अनुदानबाट भएको सकारात्मक परिवर्तन
सुर्खेतबाट एक दिनको यात्रामा पुग्न सकिने सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा दलित अपाङ्गता भएका व्यक्तिहरूले साविकको गाविसस्तरीय सञ्जाललाई एकीकृत गरी स्थापना गरेको संस्था हो – अपाङ्ग एकता समाज । विक्रम संवत् २०७५ असार ४ मा स्थापना भएको यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका लागि विभिन्न क्रियाकलापहरू संचालन गर्दै आएको छ ।
अपाङ्ग एकता समाजलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम ग्लोबलसँगको सहकार्यमा संचालित “हामीलाई पनि समावेश गर” परियोजनामार्फत सहयोग गर्यो । यस परियोजनाले निष्क्रिय अवस्थामा रहेको संस्थालाई पुनर्जीवित गराउन संस्थागत क्षमता विकास शीर्षकमार्फत सहयोग गरी महासंघमा समेत समावेश गर्यो ।
महासंघले संस्थाको अपाङ्ग एकता समाजको प्रशासनिक कार्यमा निरन्तररूपमा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ । परिणामस्वरूप अपाङ्गता भएका व्यक्तिहरू संगठित भई आफ्नो हकहित र अधिकार प्राप्तिका लागि काम गरिरहेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले २०७८ साउन २३ (१६ जुलाइ २०२१) मा “हामीलाई पनि समावेश गर” परियोजनाका क्रियाकलापमार्फत आफ्ना सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्न इच्छापत्र आह्वान गरेको थियो । समाजले पनि इच्छापत्र पेश गर्दै २ लाख ९८ हजार रुपियाँ अनुदान पाउन सफल भयो । जसबाट कम्प्युटर टेबल, कुर्सी र इन्टरनेट जडान गरियो । यद्यपि, प्रिन्टर र दराजको अभावले केही कठिनाइ भने उत्पन्न भयो ।
अनुदानकै बजेटबाट अपाङ्ग एकता समाजले २०७९ साउन ३ (१९ जुलाइ २०२२) मा गुर्भाकोट नगरपालिकामा पैरवी बैठक आयोजना गर्यो । बैठकमा नगरपालिका र महासंघका जनवकालत संयोजकले अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकताबारे जानकारी गराए । यसको फलस्वरूप, नगरपालिकाले साउन १० गते प्रिन्टर र दराज उपलब्ध गराउने निर्णय गरेर २०७९ कात्तिक (नोभेम्बर २०२२) मा प्रदान उपलब्ध गरायो । यसले गर्दा समाजको दैनिक कार्य सम्पादनलाई सहज बनायो ।
“हामीलाई पनि समावेश गर” परियोजनाबाट प्राप्त अनुदानले अपाङ्ग एकता समाजलाई पुनः सशक्त बनाएको छ । यस अनुदान कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारीका साथै परिचयपत्र वितरण जस्ता सवालमा पैरवी गर्न थप सहयोग मिलेको छ ।
यसबीच, संस्थाका पदाधिकारीहरूले वडा नम्बर १२ का जनप्रतिनिधिहरूसँग २०७९ चैत ३० (१३ अप्रिल २०२३) मा अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र र बजेट वितरणको अवस्थाबारे छलफल गर्ने क्रममा संस्थाको कार्यालय संचालनका गर्नका लागि भवनको अभाव रहेको जानकारी गराउँदै आवश्यक सहयोगका लागि अनुरोध गरे ।
छलफलपछि वडा अध्यक्षले दलित सञ्जालको भवन प्रयोग गर्न दिए तर त्यो भवन व्यक्तिको जग्गामा रहेको थाहा पाएपछि संस्थाले फेरि पालिका र अन्य वडा कार्यालयमा पैरवी गरेर २०७९ जेठ २४ (७ जुन २०२३) मा वडा नम्बर ४ मा निःशुल्क प्रयोग गर्न मिल्ने व्यवस्थासहित दुई कोठे भवन प्राप्त गर्न सफल भयो ।
संस्थाले अहिले त्यही भवनबाट आफ्नो दैनिक कार्यसम्पादन गर्नका लागि आन्तरिक स्रोतबाट १ जना अपाङ्गता भएका व्यक्तिलाई कर्मचारीको रूपमा रोजगारसमेत दिँदै आइरहेको छ ।
आफ्नो आधिकारिक कार्यालय स्थापना भएपछि संस्थाले दिगोपनका लागि स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य र समन्वय गरिरहेकोमा आर्थिक वर्ष २०८०/८१ मा गुर्भाकोट नगरपालिकामार्फत १० लाख २५ हजार रुपियाँवरावरको कार्यक्रम गर्न सफल भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकार प्राप्ति, रोजगारीको सुनिश्चिततासहित विभिन्न व्यवसायमा जोड्नका लागि संस्थाले निरन्तर काम गर्दै आइरहेको छ । विकट बस्तीका दलित समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताका क्षेत्रमा गरेको योगदान सबैका लागि प्रेरणा बनिरहेको छ ।
यो निरन्तर गरिएको पैरवीको एउटा उदाहरणमात्र हो । अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्थाहरूलाई सानो सहयोगले पनि ठूला परिवर्तनका गतिविधि गर्न सकिन्छ । त्यसैले, यस्ता संस्थालाई निरन्तर सहयोग र सहकार्यको आवश्यकता छ ।