अवसरको खाँचो

पहल

रमा पौडेल ’प्रभात’

rama poudel“अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता वा कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) र विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्‍गमा सहभागी हुन बाधा भएको व्यक्त सम्झनुपर्छ भनी परिभाषा गरिएको छ ।

मानिस हुर्कने बढ्ने क्रममा सामान्यत: शरीरको कुनै एक वा त्योभन्दा बढी अङ्‍गमा आउने विचलन र मानसिकरूपमा राम्रोसँग विकास हुन नसक्नुलाई अपाङ्‍गता भनिन्छ ।

कुनै परिवारमा यस्ता अपाङ्गता भएका बालबालिका देखिएमा समाजमा अपहेलित हुने डरले लुकाएर राख्ने गरेको पाइन्छ । कतै जानेर वा नजानेर अपाङ्गता भएकाहरू समाजमा अपहेलितरूपमा रहेका छन् । शारीरिक कमजोरी त्यसै त पीडाप्रद भइरहेका अपाङ्गता भएकाहरूलाई समाजमा अपहेलित हुँदा झन पीडा थपिन्छ ।

अपाङ्गता भएकाहरूमा शारीरिकरूपमा केही कमजोरी रहे पनि मानसिकरूपमा पूर्णत: काम गर्न सक्षम हुन्छन् भन्ने सचेतना समाजमा फैलाउनु आवश्यक छ । झमक घिमिरे यस्तै शारीरिक कमजोरी भएकी एक नागरिक हुनुहुन्छ तर उहाँको चेतना शक्ति र ज्ञानले गर्दा आज उहाँका दर्जनौँ साहित्यिक कृति र हजारौँ लेख पढिरहेका छौँ । त्यस्तै डा. कमल लामिछाने दृष्टिबिहीन भएर पनि विद्यावारिधि गरिसक्नुभएको छ । घिमिरे र डा. लामिछाने जस्ता एकाध सफल अपाङ्गता भएका व्यक्तिहरू अगाडि आएको देख्दादेख्दै पनि समाजमा अपाङ्गता भएकाहरूलाई निकै अपहेलनाको रूपमा हेरिने उदाहरण हाम्रो सामाजमा रहेका छन् ।

त्यसो त सफलता प्राप्त गर्न के अपाङ्गता भएका, के साङ्‍ग, सबैले अथक मेहनत त गर्नैपर्छ । त्यसमा पनि अपाङ्गता भएकाहरूलाई परिवार र समाजको विशेष साथ र सहयोगको आवश्यकता रहन्छ । १३ वर्षे सुनिता तामाङ (तस्बिर २) लाई दुवै खुट्टा नभएका कारण विद्यालय जान अभिभावकको सहयोग आवश्यक पर्छ । बाटोमा ह्‍विलचियरमा हिंड्दै गर्दा अरूले असहयोग गर्दा निकै गाह्रो हुने उहाँ बताउनुहुन्छ ।

कृत्रिम खुट्टा राख्न अपाङ्‍ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी) बनेपामा उपाचाररत उहाँ काठामडौंमा कक्षा ६ मा पढ्नुहुन्छ । पढाइ सकेर आफू जस्तै अपाङ्गता भएकाहरूको उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मी बन्ने उद्देश्य रहेको बताउने उहाँलाई परिवारको पूर्ण सहयोग रहेको छ ।

विनोद खत्री (तस्बिर १) १४ वर्षका हुनुभयो । अर्घाखाँची जिल्लाको अड्गुरी– ४ मा स्थायी घर भएका उहाँ राम्रोसँग बोल्न सक्नुहुन्‍न । आँखा टेडो छ । मानसिकरूपमा अस्वस्थ हुनुहुन्छ । उहाँकी आमाको सानैमा मृत्युभयो भने हालैमात्र उहाँका वुवाको पनि मृत्युभयो । काका केशव खत्रीसँग बस्ने उहाँ हिड्न सक्‍नुहुन्छ तर सहयोगीको नियन्त्रणबिना स्वतन्त्ररूपमा अरू काम गर्न सक्‍नुहुन्‍न । यतिबेला उहाँ असहाय हुनुभएको छ । विकट गाउँमा भएका कारण विद्यालयको मुखै नदेखेका उहाँ अहिले काकाका लागि बोझ बन्‍नुभएको छ । काकाको पनि आर्थिक अवस्था राम्रो नरहेको जानकारी स्थानीय तुलसा पौडेलले दिनुभएको छ ।

त्यस्तै, इन्दिरा भुसाल (तस्बिर ३) सात वर्षकी हुनुभयो । उहाँका दुवै घुँडादेखि माथिबाट हड्डी घुमेकाले हिड्न सक्नुहुन्‍न । हेर्दा चिटिक्क राम्री उहाँ राम्रोसँग बोल्न, सुन्न र देख्न सक्नुहुन्छ । विद्यालय घरबाट टाढा रहेको र परिवार कृषक भएकाले उहाँले विद्यालय जाने अवसर पाउनुभएको छैन । छिमेकी दाजु, दिदी र आफ्ना भाइबहिनीको देखासिकीबाट आफ्नो नाम लेख्न सक्नुहुन्छ । उहाँलाई कसैले जिस्क्याएको मन पर्दैन ।

जे सुने पनि छिट्‍टै अनुकरण गर्ने उहाँको सिकाइ क्षमता रहेको छ तर अर्घाखाँचीमा यस्ता अपाङ्गता भएका बालबालिकालाई राखेर अध्यापन गराउने विद्यालय नभएका र बाहिर राख्न परिवारको आर्थिक अवस्था कमजोर रहेको बताउनुहुन्छ उहाँका बुवा कमलप्रसाद भुसाल । हाल उहाँ अपाङ्‍ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपामा उपचाररत हुनुहुन्छ ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने नेपाल सरकार, कुनै संस्था वा सरोकारवाला निकायले उहाँ र उहाँजस्ता अपाङ्गता भएकै कारण शिक्षाको अवसरबाट वञ्‍चित बालबालिकाको शिक्षा–दीक्षाको व्यवस्था मिलाइदिएमा हजारौँ अपाङ्गता भएका बालबालिका लाभान्वित भई भविष्यमा राष्ट्रका सक्षम नागरिकका रूपमा उपस्थित हुने थिए ।

पन्ध्र वर्षका अर्घखाँची निवासी भक्त परियार र काभ्रेपलाञ्चोक निवासी १४ वर्षका कृष्ण मगर (तस्बिर ४) यतिबेला अपाङ्‍ग बाल अस्पतालमा उपचार गराइरहनु भएको छ । भक्त कक्षा १० र कृष्ण कक्षा ८ का विद्यार्थी हुनुहुन्छ । उहाँहरू दुवै जनाका खुट्टाका पाइताला घुमेका कारण ३ देखि ६ महिनासम्म अस्पतालमै बस्नुपर्ने भएको छ । उहाँहरू पनि निम्न आर्थिक अवस्था भएका परिवारका बालक हुनुहुन्छ ।

यी त केही शारीरिक तथा मानसिक अपाङ्गता भएका बालबालिकाका उदाहरण हुन् । नेपालमा यस्ता अपाङ्गता भएकाहरू २०६८ को जनगाणना अनुसार १.९४ प्रतिशत (सय जनामा झन्डै दुई जना) रहेका छन् । यस्ता अपाङ्गता भएका व्यक्तिहरू कुनै न कुनैरूपमा परिवार तथा समाजबाट प्रताडित पाइन्छन् । सामान्यरूपमा दैनिकी चलाउन अप्ठ्‍यारो परिरहेको अवस्था छ । त्यसैले समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, जीवननिर्वाह, सशक्तीकरण र सामाजिकीकरणका लागि सम्बन्धित निकायले पहल गर्नु आवश्यक छ । अपाङ्गता भएकाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा सीप सिकाउने जस्ता अवसर राज्यले सिर्जना गरेमात्र माथिका उदाहरणमा प्रस्तुत गरिए जस्ता हजारौं अपाङ्गता भएका बालबालिका लाभान्वित हुनेछन् । चौबिसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०१५ डिसेम्बर ३ मनाइरहँदा यस्ता अपाङ्गता भएकाहरू पनि समावेश भएमात्र ‘अर्थपूर्ण समावेशीकरण : सबै क्षमताका व्यक्तिहरूका लागि पहुँच र सशक्तीकरण’ नाराले सार्थकता पाउनेछ । यसबाटमात्र अपाङ्गता समाजका लागि बोझ होइन भन्ने कुरा प्रमाणित हुनेछ ।

यस अंकका अन्य सामाग्री पढ्नका लागी विषयसुचीमा फर्कनुहोस्।