अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
२०७७ असोज ८ गते
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
भर्चुअल विधिबाट संचालित उक्त कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे महासंघका वरिष्ठ उपाध्यक्ष श्री रमेश लामाले प्रकाश पार्नु भएको थियो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ का बारेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप सचिव शशिधर घिमिरे ज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको खुल्ला छलफलमा विभिन्न क्षेत्रका सहभागीहरुबाट प्रतिनिधिमूलक जिज्ञासाहरु संकलन गरिएको थियो । सहभागीहरुले नियमावलीका यथासिघ्र र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । ऐनमा सुनिश्चित भएका कुराहरु नियमावलीमा छुट भएका छन ऐनका भावना अनुसार ई नियमावली परिमार्जनका लागि मन्त्रालयलाई अनुरोध गरिएको छ । अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ताको निरन्तरताका लागि देखिएको जटिलताका बिषयमा समेत सहभागीले मन्त्रालयको ध्यानकर्षण गराएका थिए । आफ्नो मन्तव्य राख्ने क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री याम कुमारी खतिवडा ज्यूले अपाङ्गता भएका व्यक्तिको यस नियमावली लामो समयको अथक प्रयास पछि प्राप्त भएको र यसमा यहाँहरुको सुझाव अनुसार पनि परिमार्जन गर्दै लैजान सक्ने आश्वासन दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूले सहभागीहरुको सवालहरुलाई पनि सम्बोधन गर्नुहुदै अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका सवालहरु प्रति मन्त्रालय जानकार रहेको र महासंघसँग निरन्तर समन्वयमा नै रहेको बताउनुहुदै अपाङ्गता भएका व्यक्तिहरुको हित प्रवर्धनका लागि आवश्यक ऐन, कानुन संशोधन गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । साथै माननीय मन्त्री ज्यूले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धी विभिन्न पालिकास्तरबाट आएका सवालप्रति पनि ध्यानाकर्षण भएको बताउनु भयो । महासंघका अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूले कार्यक्रमको औपचारिक समापन कार्य गर्नुहुदै अपाङ्गता मैत्री ऐन, नियम र निमयमावलीको प्रभावकारी कार्यान्वयन तथा नेपाल सरकारका सेवा तथा सुविधाहरुको पहुँचको लागि माननीय मन्त्री ज्यूको ध्यानाकर्षण गराउनु भयो र अपाङ्गताको सवालमा महासंघ मन्त्रालय र नेपाल सरकारसँग समन्वय र सहकार्य गर्न सदा तत्पर गरेको बताउनुहुदै सहभागी हुनु भएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रमको संचालन महासंघका महासचिव श्री राजु बस्नेत ज्यूले गर्नुभएको थियो ।