पहिलो अपेक्षित परिणाम : गरिबी घटाउने र काम र रोजगारीको अवसरलाई बलियो बनाउने
आगामी १० वर्षमा गरिबीको अवस्थामा रहेका अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको गरिबी हटाउन पर्याप्त काम र त्यसमा प्रगति हुनैपर्छ । समान पहुँच नभएका कारण अपाङ्गता भएका व्यक्तिहरूले श्रम बजारबाट फाइदा पाउन सकेका छैनन् । अपाङ्गता नभएका व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूको आफैं कमाउने खालका आर्थिक गतिविधिहरूमा सहभागिता सारै थोरै छ । शिक्षा, तालिम, राम्रो काम र त्यो कामलाई कायम राखिरहने सहयोगहरूले गरिबी कम गर्न ठूलो मद्दत गर्छ । तसर्थ, जो काम गर्न सक्छ वा चाहन्छ, उसलाई पर्याप्त संरक्षण र सहयोगी सामग्री तथा उपकरणहरूमार्फत पर्याप्त सहयोग गरिनुपर्छ । त्यसका लागि श्रम बजार चाहिँ अपाङ्गता भएका व्यक्तिहरूका लागि मैत्रीपूर्ण र आवश्यकता अनुसार उनीहरूलाई उपयुक्त वातावरण दिन सक्ने हुनुपर्छ । अपाङ्गता भएका व्यक्ति र तिनका परिवारलाई गरिबीबाट मुक्त गर्दा देशको समावेशी र दिगो विकासलाई सघाउ पुग्छ ।
प्रगति मापन गर्ने सूचक
लक्ष्यहरूमा भएको प्रगतिलाई मापन गर्न मुख्य र सहायक गरी दुई प्रकारका सूचक निर्धारण गरिएको छ ।
मुख्य सूचक
१.१ विश्व बैंकले अध्यावधिक गरे अनुसार अन्य व्यक्तिको तुलनामा अन्तर्राष्ट्रिय गरिबीको रेखामुनि रहेका र दिनको १.२५ डलरभन्दा कम खर्चमा जीविका चलाइरहेका अपाङ्गता भएका व्यक्तिहरूको अनुपात ।
१.२ अन्य व्यक्तिको तुलनामा रोजगारीमा अपाङ्ता भएका व्यक्तिहरूको सहभागिताको अनुपात ।
१.३ अन्य व्यक्तिको तुलनामा सरकारले लगानी गरेर सञ्चालन गरेका व्यावसायिक तालिम र रोजगारी प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताको अनुपात ।
सहायक सूचक
१.४ देशभित्र गरिबीको रेखामुनि रहेर जीवनयापन गरिरहेका अपाङ्गता भएका व्यक्तिहरूको अनुपात ।
आगामी १० वर्षमा प्राप्त गरिने लक्ष्य
लक्ष्य १. (क) : अपाङ्गता भएका व्यक्तिहरूलाई चरम गरिबीको अवस्थाबाट मुक्त गर्ने ।
लक्ष्य १. (ख) : काम गर्ने उमेर भएका, काम गर्न चाहने वा सक्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि काम र रोजगारी वृद्धि गर्ने ।
लक्ष्य १. (ग) : सरकारले लगानी गर्ने व्यावसायिक तालिम र अन्य रोजगारीमा सहयोग पुग्नेखालका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउने ।