श्रमशक्ति सदुपयोगको कामना
सम्पादकीय
विश्व स्वास्थ्य सङ्गठनको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन- २०११ अनुसार संसारभरि करिब १५ प्रतिशत व्यक्ति कुनै न कुनैरूपमा अपाङ्गतासहित बाँचिरहेका छन् । तीमध्ये ८० प्रतिशत व्यक्ति नेपाल जस्तै अविकसित मुलुकमा बस्ने गर्छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले २००२ मा दिएको जानकारी अनुसार, एसिया प्यासेफिक क्षेत्रका करिब ८० प्रतिशत अपाङ्गता भएका युवा-युवती पूर्णरूपमा बेरोजगार छन् । यसको अर्थ जुन मुलुक विकासको सिँढी चढ्न आफ्ना नागरिकबाट अत्यधिक योगदानको अपेक्षा गरिरहेका छन् वा धेरैभन्दा धेरै जनशक्तिको आवश्यकता महशुस गरिरहेका छन्, तिनै मुलुकमा जनसङ्ख्याको ठूलो हिस्सा आज पनि अपाङ्गताकै कारण अँध्यारो कोठामा नारकीय जीवन गुजार्न बाध्य छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि- सन् २००६ अनुसार, अपाङ्गता व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रीयजन्य विचलन र वातावरणमा हुने अवरोधहरूबीचको अन्तरक्रियाबाट उत्पन्न अवस्था हो । अपाङ्गताको यस परिभाषालाई विश्लेषण गर्दा समस्या व्यक्तिमा होइन हामी बाँचिरहेको समाज अनि हाम्रै वरिपरिको वातावरणमा हुनेरहेछ । अर्थात्, हाम्रो वरिपरि हुने अवरोधकै कारण अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो क्षमता विकास गर्न एवं स्वतन्त्ररूपमा काम गर्न नपाउने हुन् । त्यसैको परिणामस्वरूप उनीहरूमा रहेको सिर्जनशीलता अनि श्रमशक्तिबाट हाम्रो जस्तो समाज र राष्ट्रले कुनै पनि किसिमको लाभ उठाउन सकिरहेको छैन ।
उपयुक्त अवसर एवं अवरोधमुक्त वातावरण पाएको खण्डमा अपाङ्गता भएका व्यक्तिहरूले समेत विकासका कार्यमा महत्वपूर्ण योगदान गर्न सक्छन् । चर्चित वैज्ञानिक स्टिफिन हकिङ्सलगायत हजारौं अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा गरेका योगदान यसका उदाहरण हुन् । त्यस्ता व्यक्तिहरूको प्रगतिका पछाडि उनीहरूको मेहनत त छँदैछ, त्यसभन्दा पनि बढी उनीहरूलाई प्राप्त अवसर, अवरोधरहित वातावरण एवं उनीहरूप्रति हुने सकारात्मक सोच महत्वपूर्ण कारकका रूपमा रहेका छन् । यसमा कसैको दुईमत नै रहँदैन ।
ठूलो सङ्ख्यामा श्रमशक्ति विदेशिने समस्याका कारण एकातिर हाम्रो देशले आज दक्ष एवं अर्ध-दक्ष जनशक्तिको अभाव बेहोरिरहेको छ भने अर्कातिर लाखौं मानिस आफ्नो श्रमशक्तिलाई सही ढङ्गबाट प्रयोग गर्न नसकेका कारणबाट सिर्जना हुने विभेद, लाञ्छना तथा वञ्चितीकरणको सिकार हुन बाध्य भइरहेका छन् । सरकारी निकाय एवं अन्य क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा लगाउन गरिएका प्रयासबाट केही व्यक्ति लाभान्वित हुनसकेका भए पनि अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासमा गरिने लगानी अत्यधिक न्यून रहने गरेका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन । त्यसैका कारणा पनि ठूलो परिमणमा देशभित्रको श्रमशक्ति खेर गइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी एवं स्वरोजगारीसम्बन्धी छुट्टै नीति बन्न सकेको छैन । अपाङ्गतासम्बन्धी विद्यमान नीतिगत एवं कानुनी प्रावधानहरूको अक्षरशः पालना भइरहेको छैन । लागू भएका प्रावधानहरूको पनि प्रभावकारी ढङ्गबाट अनुगमन गर्ने संयन्त्र विकास एवं कार्यान्वयन हुनसकेको छैन । अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासका लागि लगानी बढाउने र प्राप्त हुने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोगलाई लक्षित समूहसम्म पुर्याउन प्रभावकारी संयन्त्रको विकास गर्न सकिएको छैन ।
यी र यस्ता नीति, कानुनको कार्यान्वयन भर्इ प्रभावकारी अनुगमन हुनु नितान्त आवश्यक छ । उनीहरूको क्षमता बढाउने काममा राज्यले ठोस काम गर्नैपर्छ । त्यसका साथै निजी क्षेत्रमा समेत केही कोटाका लागि आरक्षणको व्यवस्था जस्ता प्रावधान व्यवहारमै लागू गर्नसकेमात्र अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन हुने विश्वास गर्न सकिन्छ । आशा गरौं अबका दिनमा खेर गइरहेको श्रमशक्तिको समेत उपयोग हुने परिस्थिति सिर्जना हुनेछ ।