धारा २७ : काम, रोजगारी वा जागिर, स्वरोजगारी गर्न पाउने
अन्य व्यक्तिसरह नै अपाङ्गता भएका व्यक्तिहरूको पनि काम गरेर खान पाउने अधिकार छ । यस अन्तर्गतः
- श्रम बजारमा आफूलाई उपयुक्त लागेको र स्वतन्त्ररूपमा मनपरेको काम रोजेर गर्न पाउने, र
- खुला, समानरूपमा समावेशी हुनसक्ने र पहुँचयुक्त वातावरणमा काम गर्न पाउने अधिकारसमेत पर्छ ।
यसबाहेक देशहरूले अपाङ्गता भएका व्यक्ति र काम गर्ने क्रममा अपाङ्गता भएका व्यक्ति दुवैको काम गरेर खान पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक कानुनहरू समेत बनाएर तल उल्लेखित कामहरू गर्नुपर्छः
- कानुन बनाएर अपाङ्गता भएका व्यक्तिलाई समान व्यवहार गर्ने र सम्मानित काममा लगाएको सुनिश्चित गर्ने,
- नियुक्ति, सरुवा, बढुवा, वृत्तिविकास, तलब तथा सुविधा आदिमा अपाङ्गताका आधारमा गरिने भेदभावको अभ्यास र व्यवहारलाई कानुन बनाएर रोक्ने,
- अपाङ्गता भएका व्यक्तिहरूको समान कामका लागि समान ज्याला पाउने, सुरक्षित ठाउँमा काम गर्न पाउने, दुराचार र दुर्व्यवहारबाट सुरक्षा पाउने, गुनासाहरूको सुनुवाइ हुने र काम गर्ने ठाउँ अपाङ्गतामैत्री हुने अधिकार कानुन र नीति बनाएर निश्चित गर्ने,
- अरू व्यक्तिहरूसरह नै मजदुर संघ/संगठनमा आबद्ध हुने अधिकार अपाङ्गता भएका व्यक्तिहरूको पनि रहने निश्चित गरिनुपर्छ ।
- अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो कामसँग सम्बन्धित कार्यक्रम र तालिमहरूमा जान र सक्रियरूपमा सहभागी हुन पाउने कुराको निश्चित हुनुपर्छ ।
- अपाङ्गता भएका व्यक्तिहरूका लागि काम खोज्ने, काम पाउने, काममा बहाल रहने, काममा फर्कनेलगायत श्रम बजारमा अन्य अवसरहरू खोज्ने कुरामा मद्दत गर्ने,
- अपाङ्गता भएका व्यक्तिलाई आफैं व्यवसाय सुरु गर्न र आवश्यक मद्दत गर्ने,
- अपाङ्गता भएका कामदारलाई सरकारी कार्यालयहरू र सेवाहरूमा काम दिने,
- निजी कम्पनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई जागिर दिन लगाउने र त्यसका लागि आवश्यक मद्दत गर्ने,
- काम गर्ने ठाउँहरू अपाङ्गता भएका व्यक्तिहरूका निमित्त उपयुक्त र मैत्रीपूर्ण भएको सुनिश्चित गर्ने,
- रोजगारदाताहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई काममा मौका दिनका लागि उत्साहित गर्ने खालका योजना, नीति र कार्यक्रमहरू लागू गर्ने,
- देशहरूले बिनाज्याला अपाङ्गता भएका व्यक्तिलाई दास वा बँधुवा बनाएर काम लगाइने छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ र यस्तो कार्यलाई कानुन बनाएरै रोक्नुपर्छ ।