पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु!
२०७७ साल पुष २९ (जनवरी १३, २०२०)
अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थामा सकृय प्रतिनिधीका लागि बिराटनगर र सुर्खेतमा बुधवार देखि पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु भएको छ ।
प्रदेश-१ को राजधानी बिराटनगरमा सञ्चालित उद्घाटन समारोहमा बोल्दै सामाजिक विकाश मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्किले आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटबाट अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन गर्न सुरु गरिसकिएको बताउनु भयो। प्रदेश सरकारले अपाङ्गता रोकथाम र पुनर्स्थापना सम्बन्धी नीति बनाउन लागेको बताउँदै स्थानीय सरकारसंग मिलेर सबै पालिकामा लक्षित समूहका लागि काम सुरु गरिएको समेत जानकारी गराउनु भयो ।
त्यसैगरी सुर्खेतमा सन्चालित तालिम कार्यक्रममा महासंघका संघीय अध्यक्ष मित्रलाल शर्माले उद्घघाटन गर्नु भएको छ । उद्घघाटन पश्चात आफ्ना भनाई राख्दै उहाँले तालिम लिइसकेपछि यहाँका सहभागीहरुले गाउँमा अभियानकर्ताको रूपमा काम गर्नुपर्ने सुझाव दिनु भयो ।
अध्यक्ष शर्माले अपाङ्गता भएका व्यक्तिका लागि गएका २७ वर्षसम्म लगातार लडाईं गरेपनि राज्यले उनीहरूको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै यो परिस्थितीमा हामी पनि सक्षम भई अघि बढ्न जरुरी रहेको कुरा बताउनु भयो ।
उक्त कार्यक्रम महासंघले सीबीएमसंगको साझेदारीमा सञ्चालन गरिरहेको “हामीलाई पनि समावेश गर” परियोजना अन्तरगत आयोजना गरिएको हो ।
तालिम कार्यक्रम २०७७ माघ ४ गते सम्म सञ्चालन हुनेछ । यसमा दश प्रकारका अपाङ्गता भएका ११५ भन्दा बढी व्यक्ति र उनीहरूका अविभावकहरू सहभागी हुनेछन् ।
अपाङ्गता भएका व्यक्तिको क्षमता विकाशका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति तथा कानूनहरू, पहुँचयुक्तता र न्यायमा पहुँच, नेतृत्व विकाश, लैङ्गिक समानता र अन्तरक्षेदीय सवालहरू जस्ता विषय समेटी तालिम सञ्चालन गरिनेछ ।