राष्ट्रिय अपाङ्ग महासङ्घको वकालत र पैरवीले यूएनडीपी सुदूरपश्चिम कार्यालयको पहुँचयुक्ततामा आएको सुधार
नेपालमा समावेशिता र पहुँचयुक्तता प्रवर्द्धनमा गैर सरकारी संस्थाहरूले उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेका छन् । त्यसैमध्यको एक हो यूएनडीपी नेपाल । यसले सुदूरपश्चिम प्रदेशमा समेत कार्यालय स्थापना गरेर लामो समयदेखि सुदूरपश्चिम प्रदेशको विकासमा निरन्तर योगदान दिँदै आएको छ ।
सामाजिक समावेशिता, पहुँचयुक्ततालगायतका सामाजिक विषयहरूमा निरन्तर काम गर्दै आएको यस संस्थाको आफ्नै कार्यालय भने पहुँचयुक्त बन्न सकेको थिएन । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालयको टोली त्यहाँ पुग्दा यस्तो पाइएको हो ।
प्रदेशमा सञ्चालित “हामीलाई पनि समावेस गर” परियोजनाको दातृ निकायहरूसँग छलफल गर्ने क्रियाकलाप अन्तर्गत महासंघको प्रदेश कार्यालयको त्यो टोलीले सन् २०२३ अक्टोवरमा कैलालीको धनगढीमा रहेको यूएनडीपीको कार्यालय भ्रमण गरेको थियो । त्यसक्रममा यूएनडीपीको कार्यालय सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त नभएको भन्दै आवश्यक सुधार गर्न सुझाव दिएको थियो ।
निजी घर भाडामा लिएर कार्यालय संचालन गरिएको हुँदा कार्यालय पहुँचयुक्त हुन नसकेको जानकारी त्यस कार्यालयका प्रमुख वैजन्ती गिरीले दिनुभयो । उहाँले कार्यालयको पुनर्निर्माण गरी पहुँचयुक्ततामा सुधार गर्न खोजिएको तर पर्याप्त बजेट नहुँदा समस्या समाधान हुन नसकेको जानकारी दिनुभयो ।
कार्यालयको भौतिक संरचना पुनर्निर्माणका लागि यथाशीघ्र बजेट माग गर्ने र कार्यालयको पहुँचयुक्ततामा आवश्यक सुधार गर्ने आश्वासन दिनुभयो । आफ्नो प्रतिबद्धता अनुरूप उहाँले यूएनडीपीको केन्द्रीय कार्यालयसँग आवश्यक बजेट माग गर्नुभयो र सन् २०२४ जनवरीको दोस्रो सातासम्ममा कार्यालयको पहुँचयुक्तता सुधारको कार्य सम्पन्न भयो ।
यसरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश र “हामीलाई पनि समावेश गर” परियोजनाको संयुक्त पहल र पैरवीमा यूएनडीपी सुदूरपश्चिम प्रदेश कार्यालयको पहुँचयुक्ततामा सुधार हुनपुगेको छ । हाल यस कार्यालयमा पहुँचयुक्तताको अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निर्माण गरिएको र्याम्प, ट्वाइलेटलगायत अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै सवारी साधन पार्किङ्ग स्थल र आकस्मिक सभा क्षेत्रसमेत निर्माण गरिएका छन् ।
- नेपाली र अंग्रेजी दुवै भाषामा रहेको प्रकाशित प्रति डाउनलोड गर्न तलको लिंकमा जानुहोस् ।
- Advocacy Leads to Improved Accessibility at UNDP Office in Sudurpaschim
- Advocacy Leads to Improved Accessibility at UNDP Office in Sudurpaschim-Nepali Version