अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको शुभकामना सन्देश
संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखी अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरि हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको आज हामी २९औँ सृङ्खलामा आइपुगेका छौँ । “कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल राष्ट्रिय नारा र Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधि सहित मनाइँदै छ । तसर्थ यस महत्वपूर्ण घडीमा सम्पूर्ण नेपाली तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, सेवा प्रदायक, अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि लागि परेका सरकारी निकाय, राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, साझेदार निकाय, नागरिक समाज, पत्रकार वुद्धिजीवी, नीजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विश्व अपाङ्गता अधिकार आन्दोलनले अपाङ्गतालाइ दया र कल्याणको रूपमा मात्र हेरिने परम्परागत दृष्टिकोणलाइ क्रमश चिर्दै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीको भावना र मर्म अनुसार अपाङ्गता भनेको शारीरिक वा मानसिक अवस्था नभएर विभेद, उपेक्षा र अवरोधहरूबाट उत्पन्न अवस्था हो भन्ने बुझाइ र अवधारणालाई आत्मसाथ गरिसकेको वर्तमान परिदृश्यमा हाम्रो देशको अपाङ्गता अधिकार आन्दोलन पनि अपाङ्गताको यहि अधिकारमुखी अवधारणामा क्रमशः अगाडी वढिरहेको छ ।
नेपालको अपाङ्गता अधिकार आन्दोलनलाइ देशव्यापी रूपमा संगठित गर्दै विगत २७ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेको राष्ट्रिय अपाङ्ग महासंघ, यसका सदस्य संस्था र सम्बद्ध सबै सरोकारवालाहरूका अगाडी अगाडी केहि राम्रा उपलब्धी र अवसरहरू छन् भने अझै धेरै गर्न बाँकी काम र कामको यात्रामा चुनौतिहरू पनि त्यत्तिकै छन् । संविधान, नीति र कानुनहरूमा अधिकारमुखी सोचबाट निकै राम्रा र उत्साहाजनक उपलब्धी हामीले हासिल गरेका छौँ तर ति नीति र कानुनमा भएका व्यवस्थालाई अक्षरस कार्यान्वयन गराउँदै अपाङ्गता भएका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै चुनौतिपूर्ण बाटाहरू हामीले पार गर्नुछ । अपाङ्गतालाइ समाज र परिवारले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा ठूलो परिवर्तन ल्याउनुछ । शिक्षा, स्वास्थ्य, रोजगारी, पुनर्स्थापना, सहभागिता, प्रतिनिधित्व, न्यायमा पहुँच जस्ता अत्यावश्यक अधिकारलाइ समावेशी बनाउन धेरै काम गर्न बाँकी छ । त्यसमा पनि अत्यन्त गम्भीर अवस्थामा रहेका, घर र अँध्यारो कोठाको चार दिवारीमा थुनिएर अनि बाँधिएर रहनुपरेका, गरिवीको अवस्थामा रहेका, दैनिक हिंसा र दुर्व्यवहारको मारमा परेका र दुर्गम तथा विकट स्थानमा रहने अपाङ्गता भएका व्यक्तिका आवाजहरू अझै बाहिर ल्याउन जरूरी छ ।
अपाङ्गता भएका व्यक्तिमाथि हुने मानवअधिकार हननका घटनामा खवरदारी गरेर राज्यको हस्तक्षेप बढाउनुछ भने निर्णय प्रकृयामा हाम्रो प्रतिनिधित्व सुनिश्चित गर्न हाम्रो सांगठनिक एकता र शसक्तिकरण पनि त्यतिकै जरूरी छ ।
कोभिड १९ को माहामारीले अपाङ्गता भएका व्यक्तिको जीवनलाइ आर्थिक तथा सामाजिक दुवै दृष्टिकोणबाट थप तहसनहस बनाएको छ । यसले हामीमाथि अर्को ठूलो चुनौति थपिएको छ । कोभिड पश्चातको पुनरागमनलाई साँच्चिकै उत्कृष्ट बनाउने हो भने राज्यले यस माहामारीबाट प्रभावित क्षेत्रलाइ माथि उठाउन बनाउने हरेक नीति, कार्यक्रम र योजनामा अपाङ्गताको समावेशीकरण गर्न अपरिहार्य छ ।
दिगो विकास लक्षका कार्यक्रम र यसको स्थानीयकरणसँग जोडिएका कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू समेटिन सकेका छैनन् जसको लागि हामीले संघ, प्रदेश र हरेक पालिकामा अभियान छेड्नुपर्नेछ ।
तसर्थ आज यस माहान दिवसको अवसरमा हामीले अपाङ्गता अधिकार आन्दोलनले विश्वभर ल्याएका उपलब्धीमा खुसियालीमा रमाउँदै शुभकामना आदानप्रदान गर्दै गर्दा सोहि खुशीमा सम्पूर्ण राष्ट्रिय अपाङ्ग महासंघको तर्फबाट समेत खुशी बाँड्दै यस दिनले माथि उल्लेखित चुनौतिको सामना गर्न र अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन ल्याउने अझै धेरै काम गर्न प्रेरणा सबैमा मिलोस भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद
मित्रलाल शर्मा
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
रेडियो नेपालबाट डिसेम्बर ३ मा प्रसारण भएको शुभकामना सन्देश निम्न लिङ्कबाट डाउनलोड गर्न सकिनेछः