Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

कभर स्टोरी: भूकम्प र अपाङ्गता

Home / Articles / कभर स्टोरी: भूकम्प र अपाङ्गता
December 30, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp
“अपाङ्गता भएका व्यक्तिहरू आफैं सुरक्षित हुन सक्नेगरी पहिला नै संरचनाहरू निर्माण गर्नुपर्ने रहेछ”

सम्पादकीय टोली

२०७२ वैशाख १२ गते दिउँसो करिब १२ बज्दै थियो, मकवानपुर जिल्ला थाहा नगरपालिकाका १४ वर्षे सुशान्तका अभिभावक काममा बाहिर गएको अवस्था परेछ । उनी भने आफ्नै घरको पिँढीमा थिए, जहाँ उनका अभिभावकले उनलाई राखेर गएका थिए । अचानक धर्तीसँगै उनको घर हल्लिन थाल्यो । सुरुमा त उनलाई के भएको भनेर छुट्याउन गाह्रो पर्‍यो । बिस्तारै घर भत्कन थालेपछि त उनलाई निकै नै डर लाग्न थाल्यो । यस अघि उनले यस्तो कहिल्यै भोगेका थिएनन् । आफ्ना बुवाले सुनाएका भूकम्पका कथा सम्झन थाले, जसले झनै डर बढायो । उनी बाहिर भाग्न त खोज्थे तर सक्दैनथे । संयोग नै मान्नुपर्छ त्यसैबखत पिँढीमा बसिरहेका उनलाई एक जना छिमेकीले देखे र त्यहाँबाट बाहिर निकाले । भाग्यवश उनी ठूलो दुर्घटनाबाट त बच्न सफल भए तर अहिले पनि उनी भूकम्प फेरि पनि आउँछ कि भन्ने डर लागिरहने बताउँछन् । Shushant Bistaसुशान्त अपाङ्गता भएका बालक हुन् । उनी कतै जानु पर्‍यो भने आफ्ना अभिभावकको पिठ्युँमा बोकिएर जानुपर्छ । होइन भने एकै ठाउँमा बसिरहनुपर्ने उनको जन्मैदेखिको वाध्यता हो । आजसम्म न त उनले ह्विलचियर पाए न त उनी बस्ने ठाउँ वरिपरिको वातावरण नै ह्विलचियर गुडाउन मिल्ने खालको छ । आमाबाबु बाहेक उनका कोही सहयोगी छैनन् । उनी अरू साथीहरू जस्तै कहिल्यै विद्यालय जान पनि पाएनन् । वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्र बनाएर गएको ७.६ म्याग्निच्युटको भूकम्प र त्यसपछिका पराकम्पनका कारण काठमाडौं एवं आसपासका जिल्लामा अचानक ठूलो जनधनको क्षति भयो । हजारौं मानिस मृत्युको मुखमा होमिए भने लाखौँ मानिस घरबारविहीन भए । सदैव विपद्को उच्च जोखिममा हुने अपाङ्गता भएका व्यक्तिहरू त झन यसको अपवाद हुनसक्ने कुरै भएन । थाहा नगरपालिकाकै क्रमश १० वर्ष र ५ वर्षका शिरिशा कार्की र नानुमाया कार्की दिदी बहिनी हुन् । वैशाख १२ गतेको भूकम्प आउँदा उनीहरू दुवै घरभित्रै थिए । उनीहरू बसेको घर भूकम्पले हल्लाएपछि अचानक भत्कन थाल्यो तर संयोग भन्नुपर्छ- ती दुई दिदीबहिनी बल्लतल्ल घिस्रेर घरबाहिर आउन सफल भए । माथिबाट खसेका वस्तुले लागेर उनीहरूको शरीरमा चोटपटक त लाग्यो तर उनीहरूको ज्यान भने बच्यो ।> दुवै दिदीबहिनी बौद्धिक अपाङ्गता भएका बालिका हुन् । अरूको सहायतामा मात्र यताउता गर्न सक्ने उनीहरूलाई आफ्नै घरको भित्री कोठामा सदैव थुनेर राख्नु पर्ने वाध्यता रहेको उनीहरूका अभिभावकहरू बताउँछन् । Sirisa and her sister with their motherआमासंग सिरिसा कार्की र नानुमाया कार्कि भूकम्पले के साङ्ग, के अपाङ्गता भएका व्यक्तिहरू, सबैलाई अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ । अझ त्यसमा पनि हामी वरिपरिको संरचना सबैका लागि सहज किसिमको नहुनु, विपद् व्यवस्थापनका लागि कुनै पनि किसिमको पूर्व तयारी नहुनु, धेरैजसो अपाङ्गता भएका व्यक्तिहरू गरिबीको अवस्थामा जीवनयापन गर्न बाध्य हुनु जस्ता कुराले यस प्रकारका विपद्का बेला उनीहरू अन्य नागरिकभन्दा बढी जोखिमपूर्ण अवस्थामा हुनेगर्छन् । कतिपय अवस्थामा त साना-साना कुराहरूबाट पनि उनीहरू ठूला ठूला समस्यामा पर्ने गरेका हुन्छन् स्याङ्जा जिल्लाको वालिङका दृष्टिविहीन सागर सुवेदी पहिलो भूकम्प आउँदा काठमाडौंमा छात्रावासको आफ्नै कोठामा थिए । भूकम्प आएको थाहा पाउना साथ उनका सबै साङ्ग साथी आ-आफ्ना तरिकाले खुला ठाउँतिर भाग्न थाले । त्यतिबेला उनलाई विपद्का बेला सबै आफ्नोमात्र ज्यान बचाउन लाग्ने रहेछन् भन्ने महशुस भयो । कहिले काहीँ कतै लड्न वा कतै ठोक्किन लाग्दा पनि बचाउन खोज्ने साथीहरूसमेत त्यतिबेला आफ्नै सुरमा भागेको थाहा पाउँदा भने अपाङ्गता भएका व्यक्तिहरूका लागि भने यस्ता अवस्था निकै भयावह हुनेरहेछ भन्ने उनलाई लागेछ । उनी आफ्नो अनुभव यसरी सुनाउँछन्- “आफू बसेको संरचना भूकम्प प्रतिरोधक छ वा भूकम्प आउँदा म जस्तो दृष्टिविहीन व्यक्तिले कसरी सुरक्षित हुने भन्ने थाहा पाएको भए वा आफू रहेको घर अपाङ्गतामैत्री छ भन्ने थाहा पाएको भए पनि मलाई यति डर लाग्ने थिएन होला ।” ठूलो भूकम्पपछि निरन्तर साना-ठूला पराकम्पन आउन रोकिएनन् । सागर दिनभरि भयभीत हुँदै खुला सडकमा एक्लै बस्न वाध्य भए । साँझ पर्न थालेपछि उनलाई अर्को डरले सताउन थाल्यो । वरिपरिका सबै साथीले खुला चउरमा रात बिताउने छ्यास्स छुस्स कुरा गरेको सुन्नथाले । उनमा पनि घरभित्र गएर सुत्ने आँट थिएन न त सजिलै कुनै खुला मैदान पहिचान गरेर जान सक्ने परिस्थिति नै थियो । त्यतिबेला उनलाई सबैले आफूलाई छाडेर जान्छन् अनि कहाँ गएर रात बिताउने भन्ने पिर लाग्यो । तर, उनले राम्रो उपाय निकाले, जसले उनको चिन्तालाई एकैछिनमा दूर गरिदियो । उनले आफू वरिपरि रहेका केही साथीलाई जम्मा गरेर विभिन्न हास्यास्पद चुट्किला सुनाउन थाले । अब उनलाई साथीहरूले छाड्ने होइन बरु कसले, कुन समूहमा, कसरी समावेश गराउने भन्ने होडबाजी नै चल्न थाल्यो । यो एउटा निकै अनौठो तरिका थियो तर पनि अप्ठ्यारो परिस्थितिमा यस्ता समान्य कुराहरू पनि समस्या समाधानका उपाय हुन सक्छन भन्ने आफूले सिकेको सागर बताउँछन् । यसपालाको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ८ हजार ७८६ (जेठ २९ सम्म) पुगिसकेको छ । ३४ वटा जिल्लामा कुनै न कुनैरूपमा मानिस यसको पीडा खप्न वाध्य छन् । सरकारी तथ्याङ्क अनुसार हालसम्म २२ हजार ३०३ जना घाइते भइसकेका छन् । ६ हजार २६४ सरकारी एवं ८ लाख २ हजार ४६९ निजी भवन पूर्ण वा आंशिकरूपमा ध्वस्त भएका छन् । यसैबीचमा उल्लेख्य संख्यामा अपाङ्गता भएका व्यक्ति हताहत र घरबारविहीन भएका खबर प्राप्त भएका छन् । त्यसैगरी यो भूकम्पमा परी थप ४ हजार जति मानिसले अपाङ्गताको अवस्थामा बाँच्नुपर्ने अनुमान विज्ञहरूको छ । तीमध्ये पनि १ हजार जति त पूर्ण अशक्त अपाङ्गता हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भूकम्पले जमिन फाटेका कारण थुप्रै बस्तीमा पहिरो जाने क्रम सुरु भइसकेको छ । मनसुनको सुरुवातसँगै यो क्रम अझ बढेर जाने कुरा निश्चित छ । यसले पनि अझ थप क्षतिको सम्भावना रहेको छ । यस भूकम्पबाट कति संख्यामा अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् भनेर अहिले यकिन गर्न गाह्रो छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालमा राहतका लागि गरिएका अनुरोध र पठाइएका सूचनाहरूका आधारमै पनि यो सङ्ख्या ठूलै रहेको सहजै अनुमान गर्न सकिन्छ । यो परिस्थितिबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक सङ्ख्या अद्यावधिक गर्ने उद्देश्यले भूकम्प गए लगत्तै महासङ्घको केन्द्रीय कार्यालयले आफ्ना विभिन्न संयन्त्र एवं प्रभावित जिल्लाहरूमा सक्रिय रहेका सदस्य संस्थाहरूमार्फत काम अगाडि बढाएको छ । यसलाई हाल अझ व्यवस्थित गराइएको छ । भौगोलिक विकटता, विपद् व्यवस्थापन पूर्वतयारी योजनाको प्रभावकारी कार्यान्वयन नहुनु, स्थानीयस्तरमा तथ्याङ्क अद्यावधिक गर्ने भरपर्दो सरकारी संयन्त्रको अभाव, भूकम्पपछि सिर्जित असहज परिस्थिति जस्ता कुराले तथ्याङ्क अद्यावधिक गर्न अप्ठ्यारो परिरहेको छ । तथापि, महासङ्घले आफ्ना विभिन्न संयन्त्रसँग मिलेर काम अगाडि बढाइरहेकाले केही समयमै सम्पूर्ण सङ्ख्या प्राप्त भइसक्ने कुराप्रति आशावादी हुन सकिन्छ ।

devastation caused by earthquake
devastation caused by earthquake

नेपाल, त्यसमा पनि काठमाडौं आसपासका क्षेत्र भूकम्पीय जोखिममा छन् भन्नेमा विज्ञहरूले सतर्क गराउँदा गराउँदै पनि हामीले त्यसप्रति खाँसै चासो नदेखाएका कारणले नै यत्रो विपद् भोग्नुपरेको यथार्थ हामी सबैले स्वीकार गरेकै कुरा हो । त्यसमा पनि कुनै पनि अपाङ्गता समावेशी पूर्वतयारीका कार्यक्रमहरूको अभावले यसबाट अपाङ्गता भएका व्यक्तिहरू अझ धेरै प्रभावित हुन पुगे । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले केही जिल्लामा समुदायमा आधारित अपाङ्गता समावेशी विपद् व्यवस्थापनका लागि सरकारी निकायहरूसँग पैरवी गर्ने, यससम्बन्धी कानुनहरूलाई अपाङ्गताको परिप्रेक्ष्यबाट अध्ययन गर्ने र केन्द्रमा पैरवीहरू गर्ने जस्ता काम गर्न सुरू गरेको थियो । तर, समग्र विपद् व्यवस्थापनमै राज्यको तयरी कमजोर भएको परिप्रेक्ष्यमा अपाङ्गताको सवाल त्यति प्राथमिकतामा पर्न सकेन, जसको ठूलै मूल्य यस विपद्का क्रममा सबैले चुकाउनुपर्‍यो । महासङ्घले भूकम्पले अपाङ्गता भएका व्यक्तिहरूमा पारेको प्रभाव र उनीहरूको अवस्थाका वारेमा प्रकाशन गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएका निम्न कुराले पनि उनीहरूको अवस्था कस्तो रहेको छ भन्ने प्रष्ट हुन्छ ।

  • राहत वितरण गरिने केन्द्रहरू अपाङ्गतामैत्री नभएकै कारणले गर्दा अपाङ्गता भएका व्यक्तिहरू सरकार तथा विभिन्न निकायले वितरण गरेको राहतबाट लाभान्वित हुन सकिरहेका छैनन् ।
  • पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति एवं बालबालिकाहरूले उचित स्याहार प्राप्त गर्न सकिरहेका छैनन् ।
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त शौचालयहरूको अभाव छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूले उनीहरूले दैनिक जीवनमा प्रयोग गर्नुपर्ने सहायक सामग्रीहरू गुमाएका छन्, जसले गर्दा उनीहरूलाई हिँडडुल गर्न र दैनिक जीवन यापनका निम्ति गाह्रो भइरहेको छ ।
  • नियमित औषधी सेवन गर्नुपर्ने अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरू औषधीबाट बञ्चित हुनुपरेको छ ।
  • उनीहरू हाल बसिरहेका स्थान स्वस्थकर छैनन्, जसले गर्दा उनीहरूको स्वास्थ्यमा जटिलता थपिने निश्चित छ ।
  • नियमितरूपमा आइरहेका पराकम्पनहरूले उनीहरूमा थप मानसिक जटिलता थप्दै लगिरहेका छन् ।
  • अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य अवस्था र पोषणको स्थिति अन्य बालबालिकाको तुलनामा झनै जोखिमपूर्ण अवस्थामा रहेको छ ।

यस किसिमका विपद्का बेला गर्भवती, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू एवं जेष्ठ नागरिक अन्य नागरिकको तुलनामा बढी जोखिममा हुनेगर्छन् । तसर्थ, विपद् एवं त्यसपछिका दिनहरूमा हुने राहत वितरण एवं पुनर्निर्माण प्रक्रियामा त्यस्ता व्यक्ति एवं समूहलाई विशेष प्राथमिकता दिइनुपर्ने कुरा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- “नेपालको विपद् प्रतिकार्यका लागि पूर्वतयारी अभ्यासहरू यस्ता विषयहरूलाई प्राथमिकतामा राखेर भएको पाइएन” । यस्तो विपद्को परिस्थितिमा विभिन्न राहत वितरणमा संलग्न निकायहरूलाई सबैभन्दा जोखिममा रहेकाहरूको पहिचान गरी उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर कसरी राहत वितरण गर्ने भन्ने बारेमा कुनै ज्ञान नभएको पनि प्रष्टै देखिएको थियो । यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले वर्तमान विपद्‍बाट प्रत्यक्षरूपमा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई राहत वितरण, पुनःस्थापना एवं पुनर्निर्माण प्रक्रियामा विशेष प्राथमिकता दिन अनुरोध गर्दै आकस्मिक अनुरोध (इमर्जेन्सी अपिल) जारी गर्‍यो । त्यस अपिलमा विपद्का बेलामा र विपद्पछिका अवस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरू विभिन्न कारणले बढी जोखिममा परेका हुन्छन्, त्यसैले राहत तथा पुनःस्थापनाका बेलामा उनीहरू तथा उनीहरूका विशेष आवश्यकताहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु जरूरी छभन्दै त्यसका लागि निम्न अनुसारका काम गर्न आग्रह गरिएको छ –

  • कुनै निश्चित स्थानमा राहत वितरण गर्दा त्यहाँ अपाङ्गता भएका व्यक्ति कति संख्यामा रहेका छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । यस्तो सङ्ख्या सम्बन्धित वडाको वडा नागरिक मञ्च वा सम्बन्धित जिल्लामा अपाङ्गता क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधि वा महिला तथा बालबालिका कार्यालय वा यस सवालमा काम गरिरहेका अन्य सरोकारवालाहरूसँग समन्वय गरेर लिन सकिन्छ ।
  • राहत वितरण गर्न स्थान छनौट गर्दा अपाङ्गता भएका व्यक्तिहरू सहजै सहभागी हुनसक्ने स्थानमा गर्नुपर्छ ।
  • राहत वितरणको कामलाई भिडभाड र असंगठित हुन नदिने र अपाङ्गता भएका व्यक्ति नछुटून भन्ने सुनिश्चित गर्न पहिले उनीहरू स्वयं वा उपस्थित उनीहरूका परिवारका सदस्यहरूलाई वितरण गर्नुपर्छ ।
  • सेल्टरहरू बनाउँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुनेगरी बनाउने र अस्थायी शौचालय अपाङ्गतामैत्री हुनुपर्छ ।
  • असाध्यै गम्भीर अपाङ्गता भएका व्यक्तिहरूलाई निरन्तररूपमा घर परिवारको सेवा र स्याहार चाहिइरहने हुनाले उनीहरूका परिवारका सदस्य धेरै टाढा राहत लिन जान नसक्ने हुनसक्छन् र उनीहरूलाई सधैं अरूले सहयोग नगर्न पनि सक्छन् । त्यसैले यस्तो अवस्थाका मानिस पत्ता लगाएर राहत सामग्री उनीहरू बसेको स्थानमै पुर्‍याउने बन्दोबस्त मिलाउनुपर्छ ।
  • आमाबाबु गुमाएर बेवारिसे अवस्थामा रहेका अपाङ्गता भएका बलबालिकालाई तत्काल सुरक्षित ठाँउ अनि रेखदेखको व्यवस्था गर्ने र उनीहरूलाई पुनःस्थापनाको चरणमा प्रवेश नगरूञ्जेल नियमित राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ ।
  • सेल्टर वा समूहमा बस्दा अपाङ्गता भएका बालबालिकामाथि दुर्व्यवहार, यौन शोषण, यौन हिंसाहरू हुने सम्भावनालाई मध्यनजर गरी आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्छ ।
  • भूकम्पका कारणले धेरै अपाङ्गता भएका व्यक्तिहरूले ह्विलचियर, बैशाखी, सेतो छडी, सुन्ने यन्त्र आदि आफ्ना सहायक सामग्री गुमाएका छन् । तसर्थ, राहत सामग्री अन्तर्गत यस्ता विषयलाई पनि समावेश गरिनुपर्छ ।
  • मेरूदण्ड पक्षाघात भएका अपाङ्गता भएका व्यक्तिहरूका लागि क्याथेटर र डाइपर जस्ता कुरा र महिलाहरूका लागि स्यानिटरी प्याडको आवश्यकता पर्ने हुनाले यस्ता विशेष आवश्यकताहरूलाई राहत सेवामा समावेश गर्नुपर्छ ।
  • भूकम्पका कारणले धेरै अपाङ्गता भएका व्यक्तिहरूले आफूले नियमित सेवन गर्नुपर्ने औषधीहरूबाट वञ्चित भइरहनुपरेको छ । तसर्थ, यस्तो अवस्थामा रहेका व्यक्तिहरू खोजेर तत्काल औषधीको व्यवस्था गरिदिनुपर्छ ।
  • आफ्ना परिवारका सदस्यसँग मात्र बसिरहेका बौद्धिक अपाङ्गता भएका व्यक्ति/बालबालिका वा अटिजम प्रभावित बालबालिका वा मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई भूकम्पपछि ठूलो समूहमा वा अन्य मानिसहरूसहितको समूहमा सेल्टरमा रहन असहज हुनसक्छ । तसर्थ, सेल्टरमा पनि उनीहरूलाई आफ्नो परिवारसँग मात्र बस्न पाउने व्यवस्था मिलाउनुपर्छ ।
  • बस्न वा सुत्न र दैनिक क्रियाकलापहरू गर्न सहयोगी वा उपयुक्त अनुकूलताको आवश्यकता पर्ने गम्भीर अपाङ्गता भएका व्यक्तिहरूलाई सेल्टरमा सकेसम्म यस्तो व्यवस्था मिलाउने प्रयास गर्नुपर्छ ।
  • भूकम्प प्रभावित बहिरा व्यक्तिहरूका लागि राहत सामग्री वितरणलगायत विभिन्न सहयोग उपलब्ध गराउँदा साङ्केतिक भाषाका दोभाषेको व्यवस्था गर्नुपर्छ ।
  • सबै पुनःस्थापनाका कार्यक्रम अपाङ्गता समावेशी हुनुपर्छ र पुनःस्थापनाका कार्यक्रमहरू निर्माण गर्दा वा कार्यान्वयनको योजना बनाउँदा अपाङ्गता भएका व्यक्ति वा तिनका प्रतिनिधिहरूको सहभागितामा गरिनुपर्छ र यसको संयुक्त अनुगमनको व्यवस्था गरिनुपर्छ ।
  • भूकम्पले उत्पन्न गरेको त्रासका कारणले मनोसामाजिक समस्यामा रहेका अपाङ्गता भएका बालबालिका/व्यक्ति वा माथि उल्लेखित समूहमा पर्ने सबै मानिसलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्छ ।

वर्तमान विपद्को समयमा खोजी तथा उद्धारसँगै राहतका र अब विस्तारै पुनःस्थापनाका लागि नेपाल सरकारले आफूले सकेको गरिरहेको छ भने यसमा विभिन्न व्यक्ति एवं मानवीय सहयोगसम्बन्धी संस्थाहरूले आ-आफ्ना ठाउँबाट सघाइरहेका छन् । अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाहरूले समेत विभिन्न प्रभावित जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्ष्य गरेर राहत कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले समेत विभिन्नस्तरमा त्यस किसिमका क्रियाकलापमार्फत आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै लगिरहेको छ । NFDN President Shudarson Subedi Distributing Releifराष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुबेदि भुकम्पपिडितलाई राहत वितरण गर्दै भूकम्पपछिका दिनहरूमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गरेका प्रयास यस्ता छन्-

  • महासङ्घले विपद्‌बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई राहत तथा पुनःस्थापना सेवामा पहुँच पुर्‍याउनेआवश्यक कामहरू गर्न केन्द्रमा कार्यदल र डेस्क स्थापना गरेर काम गरिरहेको छ ।
  • विभिन्न जिल्लामा रहेका सदस्य संस्था, क्षेत्रीय कार्यालय र जिल्ला च्याप्टरहरूमार्फत भूकम्प प्रभावित र ज्यान गुमाउन पुगेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने कामलाई अघि बढाइरहेको छ ।
  • हाल राज्यका साथै अन्य विभिन्न सरोकारवालामार्फत भइरहेका खोजी, उद्धार तथा राहतका सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्नकालागि सबै सरोकारवाला निकायहरूसँग पैरवी, लविङ, बैठक गर्ने, ज्ञापनपत्रहरू दिने र सञ्चार माध्यमबाट यो सवाललाई उठाउने जस्ता काम गरिरहेको छ ।
  • महासङ्घले सबै सरोकारवाला र सदस्य संस्थाहरूसँग समन्वयगरीराहत सङ्कलनकालागि काम अगाडिबढाउने र हाल असाध्यै अप्ठ्यारो अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल उपयुक्त सेल्टरको व्यवस्था गर्न र त्यहाँ सार्न पहल गर्ने कामसमेत गरिरहेको छ ।
  • महासङ्घले भइरहेका राहत वितरण र सहयोग कार्यक्रमहरूमा भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्‍याउन आवश्यक समन्वय र पैरवीहरू गरिरहेको छ । त्यसै गरी प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न निकायसँग समन्वयगरीराहत नपुगेका स्थानहरूमा राहत सामग्री पनि उपलब्ध गराइरहेको छ ।
  • युनिसेफ र सीबीएमसँग साझेदारी गरी १७ बटा प्रभावित जिल्लामा भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्नुका साथै उनीहरूका आवश्यकता पहिचान गरी त्यसलाई सम्बोधन गराउने थप काम थालिसकेको छ ।
  • नेपाल सरकारले नेतृत्व गरिरहेको र राष्ट्रसङ्घीय प्रणालीलागायत विभिन्न मानवीय सहयोगसम्बन्धी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरूसमेत संलग्न रहेको विपद्को प्रभावलाई सम्बोधन गर्न सक्रिय रहेको क्लष्टर प्रणालीमा महासङ्घले आफ्नो उपस्थिति जनाएको छ । क्लष्टरका विभिन्न बैठकमा सहभागी हुन ३३ जना प्रतिनिधिलाई संलग्न गराएको छ ।

अपाङ्गता अधिकारका क्षेत्रमा काम गरिरहेका राष्ट्रियस्तरका अरू संस्थाहरूले पनि भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई लक्ष्य गरी राहत सामग्री वितरण गर्ने, सहायक सामग्री वितरण गर्ने, अस्थायी टहरा बनाउने, समन्वय र पैरवी गर्ने, सेल्टर सुविधा उपलब्ध गराउने, रेफरल सेवा दिने जस्ता काम गरिरहेका छन् । यसरी केन्द्रबाट योगदान पुर्‍याउनेहरूमा मुख्यरूपमा नेपाल नेत्रहीन सङ्घ, इन्डिपेन्डेन्ट लिभिङ सेन्टर, नेपाल अपाङ्ग महिला सङ्घ, नेपाल अपाङ्ग सङ्घ जोरपाटी, नेपाल अपाङ्ग मानव अधिकार केन्द्र, नेपाल अन्धा कल्याण सङ्घ, पुनःस्थापना एवं विकासका लागि स्रोत केन्द्र नेपाल, भक्तपुर सीबीआर, नेपाल अपाङ्ग महिला समाज ललितपुरलगायतका संस्था छन् । प्रभावित जिल्लामा रहेका राष्ट्रिय अपाङ्ग महासङ्घका सदस्य संस्थाहरू विपद्को प्रभाव रहँदा रहँदै पनि सक्रियरूपमा भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई लक्ष्य गरी राहत एवं पुनःस्थापनाका काममा सक्रिय रहेका छन् । विशेषगरी ती संस्थाले आफूले काम गर्ने वर्ग एवं क्षेत्रका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने र पीडितहरूका निम्ति खाद्यान्न, लुगाकपडा, अस्थायी वासस्थानका लागि त्रिपालहरू एवं जस्तापाता, अपाङ्गताको प्रकृति अनुसारका सहायक सामग्री, औषधी तथा सेनिटरी प्याडहरूका साथै अन्य आवश्यक सामग्रीहरू सङ्कलन एवं वितरण गरिरहेका छन् । people with disabilities staying in temporary shelters in Jawalakhelअपाङ्गता भएका व्यक्तिहरू जावलाखेल स्थित अस्थायी सिविरमा इन्डिपेन्डेन्ट लिभिङ सेन्टर, नेपाल अपाङ्ग महिला सङ्घ, नेपाल अपाङ्ग सङ्घ जोरपाटी, आरसीआरडी नेपाल जस्ता संस्थाको पहल र महासङ्घको समन्वयमा काठमाडौं उपत्यकाभित्र भूकम्पका कारणले घरबास गुमाउन पुगेका वा बस्न नमिल्नेगरी घर वा डेरा भत्किएर प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि ललितपुरको जाउलाखेल, काठमाडौंको भृकुटीमण्डप र जोरपाटी, भक्तपुर जस्ता केही स्थानमा अस्थायी सिविरहरू बनाइएको छ । त्यस किसिमका सिविरमा बसिरहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि ती संस्थाले सरकारी निकायका साथै अन्य क्षेत्रबाट समेत राहत सामग्री जुटाएर खाने, बस्ने व्यवस्था मिलाइरहेका छन् । जाउलाखेलमा रहेको सिविरका अगुवा तथा इन्डिपेन्डेन्ट लिभिङ सोसाइटीका बरिष्ठ सल्लाहकार भोजराज श्रेष्ठ सिविरमा केही सरकारी निकायबाट प्राप्त हुने राहत सामग्री सुरुको अवस्थामा प्राप्त भएको भए पनि पछिल्ला दिनहरूमा निजीस्तरबाट प्राप्त हुने सीमित स्रोत एवं र यस संस्था अन्तर्गत काम गरिरहेका स्वयंसेवकहरूले गरेको योगदानको भरमा खाने, बस्ने व्यवस्था गर्न सकिएको बताउनुहुन्छ । यसपालीको शक्तिशाली भूकम्पले निम्त्याएको विनाशका बेलामा अपाङ्गता भएका व्यक्तिहरूले सहयोगमात्रै खोजेनन्, आफैं पनि सहयोगी हात बनेर भूकम्प पीडितहरूको घाउमा मल्हम लगाउन पुगे । काठमाडौँको आरूबारीका सुशील अधिकारी र वासुदेव अधिकारी दुवै आँखा देख्दैनन् तर यी दाजुभाइलाई उनीहरूको अपाङ्गताले भूकम्पले थलिएका मानिसहरूलाई सहयोग गर्न रोकेन । उनीहरू दुवै जना काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विभिन्न गाउँमा पुगेर राहत बाँडे । उनीहरूले अपाङ्गता भएका र नभएका दुवै खाले पीडितलाई आफूले सकेको खाद्यान्न, त्रिपाल, लुगाकपडा, रेडियो र अन्य सहयोग सामग्रीहरू वितरण गरे । Sushil Adhikari distributing releif (सुशील अधिकारी पीडितलाई कपडा बाँड्दै ।) भक्तपुरकी श्रृष्टी के.सी. दुवै आँखा देख्दिनन् । तर, यस महाविपत्तिको समयमा आफ्नो संस्था ब्लाइन्ड रक्समार्फत धेरैजना भूकम्पले पीडित अपाङ्गता भएका व्यक्तिहरूको लागि उनी सहारा बनिन् । उनले भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाउँमा पुगेर राहत बाँडिन् । उनले भूकम्पले गर्दा त्रसित भएर बसेका बालबालिकाका लागि मनोसामाजिक परामर्श कार्यक्रम राखिन् । उनले पनि भूकम्प पीडितहरूलाई त्रिपाल, खाद्यान्न, किताब-कापी, सेतो छडी र ह्विलचियरहरू प्रदान गरिन् । Shristi KC donating wheelchair(भूकम्पबाट प्रभावित व्यक्तिलाई ह्विलचियर प्रदान गर्दै श्रृष्टी के.सी.) गोरखाकी सरिता लामिछानेको घर भूकम्पले भत्काइदियो । यस अर्थमा उनी पनि भूकम्प पीडित हुन् । तर, आफ्नो पीडा मनभित्र लुकाएर उनी पनि अरूलाई सहयोग गर्न घरबाहिर निस्किइन् । आफू दृष्टिविहीन भए पनि आफ्नो अपाङ्गतालाई जितेर उनी ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा पुगेर भूकम्पबाट पीडित परिवारहरूलाई आफूले सकेको राहत बाँडिन् । आफू जस्तै दृष्टिविहीन महिलाहरूलाई सबल बनाउन सुरू गरेको प्रयत्न नामक संस्थामार्फत उनले केही दृष्टिविहीन महिलालाई अस्थायी घर निर्माण गर्न सहयोगसमेत गरिन् । Sarita Lamichhane distributing releif (भूकम्पले घरविहीन बनेकी इच्छा के.सी.लाई आफ्नो पहलमा अस्थायी टहरा निर्माण गरेपछि तस्बिर खिचाउँदै सरिता लामिछाने ।) सुशील, वासुदेव, श्रृष्टी र सरिता प्रतिनिधिपात्र मात्रै हुन् । यसपालाको भूकम्पपछिको राहत र पुनःस्थापनामा अपाङ्गता भएका व्यक्तिहरू सहयोगी बनेर देखापरेका छन् । उनीहरूले अपाङ्गता भएका र नभएका दुवै किसिमका पीडितलाई सहयोग गरेर अपाङ्गता असक्षमता होइन एउटा अवस्थामात्र हो भन्ने कुरा थप पुष्टी गरेका छन् । विभिन्न कारणहरूले गर्दा भूकम्पपछिका दिनहरूमा हुने राहत वितरण एवं पुनःस्थापनाको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रभावकारी ढङ्गबाट समेट्न भने नसकिएको देखियो । त्यस कुरालाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आफ्ना सदस्य संस्थाहरूको साथ र सहयोग लिएर प्रभावित जिल्लाहरूमा राहत पुनर्निर्माण र पुनःस्थापनामा अपाङ्गताका सवालहरूलाई समेट्न आवश्यक पैरवी कार्यक्रमको तयारी गरिरहेको महासङ्घका महासचिव टीका दाहाल बताउनुहुन्छ ।

logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search