साङ्केतिक भाषाको सरकारी मान्यता र त्यसको आवश्यकता

दीपावली शर्मा

साङ्केतिक भाषा आम मानसिकता अनुसार आवाजविहीन दृश्य भाषाको रूपमा परिचित होला तर आजको वैज्ञानिक तथा आविष्कारको युगमा अपाङ्गता भएका व्यक्तिहरूको बुझाई प्रस्ट छ कि साङ्केतिक भाषा सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारका लागि पहिलो भाषा हो, जुन बहिराहरूको दैनिक जीवन यापनमा सुन्ने र बोल्ने भाषासरह प्रयोग हुन्छ । यसमा हात र औँलाहरूको चाल, अनुहार र शरीरको हाउभाउले नै विभिन्न शब्दहरू अर्थ्याइन्छ । बहिरा व्यक्तिहरुको सिर्जनाको उपज यो भाषाले कालान्तरमा प्राविधिक रूप लिँदै विकास र परिमार्जन हुँदै आइरहेको छ ।

धेरैको बुझाइमा साङ्केतिक भाषा विश्वव्यापी भाषा हो, जुन हरेक देशमा एउटै हुन्छ भन्ने पाइन्छ तर त्यस्तो होइन । हामी कतिपयलाई यिनै प्रश्नहरुको जवाफ दिंदै आइरहेका हुन्छौ कि बोलिने र सुनिने भाषासरह साङ्केतिक भाषा पनि फरक-फरक देशमा फरक-फरक तरिकाबाट निर्माण भएका हुन्छन् । जस्तै: अमेरिकन साङ्केतिक भाषा, ब्रिटिस साङ्केतिक भाषा, इन्डियन साङ्केतिक भाषा, जापानिज साङ्केतिक भाषा आदि ।

विश्वका सयौं देशले आ-आफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका हुन्छन् । कुनै देशमा त्यस देशको भौगोलिक धरातलको कारण एउटै शब्दको पनि एउटा भन्दा बढी साङ्केतिक भाषा भए पनि देशव्यापी रूपमा सबै बहिराहरूले बझ्न सक्छन् । नेपालमा पनि भौगोलिक विविधताकै कारण केही शब्दको सांकेतिक भाषा एकभन्दा बढी प्रयोग हुने गरेको छ ।

नेपाली साङ्केतिक भाषा दोभाषे शिलु शर्माद्वारा लेखिएको “नेपाली साङ्केतिक भाषाको उद्भव, विकास र स्वरूप” शीर्षकको शोधपत्र अनुसार इसाको १६ औं शताब्दीदेखि युरोप र अमेरिकाबाट जन्म र विकास भएको साङ्केतिक भाषा त्यसपछि अफ्रिका, दक्षिण अमेरिका, अष्ट्रेलिया तथा एसियामा प्रवेश र प्रयोग भएको बुझिन्छ ।

नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालबाट सुरु भएको हो । २०४५ साल अघि बहिरा विद्यालयमा पूर्णरूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका ३ हजार ८०० शब्द अनुमोदन भइसकेका छन् र तीमध्ये आधा जति शब्दमात्र शब्दकोषमा समावेश (प्रकाशित) भएका छन् । बाँकी शब्द क्रमशः थपिंदै र अनुमोदन हुँदै जाने क्रम यथावतै छ ।

विश्वभरिका १३३ राष्ट्रका बहिरा महासंघलाई सदस्यता दिएको विश्व बहिरा महासंघले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा सरकारबाट मान्यता दिलाउन विश्वव्यापीरूपमै वकालत गर्दै आइरहेको छ । हालसम्म १२ देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरिसकेका छन् । ती देशमा अफगानिस्तान, क्यानडा, जर्मनी, हङकङ, भारत, न्यूजिल्याण्ड, नर्वे, लाटभिया, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, युक्रेन, युगोस्लाभिया रहेका छन् । अन्य देश त्यसका लागि सङ्घर्षरत रहेका छन् ।

नेपालमा पनि वर्षौँदेखि नेपाली साङ्केतिक भाषालाई कानुनी मान्यता प्राप्तिका लागि बहिराहरूका अधिकार प्राप्तिका लागि स्थापित स्थानीय बहिरा संघ तथा राष्ट्रिय बहिरा महासंघहरुमार्फत आवाज उठाउने काम हुँदै आएको छ । यसमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पनि साथ दिएको छ तर सरकारी निकायको ध्यान यसप्रति ध्यान जान सकेको छैन । जसले गर्दा भाषा र सञ्चारको कठिनाइकै कारणले अपाङ्गता भएका व्यक्तिहरूको दर्जा पाएका बहिरा व्यक्तिहरू राज्यका विभिन्न अङ्गहरूमा सक्रियरूपमा सहभागी हुन सकिरहेका छैनन् । फलस्वरूप बहिरा नागरिक आफ्ना अधिकार प्राप्तिका लागि केही सीमित अन्तर्राष्ट्रिय दातृ निकायहरूको मात्र मुख ताक्नुपर्ने लज्जास्पद परिस्थितिबाट गुज्रिइरहन बाध्य छन् ।

नेपाली साङ्केतिक भाषालाई कानुनी रूपमै आधिकारिक मान्यता प्राप्तिका लागि बहिराहरूको लडाइँ यथावतै छ । तर, यो लडाइँमा सम्पूर्ण अपाङ्गता भएका तथा अपाङ्गतासँग निकट अन्य व्यक्ति एवं सङ्घ संस्थाहरुको थप साथ र सहयोगबिना अगाडि बढ्न मुस्किल पर्ने भएकाले सबैको सहयोगको निरन्तर आवश्यकता परिरहने छ ।