पाँचौं अपेक्षित परिणाम : अपाङ्गता भएका बालबालिकाका लागि समयमै हस्तक्षेप र शिक्षा

तुलनात्मकरूपमा बौद्धिक अपाङ्गता भएका बालबालिकामाथि धेरै उपेक्षा र हेला हुनेगरेको छ । त्यस्ता बालबालिका धेरैजसो गरीब परिवारमा रहेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा ठूलो संख्यामा अपाङ्गता भएका बालबालिका समयमै पाउनुपर्ने पुनःस्थापनालगायत अन्य सेवा र शिक्षाबाट बञ्चित रहेका छन् ।

शिशुहरूको उचाइ, वजन र शारीरिक वृद्धि अवस्थाको नियमित जाँच गर्नु जति जरूरी छ त्यति नै उनीहरूको उमेर अनुसार हुनुपर्ने मानसिक वा अन्य विकासमा भइरहेको परिवर्तनबारेमा समयमै थाहा पाउनु जरूरी हुन्छ । बालबालिकाको समग्र विकासमा भइरहेको ढिलाइको पहिचान समयमै भइसकेपछि उनीहरूको सम्भव हुनसक्ने समग्र विकासका लागि आवश्यक कदमहरू चाल्नु आवश्यक हुन्छ । यस अन्तर्गत आवश्यक स्याहार-सुसार, उत्प्रेरणा, प्रारम्भिक बाल विकास अथवा विद्यालय जानु पहिला सिकाउनुपर्ने कुराहरू पर्छन् । शुरुकै अवस्थामा बालबालिकाको मानसिक र शारीरिक विकासका लागि गरिने लागानीले दिने प्रतिफल त्यसपछि गरिने लगानीको भन्दा ज्यादा हुन्छ । प्रारम्भिक बाल विकासका कार्यक्रममा यदि सरकारी प्रतिबद्धता रह्यो भने बालबालिकाको विकासमा निकै महत्वपूर्ण प्रतिफल प्राप्त गर्न सकिन्छ ।

अझ सरकारले अपाङ्गता भएका बालबालिकाले आफू बसेकै समुदायमा अन्य बालबालिकासरह समान आधारमा प्राथमिक र माध्यमिक शिक्षामा पहुँच पाएका छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । यस प्रक्रियामा परिवार र साझेदारहरूको समेत संलग्नता अझ महत्वपूर्ण हुनेगर्छ ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

५.१   प्रारम्भिक बाल विकासका कार्यक्रमहरूमा समेटिएका अपाङ्गता भएका बालबालिकाको संख्या ।

५.२   अपाङ्गता भएका बालबालिकाको विद्यालयको प्राथमिक तहमा भर्ना हुने दर ।

५.३   अपाङ्गता भएका बालबालिकाको विद्यालयको माध्यमिक तहमा भर्ना हुने दर ।

सहायक सूचक

५.४   बच्चामा अपाङ्गता पहिचान गर्ने र अपाङ्गता भएका बालबालिकाका अधिकारसम्बन्धी आवश्यक जानकारीसहितका जन्मपूर्व र बच्चा गर्भमा आइसकेपछि दिइने स्याहार, सेवा-सुविधाहरूको संख्या ।

५.५   साङ्केतिक भाषामा प्रशिक्षण पाउने बहिरा बालबालिकाको संख्या ।

५.६   पहुँचयुक्त शैक्षिक सामग्रीहरू प्रयोग गरी शिक्षा लिने दृष्टिविहीन बालबालिकाको संख्या ।

५.७   उपयुक्त सहायक सामग्री, लचिलो र आवश्यकतामा आधारित पाठ्यक्रम, पहुँचुक्त र उपयुक्त शिक्षण सिकाइ विधि, उपयुक्त शैक्षिक सामग्रीहरूको उपयोग भई सिकिरहेका बौद्धिक अपाङ्गता भएका, अटिज्मबाट प्रभावित, सिकाइमा सुस्तता भएका बालबालिकाको संख्या ।

लक्ष्य

लक्ष ५.(क). अपाङ्गता भएका बालबालिकाका लागि समयमै पहिचान गर्ने र समयमै हस्तक्षेप गर्ने उपयुक्त उपायहरू निर्धारण गर्ने ।

लक्ष ५.(ख). अपाङ्गता भएका बालबालिका र अपाङ्गता नभएका बालबालिकाको विद्यालय भर्ना दरमा भएको फरकलाई आधा कम गर्ने ।