आत्मनिर्भरताको यात्रामा चन्दर यादव

सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वार्ड नं. १ मा वस्ने चन्दर यादब एक कुष्ठ प्रभवित भएका व्यक्ति हुन । उमेरले ४९ बर्षका चन्दरका ४ छोरी श्रीमति र आफु गरि ६ जनाको परिवार छ । भारत सग सिमाना जोडिएको श्रीपुरजब्दीका चन्दर लाई २०५५ साल देखिनै विस्तार शरिरमा नचिलाउने दागहरु देखा परेको थियो तर कहिले पनि वास्ता गरेका थिएन्न तर बिस्तारै हाथ र खुट्टाको औलाहरु बाङिगदै गए ।

 

चदर यादवले भैंसीको दुध दुहुदै गरेको अवस्था
तस्विर विवरणः चदर यादवले भैंसीको दुध दुहुदै गरेको अवस्था

त्यसका बारेमा उहाँलाई थाहा हुने कुरै थिएन । कसैबाट उचित सल्लाह पनि पाउनु भएन । गरिबीका कारण शिक्षा लिन नसकेको हुँदा केहि भेउ पाउन सक्नुभएन । भारतलगायत विभिन्न स्थानमा गई ‌औषधी गराए पनि बिसेक भएन । श्रीमतीको आग्रहमा जाँच गराएपछि कुष्ठ रोगको पहिचान भयो । त्यसपछि उहाँ धेरै आत्तिनु भयो । लौकहीका स्वास्थ्षकर्मीले विराटनगरमा रहेको कुष्ठरोग क्लिनिक पठाएपछि उहाँको उपचार सुरु भयो । त्यसपछि उहाँका छिमेकीले कुष्ठरोग लागेको भनेर घृणा गर्ने, सामूहिक काममा सहभागी हुनबाट बञ्चित गरेका थिए ।

उपचार गर्न ढिलो भएका कारण उहाँका खुट्टा र हाथका ‌औंला झर्न थालिसकेका थिए । स्थानीयस्तरमा गठित अपाङ्ग हकहित सरोकार संघ श्रीपुरजब्दी सुनसरी र नेपाल कुष्ठरोग सङगति सुनसरीको समन्वयमा अपाङ्गता तथा कुष्ठरोग सर्वेक्षण गर्दा सर्वेटोलीले उहाँलाई भेटेर हाथ र खुट्टाको कसरी हेरचाह गर्ने तरिका सिकाउनुका साथै समयमा नियमित औषधी खाए अपाङ्गता हुनबाट जोगिई निको हुन्छ भन्ने जानकारी दियो

त्यति सुनेपछि उहाँको मनमा आशा पलाएर आयो । त्यस संस्थाले कुष्ठ प्रभावित व्यक्तिहरुलाई भेला गराएर स्वयं हेरचाह समूह के हो, यसको महत्व के ह्न्छ भन्ने जानकारी गराई स्वयं हेरचाह समूह के हो, यसको महत्व के हुन्छ भन्ने जानकारी गराई स्वयं हेरचाह समूह गठन गरेर चन्दरलाई सहभागी गरायो । त्यसपछि उहाँ त्यस समूहको सहजकर्ता बनेर अरुलाई पनि रोग निदानका उपाय सिकाउन थाल्नु भयो । उहाँ यतिबेला राष्ट्रिय अपाङ्ग महासंघको सदस्य संस्थामा सदस्यको रुपमा क्रियाशिल बन्न सक्षम भएकोमा उहाँ दङ्ग हुनुहुन्छ ।

 

दुध व्यापारका लागि यादव श्रीमान र श्रीमति दुध नाप्दै गरेको
तस्विर विवरणः दुध व्यापारका लागि यादव श्रीमान र श्रीमती दुध नाप्दै गरेको

सामाजिक रुपमा केही सहभागिता बढे पनि चार जना छोरोको लालनपालन र शिक्षा उहाँका लागि सारै चुनौती बनिरहेको थियो । राष्ट्रिय अपाङ्ग महासंघ पूर्वाञ्चल क्षेत्रीय कार्यालयले बचत समूह गठन गरी त्यसलाई बीस हजार रुपियाँ बीउ पुँजि उपलब्ध गरायो । त्यसमध्येको दश हजार रुपियाँ चन्दरको क्रियाशिलतालाई ध्यान दिँदै दूधको व्यापार गर्न दिएपछि उहाँको जीवनमा निकै परिवर्तन आएको छ । नेपालको सीमावर्ती गाउँबाट बिहान र बेलुका दूध संकलन गरेर साइकलमा राखेर भारतको सीमावर्ती वीरपुर बजार पुर्याएर बेच्नुहुन्छ । त्यसबाट भएको कमाइबाटै परिवारको लालनपालन सहज भएको छ भने हाल एउटा भैँसी पनि किनिसक्नुभएको छ ।

उहाँले बचत समूहमा अन्य सदस्यसरह बचत गर्न सुरु गर्नुभयो । आर्थिक स्थिति कमजोर भएको हँदा चार वटी छोरीको कसरी बिहे गर्ने, परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ – ” मैंले कमाइन भने मेरा छोरीलाई कसरी पढाउनु, विवाह गर्नु भन्ने सोचेर उनीहरुको भविष्य बनाउने सोचले नै यो व्यवसाय गर्ने अवसर मैले पाएको छु । “

उहाँ भन्नुहुन्छ – ” म पहिला कुष्ठरोगी भएकोले धेरै दुःखी थिएँ तर अहिले खुसी छु किनकि घाउ निको भएर मैले सञ्चालन गरेको दूधको व्यवसायले राम्रो आम्दानी भइरहेको छ । मेरो प्रगति देखेर छरछिमेकी तथा समाजले सहभागितामा रोक लगाएको छैन । अहिले सामुदायिक विद्यालयको विभिन्न सामाजिक समितिमा सहभागी छु ।”

उहाँले व्यवसायबाट भएको आम्दानीबाटै जेठी छोरीको विवाह गरिसक्नु भएको छ । अरु छोरीलाई पनि पढाइरहनु भएको छ । घरखर्च चलिरहेको छ ।

प्रस्तुतिः उत्तम सिवाकोटी