इन्च्योन रणनीतिका सिद्धान्त र मुख्य नीतिगत मार्गनिर्देशन
इन्च्योन रणनीतिका सिद्धान्त
यो रणनीति अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ का आधारमा तयार गरिएको हुनाले महासन्धिका जे सिद्धान्त छन्, यसका पनि तिनै हुन्, जुन माथि महासन्धिको सरल संस्करणमा व्याख्या गरिसकिएको छ ।
इन्च्योन रणनीतिका मुख्य नीतिगत मार्गनिर्देशन
१. अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न र उनीहरूले सबै अधिकार पाएको सुनिश्चित गर्न आवश्यक पर्ने सबै कानुनी, प्रशासनिक उपायहरू अपनाउने, आवश्यकता भए तिनमा पुनरावलोकन गर्ने, नयाँ बनाउनुपर्ने भएमा नयाँ बनाउने र त्यसलाई बलियो बनाउँदै जाने ।
२. राज्यले बनाउने नीति र कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई समावेश गरिनेछ । यस्ता नीति र कार्यक्रमहरूमा महिला र पुरूषलाई समान अधिकार दिइनेछ । अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई पूरा गर्न अपाङ्गता भएका व्यक्तिहरूलगायत सबैका लागि प्रयोगमा सजिलो हुने संरचनाहरूको निर्माण र प्रविधिको विकासमा जोड दिइनेछ ।
३. राज्यले बनाउने नीति र कार्यक्रमहरूमा गरिबीको अवस्थामा बाँचिरहेका अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका आधारभूत आवश्यकताहरूलाई सम्बोधन गरिनेछ ।
४. वास्तविक आवश्यकतालाई सम्बोधन गर्नेखालको नीति र कार्यक्रम बनाउन लिङ्गलगायतका जानकारी छुट्टिने गरी अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिनेछ ।
५. राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरमा लागू हुने नीति र कार्यक्रमहरू बनाउँदा अपाङ्गताका सवाललाई समावेश गरिनेछ र त्यस्ता कार्यक्रम र नीति बनाउँने क्रममा गरिने विभिन्न छलफल तथा निर्णय प्रक्रियाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका प्रतिनिधि संस्थामार्फत सहभागी गराइनेछ ।
६. अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकतालाई समेत समावेश गरेर गरिने विकासका काम र बनाइने करसम्बन्धी नीतिहरूका लागि आवश्यक बजेटहरू उपलब्ध गराइनेछ ।
७. राज्यका लागि विकासका कामहरू गर्ने राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरका सबै निकायले आफ्ना नीति र कार्यक्रमहरूमा अपाङ्गताका विभिन्न पक्षलाई समावेश गर्ने छन् ।
८. राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरमा समन्वय गरी विभिन्न विकाससम्बन्धी नीति र कार्यक्रममा अपाङ्गताका विषयहरूलाई समावेश गर्ने कामलाई अझ बलियो बनाउँदै लैजाने कुरा सुनिश्चित गरिनेछ । यसो गर्दा विभिन्न सरोकारवलाहरूसँग परामर्श लिने, यो रणनीति कार्यान्वयनको समीक्षा गर्ने र एक ठाउँमा भएका राम्रा कामलाई अरू ठाउँमा पनि अनुकरण गराउने काम गरिनेछ ।
९. समावेशी विकासलाई परिवार र समुदायमा पनि प्रवर्द्धन गरिनेछ, जसले गर्दा विशेष गरेर गरिबी हटाउने वा घटाउने कार्यक्रमहरूमा सबै जाति, वर्ग, लिंग, सामाजिक अवस्था, आर्थिक अवस्था आदिका अपाङ्गता भएका व्यक्तिहरूले अरूसरह समानरूपमा योगदान गर्न र लाभ पाउन सकून् ।
१०. अपाङ्गता भएका व्यक्तिहरू अन्य मानिसहरू रहने/बस्ने गरेको मूलधारको सामुदायिक जीवनमा नै समान आधारमा समावेश हुनेछन् । उनीहरूलाई अन्य व्यक्तिहरू जस्तै कस्तो जीवन कोसँग र कसरी ज्युने भन्ने बारेमा छनौट गर्न पाउने र आत्मनिर्भर भएर रहन पाउने हकका लागि विभिन्न सहयोगहरू प्रदान गरिनेछ ।
११. अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो वरिपरिको भौतिक वातावरण (जस्तैः सडक, सार्वजनिक भवन, सार्वजनिक स्थल, बजार, सेवा सुविधा र अवसर प्रदान गर्ने ठाउँहरू, विद्यालय-कलेज आदि, यातायात, सूचना तथा जानकारी, सञ्चार आदिको आवश्यकता अनुसार उपयोग गर्न अरूहरूलाई जस्तै समान पहुँच हुनेछ । यसका लागि भौतिक संरचनाहरू सबैले उपयोग गर्न मिल्नेगरी निर्माण गर्ने, सहयोगी सेवा र सामग्री र प्रविधिहरू उपलब्ध गराउने, आवश्यकता अनुसारका विशेष अस्थायी व्यवस्थाहरू गर्ने जस्ता काम गरिनेछ ।
१२. तल उल्लेखित समूहहरू समेत समेटिने गरी विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सशक्त बनाइनेछः
• अपाङ्गता भएका केटा र केटी,
• अपाङ्गता भएका युवा,
• अपाङ्गता भएका महिला,
• बौद्धिक अपाङ्गता र सिकाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति,
• अटिज्मबाट प्रभावित व्यक्ति,
• मनोसामाजिक अपाङ्गता भएका व्यक्ति,
• बहिरा तथा सुस्तश्रवण व्यक्ति,
• श्रवण-दृष्टिविहीन व्यक्ति,
• बहु-अपाङ्गता भएका व्यक्ति,
• गम्भीर अपाङ्गता भएका व्यक्ति,
• अपाङ्गता भएका ज्येष्ठ नागरिक,
• एचआइभी प्रभावित अपाङ्गता भएका व्यक्ति,
• नसर्ने रोगहरूबाट प्रभावित अपाङ्गता भएका व्यक्ति,
• कुष्ट प्रभावित अपाङ्गता भएका व्यक्ति,
• सडक दुर्घटनाबाट अपाङ्गता भएका व्यक्ति,
• आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायका अपाङ्गता भएका व्यक्ति,
• घरवार केही नभएका अपाङ्गता भएका व्यक्ति,
• सशस्त्र द्वन्द्व, मानवीय विपद्लगायत अन्य जोखिमको अवस्थामा रहेका अपाङ्गता भएका व्यक्ति,
• जमिनमुनिका विष्फोटक पदार्थहरू विष्फोट भई अपाङ्गता भएका व्यक्ति,
• कानुनी अधिकारहरू नपाएका अपाङ्गता भएका व्यक्ति,
• घरेलु हिंसाबाट प्रभावित अपाङ्गता भएका व्यक्ति (विशेष गरेर महिला र बालबालिका),
• अभिभावकहरूको समूह (Family Advocacy Group),
• सुकुम्बासी वस्तीमा रहेका सीमान्तकृत अपाङ्गता भएका व्यक्ति,
• गाउँ तथा दुर्गम क्षेत्रमा बस्ने अपाङ्गता भएका व्यक्ति ।
१३. सीमान्तकृत समुदायका आवश्यकताहरूलाई सम्बोधन गर्न अपाङ्गता भएका व्यक्तिका संस्थाहरू, स्वावलम्बी समूहहरू, स्वयं पैरवी समूहहरू र आवश्यकता अनुसार अपाङ्गता भएका व्यक्तिका परिवार र उनीहरूलाई सेवा र हेरचाहर गर्ने व्यक्तिहरूसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गर्ने क्रममा उपयुक्तताका आधारमा सहभागी गराइनेछ ।
१४. अपाङ्गतासम्बन्धी र अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी जनचेतना जगाउने कामलाई बलियो बनाइनेछ र त्यसलाई निरन्तरता दिइनेछ । समाजको सोच र व्यवहारमा परिवर्तन ल्याउन यस काममा पर्याप्त बजेटको व्यवस्था गरिनेछ ।