ना अनुभव अस्पतालमा रहेका व्यक्तिहरूबीच आदन-प्रदान गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय संस्था (DPI) को कोषाध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष श्री सुर्दशन सुवेदीले संयोजन तथा सहजीकरण गर्नुभएको कार्यक्रमको अन्तिम दिन सहभागीहरूले कार्यक्रमबाट भएका सिकाइ एवं उपलब्धिका बारेमा जानकारी गराउनु भयो ।

प्रदेशस्तरीय रोजगार प्रवर्द्धन भेला

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी प्रवर्द्धनका लागि स्थानीय सरोकारवालाबीच संवाद सुरु होस् भन्ने उद्देश्यसहित राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले प्रदेश १ र गण्डकी प्रदेशमामा प्रदेशस्तरीय रोजगार प्रवर्द्धन भेला आयोजना गर्‌यो ।

 

Banner of  the workshop in Pokhara

गण्डकी प्रदेशको पोखरामा पुस ५ गते र प्रदेश १ को विराटनगरमा पुस ८ गते भएका भेलामा स्थानीय रोजगारदाता, अपाङ्गता भएका व्यक्तिहरू, सीप प्रदायक संस्थाका प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, सरकारी अधिकारी, पत्रकार तथा जनप्रतिनिधिको सहभागिता रह्यो ।
भेलामा अपाङ्गता भएका व्यक्तिहरूले आफूमा भएको योग्यता, सीप तथा अनुभव अन्य सहभागीलाई सुनाए भने रोजगारदाता तथा सीप प्रदायकहरूले आफ्नो संस्थामार्फत प्रदान हुँदै आएका सेवा र अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध अवसरका बारेमा जानकारी दिँदै अपाङ्गता भएका केही व्यक्तिलाई रोजगारीका अवसर प्रदान गर्ने प्रतिबद्धता पनि जनाए ।

दुवै ठाउँका भेलामा जनप्रतिनिधिहरू उपस्थित भएर आफ्नो उपमहानगरपालिकाको बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका केही कार्यक्रम छुट्याएको र आगमी दिनमा रोजगारी प्रवर्द्धनसहितका थप कार्यक्रम ल्याउँदै जाने जानकारी दिए ।
दुवै स्थानमा आयोजित डीअारपीआईसँगको सहकार्यमा सञ्चालन भएका हुन ।

निजामती सेवामा कोटा कटौतीको विरोध

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सङ्घीय निजामती सेवा ऐनमा अपाङ्गता भएका व्यक्तिहरूको आरक्षण प्रतिशतबाट र सेवा प्रवेश उमेरको हद घटाएर संसद्‌मा ल्याइएकाे विधेयकको विराेध गरेको छ ।

निजामती सेवा ऐनमा अपाङ्गता भएका व्यक्तिहरूको आरक्षण ५ प्रतिशत र सेवा प्रवेशकाे उमेरहद ४० वर्ष रहेकोमा प्रस्तावित विधेयकमा ती दुवैलाई घटाएर आरक्षण ३ प्रतिशत र उमेरहद ३५ वर्ष बनाइएको छ ।

 

NFDN delegates meeting member of parliament and handing over demand letter

महासङ्घले ऐनमा रहेका हालका व्यवस्था यथावत राख्न अाफ्ना सदस्य संस्थाका साथै राजनीतिक दलका अपाङ्गताको सवाल हेर्ने भातृ सङ्गठनसँगको सहकार्यमा माघ २९ गतेदेखि निरन्तर जनवकालत र सम्बन्धित निकाय र सरोकारवालामाथि शान्तिपूर्ण दवाव दिने काम गरिरहेको छ ।

यसक्रममा महासङ्घको नेतृत्वमा फागुन २ गते प्रतिनिधिसभाका सदस्यहरूलाई भेटेर अवस्थाका बारेमा जानकारी गराउँदै महासङ्घका मागमा गम्भीररूपले सोचेरमात्र निर्णय गर्न अनुरोध गरियो ।

फागुन ३ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी र प्रतिनिधिसभाका सदस्यहरूलाई भेटेर त्यस विषयमा ध्यानाकर्षण गराइयो ।

यसैगरी, फागुन ४ गते नेकपाका अध्यक्ष पुष्पकमल दहाल र कार्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई भेटेर लिखित मागसहित ध्यानाकर्षण गराइयो । साथै, प्रतिनिधिसभाका सबै २७५ सदस्यलाई मोबाइल सन्देश पनि
पठाइएको छ ।

फागुन ५ गते कार्य व्यवस्था समितिका सभापति र प्रतिनिधिसभाका अन्य सदस्यका साथै नेपाली काँग्रेसका सचेतकलाई भेटेर ध्यानकर्षणपत्र बुझाइयो।

अपाङ्गता समावेशी विकास तालिम

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले प्रदेश र सङ्घीयस्तरमा अपाङ्गताका क्षेत्रमा कृयाशील जनशक्तिलाई समावेशी अपाङ्गता विकाससम्बन्धी तालिम दिई अपाङ्गताको विषयमा उनीहरूलाई सशक्त गर्न अपाङ्गता समावेशी विकास तालिम अायोजना गरेको छ ।

एटलास एलाइन्स सँगको साझेदारीमा अायाेजित तालिममा अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका कृयाशील नेता तथा नर्वेजियन साझेदारी सदस्य संस्थाका प्रतिनिधिकाे सहभागिता रह्यो ।

 

NFDN province 6 president Bishnu Sharma giving his remarks during the program

तालिममा सङ्घीयस्तरबाट महासङ्घका उपाध्यक्ष टीका दाहाल, नेपाल नेत्रहीन सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बु तथा बौद्धिक अपाङ्गता अभिभावक महासङ्घका टीकाराम सापकोटाले प्रदेशस्तरबाट स्थानीय सहजकर्ताले सहजीकरण गर्नुभयो ।

प्रदेश १ को विराटनगरमा ५ डिसेम्बर, प्रदेश २ को जनकपुरमा ७ डिसेम्बर, प्रदेश ३ को भक्तपुरमा २९ नोभेम्बर, गण्डकी प्रदेशको पाेखरामा १ डिसेम्बर, प्रदेश ५ को बुटवलमा २५ डिसेम्बर, कर्णाली प्रदेशको सुर्खेतमा २५ डिसेम्बर, सुदूरपश्चिमकाे धनगढीमा २७ डिसेम्बर र काठमाडौँमा नर्वेजियन साझेदारी सदस्य संस्थाहरूलाई तालिम प्रदान गरियो । तालिमहरूमा १४७ पुरुष र ११० महिलाको सहभागिता रह्यो ।

अभिमुखीकरण तालिम

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सङ्घीय बोर्ड तथा प्रदेशका मुख्य पदाधिकारीहरूलाई लक्ष्य गरी सङ्घीय प्रणाली, राष्ट्रिय अपाङ्ग महासङ्घको नयाँ संरचना तथा विद्यमान अपाङ्गतासम्बन्धी कानुनी प्रावधान तथा नीतिगत व्यवस्थासम्बन्धमा एक दिने अभिमुखीकरण तालिम आयोजना गरियो ।
महासङ्घमा सञ्चालित एफएफओ नर्बे परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा महासङ्घका सङ्घीय बोर्डका सबै सदस्य तथा पदाधिकारी, प्रदेशका मुख्य पदाधिकारी तथा कर्मचारीको उपस्थिति रह्यो ।

 

Raju basnet, general secretary orienting  the participants

काठमाडाैमा मङ्सिर २ गते आयोजना गरिएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सङ्घीय प्रणालीका बारेमा प्रस्तुति गरियो ।
अन्तरक्रियात्मकरूपमा गरिएको कार्यक्रममा सहभागीका सङ्घीय प्रणालीसम्बन्धी जिज्ञासाको मन्त्रालयका प्रतिनिधिले जवाफ दिनुभयो ।

सीआरपीडी समितिको मन्तव्य तथा सिफारिश वितरण

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले यूएनसीआरपीडी समितिको समापन मन्तव्य र यसले प्रदान गरेका सिफारिससम्बन्धमा अन्तरक्रिया तथा अनुभव आदान-प्रदान कार्यक्रम गरियो ।

सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाबीच संयुक्त राष्ट्रसङ्घ “अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि” को सिफारिस कार्यान्वयनबारे अन्तरक्रिया गर्नु कार्यक्रमको मूल उद्देश्य हो ।
डीपीओडीको सहयोग तथा कोशिश नेपालको सहकार्यमा मङ्सिर १२ गते काठमाडौंमा अायाेजित कार्यक्रममा सीआरपीडीको आवधिक प्रतिवेदन प्रस्तुत गरियो ।

 

particpants listening to the program
dav

कार्यक्रममा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा तथा चौतर्फी विकासमा देखापरेका चुनौती र समाधानका उपायहरूमा यूएनसीआरपीडीको भूमिका इङ्कित गरी सुझाव पनि सङ्कलन गरियो ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले कार्यक्रम समापन गर्दै अबका सरकारका नीति, नियम, कार्यक्रम तथा बजेटमा समावेशी विकासलाई आत्मसात गर्दै अपाङ्गता भएका व्यक्तिहरूका हकहित संरक्षण र प्रवर्द्धन गर्नु पर्ने बताउनुभयो ।

यसैगरी, सात वटै प्रदेशमा पनि कार्यक्रम आयोजना गरी सीआरपीडी समितिको समापन मन्तव्य तथा सिफारिश सरोकारवालाबीच वितरण गरियो ।

महासङ्घको महाधिवेशन चैतमा

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको १९औं साधारणसभा तथा आठौँ महाधिवेशन यही चैत २५ र २६ गते प्रदेश १ को विराटनगरमा आयोजना हुनेभएको छ । पुस १ गते प्रदेश ३ को हेटौंडामा बसेको महासङ्घको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

महासङ्घको आगामी अधिवेशनमा ३३१ वटा सदस्य संस्थाबाट ६३० प्रतिनिधिको सहभागिता रहने छ । यही महाधिवेशनबाट आगामी ३ वर्षका लागि महासङ्घका अध्यक्षसहितका सम्पूर्ण सङ्घीय कार्यसमिति चयनसमेत हुनेछ ।

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search