नेपालमा दृष्टिविहीन क्रिकेटको विकास र चुनौती

– सेनानी पवन घिमिरे

Pawan Ghimireसंसारमा अनेक प्रकारका मानिस हुन्छन् र उनीहरूको अपाङ्गता भएका व्यक्तिहरूप्रतिको दृष्टिकोण पनि फरक फरक हुन्छ । कसैको नजरमा उनीहरू धर्तीका भार हुन्, कसैका लागि दयाका पात्र त कसैका लागि पेशा गर्ने माध्यम । थोरैका लागि मात्र उनीहरू समाजका सामान्य नागरिक हुन् । सरकारी दृष्टिकोण हेर्ने हो भने अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिष्ठा जोगाउन तथा अपाङ्गता भएका व्यक्तिहरूको प्रशंसा बटुल्नका लागि भए पनि अपाङ्गता भएका व्यक्तिहरू प्रति लक्ष्य गरेर धेरै नीति निर्माण तथा सन्धि, महासन्धिहरूमा हस्ताक्षर गरिएको पाइन्छ । सिद्धान्तमा ती राम्रा देखिए पनि व्यवहारमा लागू हुँदैनन् र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा खासै कुनै परिवर्तन आएको पनि पाइँदैन ।

राज्यले अपाङ्गता भएका व्यक्तिहरू प्रति लक्ष्य गरेर अनुमोदन गरेको महासन्धिमध्ये संयुक्त राष्ट्रसङ्घको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि पनि एक हो । यो महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदप्रतिको अधिकारलाई धारा ३० मा उल्लेख गरेको छ ।

दिनको १६ घण्टासम्म लोडसेडिङमा बस्ने बानी परेका हामी नेपालीलाई दृष्टिविहीनताको अनुभव कुनै न कुनैरूपमा भएकै छ । आफू पाँच मिनेट अन्धकारमा बस्नुपर्दा अत्तालिने साङ्ग समाजले जीवनभरि अन्धकारमा बाँच्न बाध्य दृष्टिविहीनहरूको क्षमता र उत्साहको अबमूल्यन गर्नु स्वाभाविक पनि हो । वास्तवमा दृष्टिविहीनता कुनै अभिशाप होइन न त यो जीवनको अन्त्य नै हो । दुर्घटना, गरिबी तथा उचित औषधी उपचारको कमीबाट निम्तिने यस्ता यथार्थ जीवनका लक्ष्य प्राप्तिका लागि मार्ग परिवर्तनमात्र हुन् । यदि कुनै दृष्टिविहीनलाई उसको केही मनोवैज्ञानिक आवश्यकता र अनुकूल वातावरणको परिपूर्ति गरिदिने हो भने उनीहरू पनि साङ्ग मानिस जस्तै सुखी र उर्जाशील हुन सक्छन् । उनीहरूका दुःख र पीडालाई उनीहरूको दृष्टिविहीनतासँग जोडेर हेर्नु दृष्टिविहीनहरूप्रति अन्न्याय हुन जान्छ ।

अपाङ्गता जगत अधिकार र अस्तित्वको लडाइँमा छ । यो आन्दोलन एउटै क्षेत्रबाट भन्दा बिभिन्न क्षेत्रबाट गरिएको खण्डमा परिणाममुखी हुने यथार्थलाई मनन गर्दै तथा दृष्टिविहीनहरूको खेलकुदप्रतिको अधिकार सुनिश्चित गर्ने तथा उनीहरूको शारीरिक र मानसिक विकास गर्ने उद्देश्यले नेपालमा दृष्टिविहीन क्रिकेटको सुरुवात भएको हो ।

नेपालमा दृष्टिविहीन क्रिकेटको इतिहास सन् १९९० को दशकतिर शिक्षक आदान प्रदान कार्यक्रम अन्तरगत भारत गएका दृष्टिविहीन विद्यालयका शिक्षकहरूले त्यहाँबाट भित्र्याएको अनुमान गर्न सकिन्छ । यो सर्वप्रथम भारतीय सीमा क्षेत्र तथा पूर्वी नेपालका दृष्टिविहीन विद्यालयमा खेलिन्थ्यो । बज्ने बल र काठको मुङ्ग्राको सहायताले खेलिने त्यसबेलाको क्रिकेटको खासै कुनै नियम थिएन र धेरैलाई खेलिएको खेलको नाम क्रिकेट हो भन्ने थाहा पनि थिएन । सन् २००६ मा पाकिस्तान दृष्टिविहीन क्रिकेट परिषद्को प्राविधिक सहयोगबाट यो खेलले नेपालमा विधिवत प्रवेश पायो । बज्ने बल र नदेख्नेहरूलाई तीन समूह (b1, b2 र b3) मा बिभाजन गरेर यो खेल खेल्ने गरिन्छ ।

Geeta Poudel doing wicketkeeping
अन्तराष्ट्रिय खेलमा गिता पौडेल विकेटकिपिङ्ग गर्दै

नेपालमा दुई महिलासहित ३३ जना दृष्टिविहीनलाई प्रशिक्षण दिएर सुरु गरिएको यो खेलसँग आबद्ध हुने खेलाडीको सङ्ख्या करिब ४५० भन्दा बढी छ । त्यसमध्ये १०० भन्दा बढी महिला छन् । काठमाडौंको भृकुटीमण्डपको सानो खेल मैदानबाट सुरु भएको यो खेल हाल नेपालका १२ वटा जिल्लामा खेलिन्छ । पूर्वमा धरानदेखि पश्चिममा कञ्चनपुरसम्म यो खेलको विस्तार भइसकेको छ ।

दृष्टिविहीन क्रिकेट खेल्ने विश्वका ३० राष्ट्रमध्ये दृष्टिविहीन महिलालाई क्रिकेट खेलाएर उनीहरूको राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्ने नेपाल नै पहिलो देश हो । यस कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाली दृष्टिविहीन महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन हुन गई साहस र हिम्मतको उदाहरणसमेत बन्न सफल भएका छन् ।

नेत्रहीन क्रिकेट सङ्घको नेतृत्वमा नेपाली नेत्रहीन क्रिकेट टोलीले २००८ र २०१० मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । २०१२ डिसेम्बरमा भारतको बेङ्लोरमा सञ्चालित पहिलो दृष्टिविहीन टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट पुरुष दृष्टिविहीन क्रिकेट टोलीलाई सहभागी गराउन सफल भयो । अझ त्यसमा पनि संसारमै पहिलो पटक पुरुष क्रिकेट टोलीमा नेपालका तर्फबाट भगवती भट्टराई एवं रूपा बलाल पुरुष खेलाडीहरूसँगै प्रतियोगितामा सहभागी भएको कुराले त संसारैभरि चर्चा पायो ।

नेपालमा जतिबेला दृष्टिविहीनहरूका निम्ति क्रिकेट खेलको सुरुवात गरियो त्यतिबेलादेखि नै पुरुषहरूसँगै मिलेर केही महिलाले समेत राम्रो खेल प्रदर्शन गरेको परिणामस्वरूप देशभरि हाल १०० भन्दा बढी महिला खेलाडी नियमित खेल अभ्यास गरिरहेका छन् । चार ओटा राष्ट्रिय टोली विभिन्नस्तरका खेल प्रतियोगितामा सहभागी भइरहेका छन् । यतिमात्र होइन हामीले नेपालमा गरेको प्रयासबाट प्रभावित भएर हाल इङ्ल्यान्ड एवं पाकिस्तानले संसारकै दोस्रो र तेस्रो महिला दृष्टिविहीन क्रिकेट टोली गठन गरिसकेका छन् ।

Bhagwati Bhattarai, captain of Nepalese Blind women team receiving 1st prize
नेपाली राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलीकि कप्ताल भग्वती भट्टराई बिजयी शिल्ह ग्रहण गर्नुहुदै

सन् २००९ तिरको कुरा हो, नेपालमा दृष्टिविहीन महिलाले क्रिकेट खेलेको समाचार गुगलमा पढेपछि बेलायतको गैरसरकारी संस्था क्रिकेट फर चेन्ज की संस्थापक अध्यक्ष नेपालमा आइन् । उनले यहाँका दृष्टिविहीन महिलाले क्रिकेट खेल हेरिनन् । बेलायतमा फर्केर त्यहाँका दृष्टिविहीन महिलाहरूलाई समेत क्रिकेट सिकाउने र एक दिन क्रिकेट प्रतियोगिता खेल्न नेपाल फर्कने बाचासमेत गरिन् । त्यसैको परिणाम स्वरूप २०१४ अक्टुबर ९ देखि ११ सम्म बेलायतबाट आएको इभानको टोलीले ललितपुरको पुलचोक इन्जिनियरिङ खेल मैदानमा नेपाली दृष्टिविहीन महिलाको टोलीसँग खेल खेल्यो र ३-० ले पराजित हुन पुग्यो । यसरी नेपाल संसारकै पहिलो दृष्टिविहीन क्रिकेट टोली तयार गर्नेमात्र होइन संसारमै पहिलो पटक दृष्टिविहीन महिलाको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने राष्ट्र पनि बन्न पुग्यो ।

नेपालमा यस खेलको विकास मनोरनञ्जन र बेरोजगार दृष्टिविहीन युवालाई अल्झाउने माध्यमको रूपमा मात्र विकास गरिएको होइन । क्रिकेट दृष्टिविहीनहरूका लागि अत्यावश्यक पुनस्थापनाको संयन्त्र पनि हो, जसबाट उनीहरूको सामाजिकीकरणका लागि आवश्यक गमनशीलताको तालिम, नेतृत्व विकास, दैनिक जीवनयापन गर्न सीप, अनुशासन तथा सामूहिक भावना र जिम्मेवारी बहन गर्नसक्ने क्षमताको विकास गर्न सकिन्छ । सञ्चारका माध्यमहरूद्वारा उनीहरूको क्षमतालाई संसारभरि चिनाउन मद्दत गर्नुका साथै क्रिकेट दृष्टिविहीनहरूको सवाललाई राज्यको नीति निर्माणतहसम्म पुर्‍याउने माध्यमका रूपमा पनि विकास हुँदै आएको छ ।

माओवादीले थापेको विद्युतीय घरापमा परेर दुवै आँखा गुमाएका विक्रमबहादुर रानालाई क्रिकेटले नयाँ जीवन नै दिएको छ । क्रिकेट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएका उनले त्यही बाटो पछ्याउँदै एसियाली खेलमा समेत आफ्नो सहभागितालाई सुनिश्चित गरिसकेका छन् । अर्का खेलाडी तथा नेपाली टोलीका राष्ट्रिय कप्तान कीर्तन श्रेष्ठको चर्चा स्वदेशमा भन्दा विदेशमा बढी छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा धेरै पुरस्कार पाइसकेका उनी विपक्षीहरूका लागि कडा चुनौती हुन् ।

दुई वर्षसम्म पढाइ छाड्न बाध्य महिला टोलीकी राष्ट्रिय कप्तान भगवती हाल क्रिकेटले प्रदान गरेको छात्रवृत्तिको मद्दतले हाल आफ्नो पढाइलाई निरन्तरता दिरहेकी छिन् । उनी क्रिकेटलाई आफ्नो भगवान ठान्छिन् । समाजमा दृष्टिविहीन र धर्तीका बोझ भनेर चिनिने चितवनकी मनकेसी चौधरीलाई सामाजिकरूपमा स्थापित गराउन क्रिकेटको निकै ठूलो भूमिका छ । क्रिकेटबाट कमाएको प्रशिद्धिका कारण हाल उनी समाजमा उदाहरणको पात्र बन्न सफल भएकी छिन् । क्रिकेटले दृष्टिविहीनहरूमा ल्याएको परिवर्तनका यी त केही उदाहरणमात्र हुन् । यस्ता धेरै व्यक्ति छन्, जसलाई क्रिकेटले बाँच्न सिकाएको छ र उनीहरू क्रिकेटलाई जीवनको आधार ठान्छन् ।

Army B1 player Ratna Rai Batting
नेपाल आर्मीका B1 खेलाडी रत्न राई ब्याटिङ्ग गर्दै र अर्का खेलाडी बद्री राई रन लिदै

खेलकुद आफैंमा एउटा अधिकार हो । यसका साथै यसले अपाङ्गता भएका व्यक्तिहरूका समानता, स्वतन्त्रता, सामाजिक सहभागिता आदि अन्य अधिकार जस्तै प्रत्यक्ष सरोकार राख्छ । तर, वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने खेलकुदको बहु-आयामिकतालाई गौण विषयका रूपमा लिने परिपाटी छ । स्वयं अपाङ्गता क्षेत्रभित्र पनि खेलकुद सञ्चालन गर्ने संस्थाहरूलाई त्यति महत्वका साथ हेरिंदैन । झन् राज्यलाई त अपाङ्गता भएका व्यक्तिहरूले खेल्न सक्छन् र उनीहरूले समेत अन्य साङ्ग खेलाडीहरूसरह राष्ट्रका लागि खेल्न सक्छन् भन्ने कुरामै शङ्का रहेको देखिन्छ । खेलकुद मन्त्रालयले वार्षिकरूपमा खेलकुद विकासका लागि छुट्टाउने बजेटबाट त्यसके पुष्टि हुन्छ । साङ्गहरूको खेलकुद गतिविधि सञ्चालनका लागि २७ करोड रुपियाँ छुट्याउने मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद विकासक लागि जम्मा १० लाखमात्र छुट्यएर सम्पूर्ण अपाङ्गता जगतकै अवमूल्यन गरिरहेको छ ।

विक्रम संवत २०३२ देखि आधिकारिकरूपमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूले आफूलाई खेलकुदमा समावेश गरे पनि हालसम्म कुनै उल्लेख्य फड्को मार्न नसक्नुको मार हाल यस खेलकुदले भोगिरहेको छ । खेलकुद परिषद्‍मा अपाङ्गता भएकाहरूको खेलकुदसम्बन्धी कुनै नीति नहुनु तथा अवैज्ञानिक खेलकुद नीतिका कारणबाट यो सङ्घ खेलकुद परिषद्‍मा सङ्घको रूपमा नभई क्लबको रूपमा मात्र सिमित हुन बाध्य छ । कार्यलय, खेलकुद सामग्री, खेल मैदान र उचित तथा नियमित व्यावसायिक प्रायोजनको अभावबाट यो सङ्घ गुज्रिइरहेको छ । सुनिश्चित भविष्यको खोजीमा खेलाडी पलायन हुने क्रम पनि जारी छ ।

खेलकुद के साङ्ग के अपाङ्गता भएका व्यक्ति, सबैको जीवनको अभिन्न अङ्ग हो । यसको बहु-आयामिकतालाई मनन गरी अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदप्रतिको अधिकार सुनिश्चित गरी उनीहरूको शारीरिक, मानसिक विकासमा जोड दिनुका साथै उनीहरूको सामाजिकीकरण तथा राज्यको विकास-निर्माण प्रक्रियामा सहभागी गराउने दायित्व राज्यले लिनुपर्छ । जबसम्म राज्यले अपाङ्गता भएका व्यक्तिहरूका प्रत्येक मुद्दालाई गम्भीररूपमा लिंदैन र स्वयं अपाङ्गता भएका व्यक्तिहरू पनि सजग हुँदैनन् तबसम्म खेलकुदलगायतका कुनै पनि विषयहरूमा परिवर्तन आउन सक्दैन ।

– सेनानी पवन घिमिरे

नेत्रहीन क्रिकेट सङ्घ, नेपाल