अटिजम: पहिचान र उपचार

डा. सुनिता मलेकू अमात्य

हाम्रो देशमा विभिन्न जातजाति, धर्म र संस्कृति छन् । अपाङ्गतामा पनि धेरै प्रकार र त्यसमा पनि विविधता छ । हामी अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु जरुरी छ कि सबै अपाङ्गता हेर्नेवित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन । तीमध्यको एउटा हो- “अटिजम”। अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने (Neurodevelopment Disability) अपाङ्गता हो ।

बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिकरुपमा धेरैजसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् र यसै कारणले डाक्टर कहाँ लाने गर्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न  सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्षको उमेरमा गएरमात्र पहिचान हुने गरेको अवस्था छ ।

One on One activities

आजको दिनमा बालबलिका ३ वर्ष हुनु अगावै यस अवस्थाको पहिचान गर्न सम्भव भइसकेको छ । सिघ्र पहिचान गरी प्रारम्भिक अवस्थामै हस्तक्षेप गराउन सकेमा त्यस्ता बालक वा बालिकाको सञ्चारको सीप, भाषागत विकास, बौद्धिक विकास जस्ता सबै क्षेत्रमा ठूलो प्रभाव पर्ने विज्ञानले पुष्टि गरिसकेको छ ।

सानो उमेरमा अटिजमलाई कसरी चिन्ने अर्थात शंका कसरी गर्ने ?

कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १२ महिनादेखि २ वर्ष अघि नै उसमा औंलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औंलाले देखाएको बस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने  व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबलिकामा Developmental Disability को शंका गर्न सकिन्छ ।

शंका भएमा अथवा पहिचान भएमा के गर्ने ?

यस्ता उमेरका बालबालिकाको सिघ्र पहिचान भएमा प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी र खेलका माध्यमद्वारा सिकाइन्छ ।

कसले र कसरी दिने यस्तो थेरापी ?

Group Therapy Autism

बालबालिकाहरुका लागि अभिभावक नै पहिलो गुरु हुन् । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउछन् । त्यसैले सर्वप्रथम अभिभावकले तालिम लिनु आवश्यक हुन्छ र उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाँउदा खेल खेल्दै थेरापीदिंदा सबैभन्दा लाभदायक रहेको पाइएको छ ।

आफ्ना बालबालिकामा शारीरिक र भाषागत विकासबाहेक सामाजिक सञ्चारको सीप, बौद्धिक (cognitive), fine/gross motor, संवेदनात्मकसमेतको विकासमा उतारचढाव छ भने चाँढै विशेषज्ञको सल्लाह लिई सिघ्र पहिचान र प्रारम्भिक हस्तक्षेप गर्नु जरुरी हुन्छ । कुनै पनि बालबालिकमा यस्ता लक्षण पाइए सिघ्र पहिचान र प्रारम्भिक हस्तक्षेपबाट बिमुख गर्नु हुँदैन ।