मनोसामाजिक अपाङ्गता र पुनर्स्थापना

आलेख

मातृकाप्रसाद देवकोटा

Matrika Debkotaसर्वप्रथम मानसिक समस्या, मानसिक अपाङ्गता र मनोसामाजिक अपाङ्गताको तात्विक भिन्नताबारे बुझ्नु जरुरी छ । मानसिक समस्या पहिचान गर्न सकिने, चिकित्सकीय रुपमा थाहा पाउन सकिने अवस्था हो, जसको परिणामस्वरुप कुनै व्यक्तिको सोच, मनस्थिति र व्यवहारमा उल्लेख्य क्षति पुग्छ । मस्तिष्क र मानसिक अङ्गहरुमा आएको समस्या चेतना, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणना जस्ता बौद्धिककार्य सम्पादनका क्रममा आउने समस्याका कारण उमेर र परिस्थिति अनुसार व्यवहार गर्न नसक्नु तथा बौद्धिक सिकाइमा ढिला हुनुलाई मानसिक अपाङ्गता मानिन्छ ।

मनोसामाजिक अपाङ्गताको अवधारणा भने फरक छ । मनोसामाजिक अपाङ्गताले व्यक्ति र ऊप्रतिको सामाजिक अवधारणालाई जनाउँदछ । यो यस्तो मान्यता हो, जसले कुनै व्यक्तिको जीवन परिस्थितिहरुमा आन्तरिक र बाह्य तत्वहरुले सामान्य बाहेकका अन्य अवस्थाहरुमा व्यक्तिको सहयोग र समायोजनका आवश्यकताहरुमा प्रभाव पार्न सक्छ भन्ने स्वीकार गर्दछ । यस अन्तर्गत सामाजिक, संवेगात्मक, मानसिक र आत्मिक अवस्थाहरु एवं अनुभवहरु पर्छन्, जसलाई अशक्तता भन्न सकिँदैन तर त्यस्ता तत्वले व्यक्तिलाई असक्षम गराइरहेका हुन्छन् ।

हाम्रो देशमा ‘मनोसामाजिक अपाङ्गता’ शब्दावली अझ पनि नौलो छ । यसलाई गलत तरिकाले बझ्ने एवं कलङ्कको रुपमा लिने गरिन्छ । मनोसामाजिक अपाङ्गता मानसिक बिमारीको समानार्थक होइन तर यसले मानसिक समस्या अनुभव गरेका व्यक्तिहरुलाई समेट्छ । मानसिक समस्या व्यहोरेका जुनसुकै व्यक्तिले दुराग्रह, कलङ्क, विभेद र दुर्व्यवहार भोग्न बाध्य भइरहनुपरेको छ । यस्ता नकारात्मक सामाजिक दृष्टिकोण नै ‘मनोसामाजिक अपाङ्गता’ शब्दावली प्रयोगको आधार बन्न पुगेको हो ।

मनोसामाजिक अपाङ्गता भएर बाँच्नेहरुलाई निकृष्ट प्राणीको रुपमा व्यवहार गर्दै समाजका सबै पक्षमा अरूहरुसरह समान आधारमा पूर्णत: सहभागी तथा समावेशका लागि अयोग्य ठहर्‍याउने गरिएको पाइन्छ । यस्ता प्रवृत्ति परिवारदेखि समुदायसम्म फैलिएको पाइन्छ । नेपाली समाजमा मनोसामाजिक अपाङ्गतालाई जोसुकैलाई हुन सक्ने समस्याको रुपमा नलिई सामान्यत: व्यक्तिले नियन्त्रण गुमाएको कमजोरीको अर्थमा लिने गरिन्छ । उनीहरुको गुणात्मक स्वास्थ्यको अधिकारलाई प्राथमिकता नदिई व्यक्तिको स्वयं सृजित समस्या र सामाजिक भारको रुपमा हेर्ने गरिन्छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्ना समस्या लुकाउन वा अन्यायलाई चुपचाप सहन बाध्य पारिएको अवस्था छ । नेपालमा मनोसामाजिक अपाङ्गता भएका अधिकांश व्यक्ति खुलेर बाहिर आउन नसकेकै कारण स्वास्थ्य र सामाजिक सुरक्षाको सेवा पाउनबाट बञ्चित भइरहेका छन् ।

प्रत्येक ४ मध्ये १ व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको विश्‍व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरिसकेको छ । मानसिक स्वास्थ्यको संरक्षण एवं प्रवर्द्धनका लागि हाम्रो देशमा सरकारीस्तरका कार्यक्रम पर्याप्त छैनन् । मानसिक स्वास्थ्यबारे जनस्तरमा चेतनाको अभाव छ । मानसिक स्वास्थ्यको उपचार गर्ने सरकारी अस्पताल देशमा एउटैमात्र छ । गाउँ समुदायमा उपचारका लागि अस्पताल र विशेषज्ञको उपलब्धता छैन, नि:शुल्क औषधिको व्यवस्था छैन । अनि देशमा हजारौंको सङ्ख्यामा मानसिक समस्या भएका व्यक्तिहरु उपचारको अभावमा अमानवीय व्यवहार खेप्दै थुनिएर, बाँधिएर वा सडकमा भौंतारिएर हिँड्न बाध्य भएका छन् । यो नै आजको विडम्बनापूर्ण वास्तविकता हो । यस्ता व्यक्तिको स्वास्थ्यको अधिकार, समाजमा सम्मानपूर्ण जीउने अधिकार दिन प्रतिदिन हनन् भइरहेको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण बढीजसो महिला प्रताडित बन्ने गरेका छन् । यसका कारण विस्थापित भएका महिलाहरुको अवस्था ज्यादै जोखिमपूर्ण रहेको छ । गैर सरकारी संस्था कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको अल्पकालीन सुरक्षित घरमा उपचारका लागि पुर्‍याइएका अधिकांश महिला घरेलु हिंसाका कारण मानसिकरुपमा विक्षिप्त बनेको पाइएको छ । सडकमा भौंतारिन पुगेका त्यस्ता थुप्रै महिलामाथि यौन दुर्व्यवहार भई गर्भवती बनेका र सडकमै बच्चा जन्माएका तथ्याङ्कहरु कोशिशसँग छन् । मानसिक समस्याप्रति उदारवादी सोचको कमी रहेको नेपाली समाजमा उपचारपछि स्वस्थ भएका यस्ता महिलाको पुनःस्थापना हुने सम्भावना एकदमै न्यून पाइएको छ । एकातिर पुनःस्थापनाको चुनौती र अर्कातिर बाबुको पहिचान नभएको बालकको नागरिक अधिकारको खोजीको दोहोरो मारमा परेका छन् यस्ता महिला ।

विविध कारणवश: एकपटक मानसिक समस्या व्यहोर्न पुगेका व्यक्तिहरु उपचारपछि स्वस्थ भए पनि सामाजिक कलङ्कका कारण सामाजिक क्रियाकलापमा खुलेर सहभागी बन्न सकिरहेका पाइँदैनन् । मानसिक समस्याको नियमित औषधि सेवनमा रहेका व्यक्तिहरुलाई पारिवारिक माया, ममता, हेरचाह र सद्‍भावको अत्यन्त आवश्यकता पर्छ । यस किसिमको व्यवहार पाउन सकेमा स्वास्थ्यलाभमा शीघ्रता आउँछ । उनीहरुलाई सीप र क्षमता अनुरुपका क्रियाकलापमा संलग्न गराउन परिवार एवं समाजले सघाउनुपर्छ । मानसिक स्वास्थ्य समस्याको कलङ्क र भेदभावविरुद्ध घर, परिवार र समुदायस्तरबाटै आवाज उठाइनुपर्छ । त्यति भएमात्र यस्ता व्यक्तिहरुको दीर्घकालीन सामुदायिक पुनःस्थापना सम्भव हुन्छ ।