भकभकेपन: भ्रम र वास्तविकता
सञ्जयकुमार झा
भकभकेपन एक प्रकारको स्वर तथा बोलीसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिहरू बोल्दा बीचमा अड्किने वा एउटै अक्षर वा शब्दहरू दोहोर्याउने गर्छन् । यो समस्या सामान्यतया कुनै पनि उमेरमा देखा पर्ने भए पनि धेरैजसो बाल्यकालमा बोली र भाषाको विकास सुरु हुने बेलामा देखा पर्ने गर्छ । यो समस्या केटीहरूमा भन्दा केटाहरुमा चारगुणा बढी देखा पर्छ ।
भकभकेपन कुनै रोग होइन । यो एक प्रकारको व्यवहार (behavior) हो । यसलाई थेरापी सेवाको सहयोगमा कम गराउन सकिन्छ ।
मानिसमा भकभकेपन आउनुको कारण यही नै हो भनेर ठोकुवा गर्ने कुनै आधारहरू हालसम्म फेला परेका छैनन् । यसमा वैज्ञानिकका विभिन्न मत छन् । भकभकेपनको समस्या वंशाणुगत, सामाजिक, वातावरणीय दबाब र दुर्घटना आदिबाट पनि हुन सक्छ । विश्वको कुल जनसङ्ख्याको झन्डै १ प्रतिशत मानिसमा कुनै न कुनैरूपमा भकभकेपनको समस्या रहेको अनुमान गरिन्छ ।
भकभके बोली भएका व्यक्तिहरूमा स्वर तथा बोलीमा समस्या हुने भएकाले उनीहरूलाई आफ्ना भावना स्वर तथा बोलीमार्फत व्यक्त गर्न समस्या हुने गर्छ । बोलीमा आएको यो समस्याका कारण यस्तो समस्या भएका व्यक्तिहरू आफ्ना भावना अभिव्यक्त गर्न धक मान्ने र हीन भावनाको शिकार हुने गरेका पाइन्छन् । अझ यस्तो समस्या भएका व्यक्तिहरूलाई परिवार र समुदायमा उनीहरूको बोली तथा स्वरलाई आधार बनाएर खिसी गर्ने, गिज्याउने, जिस्क्याउने र अपमानित तुल्याउने पनि गरिने भएकाले उनीहरू सहज र समान आधारमा समुदायमा सहभागी हुन र आफूलाई पर्याप्तरूपमा अभिव्यक्त गर्न सकिरहेका हुँदैनन् । स्वर तथा बोलीको समस्यालाई मात्रै आधार बनाएर रोजगारी वा अन्य त्यस्तै अवसरहरूबाट समेत पनि वञ्चित गर्ने गरिन्छ ।
नेपाल भकभके सङ्घले सन् २००४ देखि नेपालमा भकभके बोली भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न डेनमार्कको भकभके सङ्घ (FSD) सँग लघु परियोजना (Mini Project) मा साझेदारी गरेर काम गरिरहेको छ । यो परियोजना नवीकरण हुँदै हालसम्म पनि चलिरहेको छ । तर, FSD ले जुन २०१५ देखि भने साझेदारी गर्न नसकिने कुरा जानकारी गराएको छ । त्यसपछि भने संस्थाका लागि समस्या पर्ने देखिएको छ ।
नेपाल भकभके सङ्घले भकभके बोली भएका व्यक्तिहरूका सवालको नेतृत्व गर्ने सिलसिलामा विभिन्न प्रकारका समस्याको सामना गर्दै आएको छ । राज्यका नीति निर्माण तहमा भकभके बोली भएका व्यक्तिका सवाललाई सम्बोधन गराउन चुनौतीपूर्ण देखिएको छ । संस्था सञ्चालनमा मानव स्रोतको अपर्याप्तता महशुस भइरहेको छ भने संस्थाको सूचना सङ्कलन, अनुगमन, व्यवस्थापन, अभिलेखीकरण प्रणाली र यसको अभ्यासलाई छिटो छरितो बनाउँदै समयानुकूल व्यवस्थापन गर्नमा कठिनाइ भइरहेको छ । यसैगरी भकभके बोली भएका व्यक्तिहरूका लागि संस्थाले दिइरहेका सेवा र परामर्शहरूमा बढीभन्दा बढी भकभके बोली भएका व्यक्तिहरूको पहुँच पुर्याउन र संस्थाको दिगो विकासमा पनि कठिनाइ मुख्य समस्याका रूपमा रहेका छन् ।
देशभरि छरिएर रहेका भकभके बोली भएका व्यक्तिहरूले विभिन्न तहमा भोग्ने समस्याहरूलाई विश्लेषण गर्दा उनीहरूलाई चाहिने आवश्यक परामर्श, उपचार र थेरापी सेवाहरु सहज एवं सुलभरुपमा प्राप्त गर्नमा समस्या छ । परिवार र समाजमा घुलमिल वा सहभागी हुनमा अवरोध छ । रोजगारी प्राप्त गर्न पनि समस्या र अवरोध छन् । विद्यालयमा सिकाइ प्रक्रियामा समानरूपमा सहभागी हुनमा समस्या वा अवरोध छन् । यी समस्याका कारणहरूलाई हेर्दा मुख्यरूपमा समाजमा भकभकेपनको विषयमा जनचेतनाको अभाव छ । समाजमा भकभके बोली भएका व्यक्तिहरूप्रतिको दृष्टिकोण र व्यवहार सकारात्मक पाइँदैन । स्थानीयस्तरमा सुलभरूपमा थेरापी सेवाहरु उपलब्ध छैनन् । नेपालमा स्पिच थेरापी दिन सक्ने मानव स्रोतको अत्यन्त कमी छ । अस्पतालबाट थेरापी सेवा प्राप्त गर्न ज्यादै महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । सरकारी निकायबाट यस विषयमा कुनै विशेष कार्यक्रमहरू नहुनु आदि यसका मुख्य कारणहरू रहेका छन् ।
अझ त्यसमा पनि विभिन्न जिल्लाका विकट गाउँहरूमा रहेका भकभके बोली भएका व्यक्तिहरूले पाउने सेवा तथा सहयोगहरू पर्याप्तमात्रामा पाउन सकेका छैनन् । यो समस्याको मुख्य कारणको रूपमा आर्थिक स्रोतको अभाव, पर्याप्त नेतृत्व र पैरवी गर्ने क्षमताको अभाव, स्थानीय स्तरमा अपाङ्गताको सवालमा काम गर्ने संस्था र सरकारी निकायहरूसँग समन्वय गर्न नसक्नु आदि रहेका छन् ।
नेपाल भकभके सङ्घका मुख्य लाभान्वित व्यक्तिहरू भकभके बोली भएका व्यक्ति र तीनका अभिभावक हुन् । नेपाल भकभके सङ्घले माथि उल्लेख गरिएका समस्याहरूको केही हदसम्म भए पनि समाधान गर्ने हेतुले लक्षित वर्गका निम्ति मुख्य गरी दुई किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यसमा पहिलो हो- व्यक्तिको बोलीमा सुधार ल्याउन गरिने कार्यक्रमहरू । यस अन्तर्गत भकभके बोली भएका व्यक्तिलाई आवश्यक स्पिच थेरापी सेवा सहज तुल्याउन लागि परामर्श तथा रेफरल सेवाहरु प्रदान गरिन्छ भने व्यक्ति आफैंले पनि बोलीमा सुधार ल्याउनका लागि गर्न सक्ने सामूहिक अभ्यास (Group Therapy/Self therapy) । दोस्रोमा भकभके बोली भएका व्यक्तिहरूलाई नेपाल भकभके सङ्घको सञ्जालमा संगठित गर्ने, उनीहरूको क्षमता विकास गर्ने, भकभकेपन र भकभके बोली भएका व्यक्तिहरूका सवालका बारेमा जनचेतना जगाउने, सञ्जाल निर्माण गर्ने र सरकारका नीति निर्माण तहमा आफ्ना सवालहरूलाई स्थापित गर्न पैरवी गर्ने जस्ता कार्यक्रम पर्छन् ।
नेपाल भकभके सङ्घ, धुम्बाराही, काठमाडौं
(Nepal Stutters’ Association, NSA)
Dhumbarahi, Kathmandu, Nepal.
Ph. No. 01-4374746,
E-mail: nepalsa@gmail.com