धारा २३ : घरबार र परिवार हुने कुराको सम्मान

अन्य व्यक्तिसरह सबै अपाङ्गता भएका व्यक्तिहरूलाई विवाह गर्ने वा नगर्ने, परिवार बसाउने, नाता सम्बन्ध कायम गर्ने, बाबु वा आमा हुने समान अधिकार छ ।

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि यस्ता अधिकारहरू उपयोग गर्न रोक लगाइएको छ वा भेदभाव गरिएको छ भने त्यसलाई कानुन बनाएर रोक्नुपर्छ ।

 

देशहरूले अरू थप निम्न कुराहरू पनि सुनिश्चित गर्नुपर्छः

  • अपाङ्गता भएका व्यक्तिहरूको पनि जोडीको स्वतन्त्र सहमति र इच्छामा विवाह गर्न र परिवार बसाउने समान अधिकार हुनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई पनि कतिवटा बच्चा पाउने वा नपाउने, कहिले-कहिले पाउने भन्ने समान अधिकार हुनेछ र इच्छाविपरीत स्थायी नियोजन गर्न नपाइने अधिकार रहने छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई परिवार नियोजन र त्यस्तो कुराको निर्णय लिन सहयोग पुग्नेखालका सूचना पाउने पूरा अधिकार रहने छ ।
  • देशहरूले अपाङ्गता भएका व्यक्तिहरूका बालबच्चाहरूका निमित्त सहयोग प्रदान गर्ने छन् ।
  • अपाङ्गता भएका बालबालिकालाई आफ्नो घर-परिवारबाट छुट्याएर राख्न पाइँदैन र यस्तो कुरा कानुनद्वारा नै सुनिश्चित गर्नुपर्छ ।
  • धर्मपुत्र वा धर्मपुत्री बनाउने विषयमा अन्य बालबालिकासरह अपाङ्गता भएका बालबालिकाको सबैभन्दा हित के गर्दा हुन्छ भन्नेमा ध्यान दिइनेछ ।
  • अपाङ्गता भएका बालबालिकालाई उनीहरूको सबैभन्दा हित हुनेगरी कानुनले भनेबाहेक अन्य अवस्थामा आफ्ना आमाबाबुबाट अलग गरिने छैन । आमाबाबुमा अपाङ्गता भएका कारणले बालबालिकालाई आमाबाबुबाट अलग्याउँन पाइँदैन ।
  • कानुनमा तोकिएको व्यवस्था बाहेक अपाङ्गता भएकै कारण बालबालिकालाई आमाबाबु वा परिवारले छाड्न वा त्याग्न वा लुकाएर राख्न पाइँदैन । देशहरूले यस्ता अभ्यासलाई रोक्नेछन् ।
  • अपाङ्गता भएका बालबालिकालाई तिनको सबैभन्दा नजिकको परिवारले पालन पोषण गर्न नसक्ने देखिएमा उनको अरू नजिकको नातेदारको जिम्मा लगाएर पालन पोषण गराउन सकिनेछ । त्यो पनि हुन नसकेमा समुदायभित्रै पारिवारिक वातावरणमै स्याहार सुसार गर्ने व्यवस्था मिलाइनेछ ।