नाता खोज्दै नदीहरू
– नरबहादुर लिम्बू “तेह्रथुमे”
सङ्कल्पसँगै उम्रिएर
सुदूर लक्ष्यसँगै लहसिएर
उ केवल ओरालो बग्छ
दक्षिणतिर उर्लन्छ
मात्र नामको स्वतन्त्रता
मात्र आभासको निर्बन्धता
छातीमा च्यापी
धङ्गधङ्गीका बुढा बकैनाका रुखहरू
जरैबाट उखेल्दै
भङ्गालैपिच्छे अँगालो थपेर
खोल्सा र कुलेसाहरूलाई
स्नेहको चुम्मन बाँड्दै
मथिङ्गलहरू सोहोरेर
कलुषितताहरूको डङ्गुर उधिन्दै
उ आत्मीयता खोज्दैछ
उ आफ्नो हराएको नाता पहिल्याउँदैछ ।
सिमित स्वतन्त्रतामा बाँच्न वाध्य ऊ
उकालो बग्ने उसलाई अधिकार छैन
बक्रता ऊबाट पहिलै खोसिएको छ
ऊ केवल सिधा हिँड्छ
ऊ केवल सोझो बग्छ
त्यसैले त
ऊ मान्छेभन्दा सिधा छ
मान्छेभन्दा बिल्कुल सिधा
कसैको बिगार नगर्ने सादा छ
उसको प्रण
नाता पहिल्याउनु हो
वंशावलीको तखता थप्नु हो
ऊ नदी हो नदी ।।
मान्छे जस्तो ऊ स्वार्थी छैन
मान्छेले जस्तो
नाता भत्काउँदैन
निर्जनतामा होस् वा शहरमा
झुपडीमा होस् वा महलमा
पछौटेपनको मरुभूमिमा होस्
वा
वैभवशाली आलिशान देशका गोलार्द्धहरूमा
ऊ नाता चिन्छ
कुटुम्ब बुझ्छ
मान्छे जस्तो
आफन्तको आगमनमा
नाक खुम्च्याउँदैन
दैलोमा भोटेकुकुर बाँधी
ढोका थुन्दैन ।।।