विनय
कविता
प्रणय विकल श्रेष्ठ
आऊ न आऊ हे शम्भु ! हामीलाई शरणमा लेऊ,
तनको आँखामा ज्योति छैन मनमा दर्शन देऊ ।
कस्तो बन्यो यो सामाजिक संरचना हाम्रो
पढे–लेखेका मान्छेको पनि हृदय अति चाम्रो ।
लौ न आऊ हे प्रभु ! डुब्नै लाग्यो नाउ,
सबैलाई चेतनाको सही मार्ग बताऊ ।
तारा खसाल्ने भाषण गर्छन् मीठा कुरा भन्छन्,
अपाङ्गलाई दोस्रो दर्जाको नागरिकझै ठान्छन् ।
लौ न आऊ हे प्रभु ! हाम्रो हात समाऊ,
घात–प्रतिघातको वेदनाले लड्खडायो पाउ ।
धेरै बने नियम–नीति धेरै बने कानून,
कार्यान्वयन कैले हुने तिनी आफैं जानून् ।
लौ न आऊ हे प्रभु ! शीतल मलम लगाऊ,
सहन धेरै गाह्रो भयो चहराइरह्यो घाउ ।
संविधानको धारा फेरिन्छ तिन्लाई अप्ठ्यारो पर्दा,
यद्यपि, कुनै मतलब छैन अन्धा–अपाङ्ग मर्दा ।
लौ न आऊ हे प्रभु ! हाम्रो साथमा आऊ,
संविधानमा लेखिएका
अपाङ्गहरूको अधिकार
कार्यान्वयन गराऊ ।