शुरुवात म आफैँबाट गर्छु !
प्रेमबहादुर गुरुङ भन्नुहुन्छ- “ मैले नगरी कस्ले गर्ने र अहिले नगरी कहिले गर्ने ? त्यसैले राम्रो कामको शुरुवात म आफैँबाट गर्नु पर्छ भन्ने मलाई लाग्छ । मैले गरेको काम अरूलाई मनपर्यो भने पो उनीहरूले पनि त्यही गर्न सक्छन् । राम्रो काम गर्यो भने पो अरूलाई बुझाउन सकिन्छ । त्यसपछि अरूलाई मैले गरेको परिवर्तनबारे थाहा हुन्छ र त्यही कुराको आवश्यक्ताबारे थाहा पाउँछन् र सिको गर्न पनि सक्छन् ।”
कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ३ निवासी ३० वर्षीय प्रेमबहादुर शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ हाल बाब, आमा, श्रीमती र २ छोरा छोरीसँग मादीमै बस्दै आउनुभएको छ । उहाँले १०+२ सम्म अध्यन गर्नुभएको छ । परीक्षामा लेख्नका लागि सहयोगी राख्न पाउने व्यवस्थाबारे जानकारी नभएको हुनाले स्नातक तहमा भर्नामात्र हुनुभएको रहेछ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले सीबीएम ग्लोबलसँगको सहकार्यमा सञ्चालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत मादी गाउँपालिकालाई कार्यक्षेत्रको रूपमा छनौट गरेको थियो । यसै परियोजना अन्तर्गत सञ्चालित अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास तालिमका लागि मादी गाउँपालिकाबाट प्रेमबहादुर गुरुङ छानिनु भयो । यसपछि उहाँ यस परियोजनामा जोडिनुभयो ।
उहाँ भन्नुहुन्छ- “म कुनै पनि संघ संस्थामा आबद्ध थिइन । मलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने संस्थाबारे जानकारी पनि थिएन । एक दिन एक्कासी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशबाट फोन आयो । फोन गर्नेले मेरोबारेमा जानकारी लिनुभयो । फेरि अर्को दिन फोन गरेर ५ दिने क्षमता विकास तालिममा सहभागिताको लागि बोलाउनुभयो । म खुसी भएर तालिममा सहभागी भएँ । अहिलेसम्म मैले यस्ता तालिम लिएको थिइन । मैले यस तालिमबाट अपाङ्गताको प्रकार, अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, अपाङ्गता भएका व्यक्तिहरूसम्बन्धी ऐन कानुन, समूह, संगठनको महत्व जस्ता धेरै कुरा सिकेँ ।”
त्यो ५ दिने तालिमपछि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको समन्वय तथा सहजीकरणमा उहाँ गाउँपालिकाको कार्यालयमा गएर गाउँपालिकाका उपाध्यक्ष र सामाजिक शाखा प्रमुखसँग भेटघाट गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क माग्नु हुँदा पूरै तथ्याङ्क नभएको र आगामी दिनमा सबै वडामा अपाङ्गता परिचयपत्रको शिविर सञ्चालन गरी तथ्याङ्क सङ्कलन गर्ने योजना रहेको जानकारी पाउनुभयो ।
भौगोलिक हिसाबले सबै वडामा अपाङ्गता भएका व्यक्तिहरूसँग सम्पर्क गर्न केही कठिन भएपछि उहाँको वडामा अपाङ्गता समन्वय समिति गठन गरी आगामी वर्षका लागि बजेट माग गरियो । गाउँपालिका र उहाँको वडा एकै ठाउँमा भएको हुनाले उहाँलाई गाउँपालिकामा समन्वय गर्न सहज भयो । साथै, अपाङ्गता सञ्जाल मादी गठन गरी उपाध्यक्षको रूपमा उहाँले काम गर्दै आउनुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले पालिकास्तरीय स्थानीय अपाङ्गता समन्वय समितिमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व गराउन उहाँलगायत अरू ३ जना फरक प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गराउन सफल भयो । अहिले मादी गाउँपालिकाका प्रत्येक वडामा अपाङ्गता समन्वय समिति गठन भई तिनले वडाले विनियोजन गरेका बजेट तथा कार्यक्रम सञ्चालन पनि गरिरहेका छन् ।
प्रेमबहादुर गुरुङले त्यसपछि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त तथा पहुँचयुक्त परीक्षण विषयमा तालिम लिने मौका पाउनुभयो । तालिमपछि उहाँले मादी गाउँपालिकामा स्थानीय पहुँच परीक्षण वकालत समूह (LAAT) गठन गरी त्यसको संयोजकको रूपमा काम गर्ने मौका पाउनुभयो । फलस्वरूप उहाँ र अन्य LAAT समूहले गाउँपालिकाको कार्यालयमा गएर अब बन्ने संरचनाहरू पहुँचयुक्त बनाउनका लागि गाउँपालिकाका अध्यक्षसँग छलफल गरी प्रतिबद्धता पनि मागे । उहाँहरूले अन्य कार्यालयमा पनि पुगेर पहुँचयुक्त संरचनासम्बन्धी वकालत गर्नुभयो ।
उहाँ भन्नुहुन्छ – “मेरो इच्छा पहुँचयुक्त होमस्टे व्यवसाय गर्ने हो । त्यसैले मैले आफ्नै लगानीमा मेरो घरमै पहुँचयुक्त शौचालय निर्माण गरें । साथै, मूल सडकबाट आँगनसम्मको सिँढी बाटो फालेर ह्विलचयर सहजै जाने बाटो बनाउँदै छु ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको समन्वय र सहजीकरणमा उहाँले गण्डकी प्रदेश सरकारको आयोजनामा ३ महिने होमस्टे सञ्चालनसम्बन्धी तालिम लिने मौका पाउनुभयो । अहिले सानो व्यवसाय पनि सञ्चालन गरिरहनु भएको छ । गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रममा खाजा, खाना र वासको व्यवस्थापनका लागि उहाँले पनि जिम्मेवारी पाउने गर्नुभएको छ । यसबाट आम्दानी पनि बढ्न थालेको उहाँको भनाइ छ ।
स्थानीय पहुँच परीक्षण वकालत समूह मादीले बन्दै गरेका नयाँ संरचनाहरू पहुँचयुक्त बनाउन बेलाबेलामा वकालत गर्ने गरेका छन् । साथै, पालिकाले नयाँ संरचनाहरू पनि पहुँचयुक्त बनाउँदै छन् ।
त्यस्तैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको समन्वयमा उहाँले राष्ट्रिय जनगणना २०७८ मा गणकको रूपमा काम गर्न पनि पाउनुभयो । भौगोलिक हिसाबले धेरै कठिनाइ भए पनि घरघरमा गएर तथ्याङ्क लिने क्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग पनि प्रत्यक्ष भेटघाट भयो । यसबाट उहाँलाई अपाङ्गता भएका व्यक्तिहरूको संगठनलाई विस्तार गर्ने आधार मिल्यो ।
अन्त्यमा उहाँ भन्नुहुन्छ – “महासंघले मलाई अपाङ्गता भएका व्यक्तिहरूको सवालमा वकालत गर्न सिकायो, सङ्गठित हुन सिकायो, व्यवसायी पनि बनाइदियो । अहिले रोजगार पनि गराएको छ । महासंघसँग जोडिन नपाएको भए म गाउँमा बाबा-आमासँग आश्रय लिएर बसेको हुनेथिएँ । धेरै जनासँग चिनजान बढेको छ । पालिकाले विभिन्न कार्यक्रममा बोलाउने गरेको छ । त्यसैले महासंघलाई धेरै धेरै धन्यवाद !”
- पिडीएफ फर्म्याटमा रहेको नेपाली र अंग्रेजी भाषामा डाउनलोड गर्न तलको लिंकमा जानुहोस् ।
- Prem’s Initiative Brings Change and Hope
- Prem’s Initiative Brings Change and Hope-Nepali Version