आत्मनिर्भतातर्फ उन्मुख श्यामलाल

लेख

दामोदर रिजाल

Damodar Rijal

मोरङ जिल्लाको बयरवन– १, तल्लो हरकपुरका श्यामलाल खवास शारीरिकरूपमा अपाङ्‍गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ यतिबेला सफल व्यवसायीका परिचित हुनुभएको छ । श्रीमती र छोराछोरीसहित उहाँको छ जनाको परिवार छ । त्यो परिवारको आम्दानीको मुख्य स्रोत भनेको उहाँकै पेशा हो ।

उहाँको घर अगाडि सानो घुम्ती पसल छ । त्यहाँ सामान झकिझकाउ छन् । उहाँ साइकल मर्मतको काम गर्नुहुन्छ । साइकल मर्मत मुख्य पेशा भए पनि उहाँ बहुप्रतिभाशाली हुनुहुन्छ । माटा र सिमेन्टका आकर्षक मूर्ति बनाउने, पेन्टिङ गर्नेलगायतका काममा उहाँ अब्बल मानिनुहुन्छ । मूर्ति प्रतिगोटा दुई हजार रुपियाँसम्ममा बिक्री हुने र ब्यानर लेख्ने काममा पनि स्थानीयस्तरमा आफूलाई बोलाउने गरेको श्यामलालले जानकारी दिनुभएको छ । पूर्वाञ्‍चलका विभिन्न ठाउँमा भएका हस्तकला प्रदर्शनीमा पनि उहाँले पटक पटक प्रथम पुरस्कार तथा प्रमाणपत्रहरू हात पार्नुभएको छ । उहाँको घरमा ती प्रमाणपत्र लाइन मिलाएर राखिएको देख्न सकिन्छ ।

श्यामलालको आफ्नो सानो घरमात्र छ, अन्य जग्गा जमिन छैन । दुई वटा बाख्रा पाल्नुभएको छ उहाँहरूले । सात महिनायतामात्र साइकल मर्मतको पसल सुरु गर्नुभएका श्यामलाल पहिले मूर्ति बनाएर बिक्री गरेर गुजारा टार्ने गर्नुहुन्थ्यो । साइकल मर्मतसम्बन्धी सम्पूर्ण काम राम्रोसँग गर्न जान्ने उहाँलाई दैनिक कामले भ्याइ नभ्यार्इ हुन्छ । लठ्ठीको साहाराले मात्र हिडडुल गर्न सक्ने श्यामलालको दैनिक आम्दानी ५०० रुपियाँसम्म हुनेगरेको छ । विभिन्न समूहमा गरी मासिक ६०० रुपियाँ बचत गर्नुहुन्छ ।

राष्ट्रिय अपाङ्‍ग महासङ्घ नेपालबाट व्यवसाय सञ्‍चालनका लागि १५ हजार रुपियाँ सहयोग पाएपछि उहाँको व्यवसायले गति लिनथालेको हो । दैनिक आम्दानीबाट खान लाउन पुगे पनि साइकल मर्मतका सामग्रीहरू पर्याप्त खरिद गर्न नसक्दा उहाँले कतिपय ग्राहकलाई फिर्ता पठाउने गर्नुपरेको थियो । सम्पूर्ण सामान आफैंसँग भएपछि उहाँका ग्राहकलाई अन्य पसलमा पठाउनु नपर्ने अवस्था सिर्जना भएको छ । उहाँ गर्वका साथ भन्नुहुन्छ– “अपाङ्‍गता भएका व्यक्तिहरूको समूह बयरवनमा आबद्ध भएकै कारण समूहको सिफारिसमा महासङ्घका तर्फबाट मैले आर्थिक सहयोग प्राप्त गरें । यो मेरा लागि खुशीको कुरामात्र होइन, यसले अझ दिलोज्यान दिएर काम गर्ने हौसला र प्रेरणासमेत मिलेको छ ।”

उहाँ आफू जस्तै व्यवसाय गर्न चाहने तर आर्थिक अभावका कारण समस्या व्यहोरिरहेका ग्रामीण क्षेत्रमा रहेका अन्य अपाङ्‍गता भएका व्यक्तिहरूलाई पनि महासङ्घले सहयोग गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्ने धारण व्यक्त गर्नुहुन्छ ।

शारीरिकरूपमा अपाङ्‍गता भएका र आत्मनिर्भर श्यामलाल खवास अपाङ्‍गतालाई समस्याको रूपमा होइन अवसरको रूपमा लिनुपर्छ भन्ने उदाहरण हुनुहुन्छ । अपाङ्‍गता भएका व्यक्तिहरूको क्षमतामा विश्‍वास नगर्ने तथा पारिवारिक र सामाजिक बोझका रूपमा अपाङ्‍गतालाई हेर्ने हाम्रो परम्परागत परिपाटीलाई अवसर पाए उनीहरूले जे पनि गर्न सक्छन् भन्ने यस्ता उदाहरणले गतिलो जवाफ दिनेगरेका छन् ।