मानसिक स्वास्थ्य समस्याको भ्रम र यथार्थ

जानकारी

लक्ष्मण नाथ

मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्छ ।

 

यसमा मानव मस्तिष्कको चित्र देखाइएको छ
यसमा मानव मस्तिष्कको चित्र देखाइएको छ

टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुर्व्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्छ । यदि त्यस्तो असर लगातार रूपमा दुई हप्ताभन्दा बढी समयसम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या रहेको भन्न सकिन्छ ।

मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेद र कलङ्कका कारणले गर्दा समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ ।

 

यसमा मुटुको धड्कनको चाल चित्रमा देखाइएको छ
यसमा मुटुको धड्कनको चाल चित्रमा देखाइएको छ

मानसिक स्वास्थ्यप्रति रहेका केही भ्रम र यथार्थ

मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याले पिडित व्यक्तिको चित्र

  • १. भ्रम: मानसिक स्वास्थ्य समस्या थोरै व्यक्तिलाई मात्र हुन्छ ।
    यथार्थ: विश्व स्वास्थ्य सङ्गठनका अनुसार, वर्षको कुनै पनि समयमा प्रत्येक चार जनामा एक जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको हुनसक्छ । मानसिक स्वास्थ्य समस्यालार्इ विश्वमै सबैभन्दा बढी बोझपूर्ण समस्याको रूपमा लिने गरिन्छ । साथै, यो मानिसलाई अपाङ्गताको अवस्थामा पुर्‌याउने धेरै मध्ये प्रमुख कारण पनि हो ।
  • २. भ्रम: मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन् ।
    यथार्थ: मानसिक समस्या भएका व्यक्तिहरूले अवसर र सहयोग पाएमा अन्य व्यक्ति सरह काम गर्न सक्छन् र गरिरहेका पनि छन् । कडा खालका मानसिक समस्यामा मनोचिकित्सीय तथा मनोवैज्ञानिक उपचारपछि व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन् ।
  • ३. भ्रम: मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू हिंस्रक तथा आक्रामक स्वभावका हुन्छन् ।
    यथार्थ: मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हेर्ने हो भने प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रूपमा मानव अधिकार हननका घटनामा परिरहेका हुन्छन् ।
  • ४. भ्रम: बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन ।
    यथार्थ: ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अगावै सुरुहुन्छ । प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको पाइन्छ ।(विश्व स्वास्थ्य सङ्गठन)
  • ५. भ्रम: मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारणले हुन्छ ।
    यथार्थ: मानसिक स्वास्थ्य समस्या विकास हुनुमा थुप्रै कारकतत्वको भूमिका हुने गर्छ । मानसिक स्वास्थ्य समस्या जैविक, वातावरणीय, सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा विकास हुन सक्छ ।
  • ६. भ्रम: मानसिक स्वास्थ्य समस्या, समस्या नभई बहाना वा नाटक गरेको हो ।
    यथार्थ: अनुसन्धानका अनुसार शारीरिक समस्याहरू जस्तै मानसिक समस्या पनि स्वास्थ्य समस्या नै हुन् ।
  • ७. भ्रम: मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हामी केही सहयोग गर्न सक्दैनौँ ।
    यथार्थ: प्रत्येक व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संरक्षण, सम्मान र उपचार विधिमा सहयोग गर्न सक्छ । समस्या भएको व्यक्तिको कुरा ध्यानले सुनिदिँदा मात्र पनि त्यस्तो व्यक्तिलाई धेरै सहयोग हुनसक्छ ।
  • ८. भ्रम: मानसिक स्वास्थ्य समस्या कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई मात्र हुन्छ ।
    यथार्थ: मानसिक स्वास्थ्य समस्या जुनसुकै आर्थिक अवस्था भएका व्यक्तिलाई पनि हुनसक्छ ।

धेरैजसो मानसिक समस्यालाई समयमै सहयोग गर्न सकिए प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस्तो सहयोग परिवार, साथीभाइ र छरछिमेकले पनि उपलब्ध गराउन सक्छन् । आवश्यकता अनुसार मनोविमर्शकर्ता, मनोविद् र मनोचिकित्सकको समेत सहयोग लिन सकिन्छ वा लिन आवश्यक हुन्छ ।

मानसिक रूपमा स्वस्थ्य रहनका निम्ति निम्न कुराहरूमा ध्यान दिन वा गर्नसकिन्छः

  • मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने मान्छेसँग खोल्ने वा भन्ने बानी विकास गर्ने ।
  • नियमित व्यायाम र आराम गर्ने ।
  • पोषणयुक्त र सन्तुलित खाना खाने ।
  • आफ्ना लागि समय निकाल्ने वा धेरै तनावमा नरहने प्रयास गर्ने ।
  • योग र आरामदायी अभ्यास गर्ने ।
  • रमाइला क्रियाकलापमा सहभागी हुने प्रयास गरिरहने ।
  • व्यस्त र तनावग्रस्त जीवनशैलीबाट परिवारका लागि प्रशस्त समय निकाल्ने ।
  • घरायसी काममा सहयोग गर्ने वा सहभागी हुने बानी विकास गर्ने ।
  • निरन्तर साथीभाइ वा आफन्तसँगको सम्पर्कमारहनेप्रयास गर्ने ।

(मनोसामाजिक वा मानसिक अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्था “कोसिस नेपाल” द्वारा तयार गरिएको सामग्री ।)