अपाङ्गता समाबेशी राष्ट्रिय जनगणना २०७८ मा महासंघका सदस्य सँस्थाहरुको परिचालन सम्बन्धी सामान्य निर्देशिका

पृष्ठभुमीः

 राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण प्रवर्धन र संवर्धनको लागि कृयाशिल एकमात्र गैर सरकारी राष्ट्रिय स्तरमा २०५० सालदेखि निरन्तर कृयाशिल अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था हो ।
अपाङ्गता भएका व्यक्तिहरुको अवस्थासँग सम्बन्धित विस्तृत तथ्याङ्कको अभावको कारणले उनीहरुको पक्षमा राज्यको तर्फबाट प्रभावकारी योजना, बजेट तथा कार्यक्रमहरू बन्न र लागु हुन सकिरहेका छैनन् । सही तथ्यांकको अभावले गर्दा ऐन, कानुन नीतिहरू बनका भएतापनि व्यवहारमा अपाङ्गता भएका व्यक्तिको जीवनमा चरितार्थ हुनेगरि ति नीतिहरू लागु हुन सकेका छैनन् र अपाङ्गताको सवालमा विकास प्रकृयामा सँधै पछाडि पर्दै आएकोछ । यसै बिषयलाई मध्यनजर गर्दै विगत १ दशक भन्दा बढि अवधिदेखि महासंघले अपाङ्गता भएका व्यक्तिको विस्तृत तथ्याङ्क राज्यसँग हुनुपर्ने र उक्त तथ्याङ्कलाई सरकारले अपाङ्गता भएका व्यक्तिको पक्षमा कार्यक्रम र योजना निर्माण गर्न उपयोग गर्नुपर्ने माग राख्दै विभिन्न पैरवी लगायतका कामहरू गर्दै आएको छ । यसै सन्दर्भमा विगत १ बर्षदेखि राष्ट्रिय जनगणना २०७८ लाइ लक्षित गरी उक्त जनगणनालाई सकेसम्म अपाङ्गता समावेशी बनाउनको लागि महासंघले केन्द्रीय तथ्याङ्क विभाग, संयुक्त राष्ट्र संघीय निकाय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विभिन्न साझेदार संघसस्थाहरु लगायत विभिन्न सरोकारवालासँग कामहरू गरिरहेको छ ।

उद्देश्यः
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले डिपिओडि डेनमार्क तथा एफ एफ ओ नर्वेसंगको साझेदारीमा सञ्चालित परियोजना “समावेशीकरणको लागि कृयाशिलता” अन्तरगत अपाङ्गता भएका व्यक्तिको तथ्याङ्कलाई सबल बनाउन नेपालको राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी विभिन्न कृयाकलापहरू गर्दै आएको छ । राष्ट्रिय जनगणना २०७८ मा बढी भन्दा बढी अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गर्ने अभियानमा महासंघका सदस्य संस्थाहरूलाई परिचालन गर्न यो निर्देशिका तयार गरिएको हो ।

कार्यक्रम
राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेदेखि सुरू भइ मंसिर ९ गतेसम्म चल्नेछ । जनगणनाको क्रममा अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क पनि संकलन गरिने भएको हुनाले यसमा धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिको गणना हुनु जरूरी छ । यस अभियानमा महासँघको सबै सदस्य सँस्थाहरुलाई परिचालन गर्नको लागि यस निर्देशिका तयार गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघका सदस्य सँस्थाले गर्नुपर्ने कामहरू  

  • जनगणना सम्बन्धी बन्ने प्रादेशिक, जिल्ला, पालिका, र वडा स्तरिय सबै संरचनाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताको लागि निरन्तर पैरवी गर्ने ।
  • जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय, जिल्ला जनगणना अधिकारी, स्थानीय जनगणना अधिकारी, गणक र सुपरभाइजरहरु संग निरन्तर सम्पर्कमा रही उनीहरूलाई अपाङ्गता भएका व्यक्तिको गणना नछुटाउन अभिप्रेरित गर्ने ।
  • संस्थाको तर्फबाट अपाङ्गता भएका व्यक्तिलाई जनगणनामा नछुटाउन परिवार र सरोकारवालाहरूलाई सार्वजनिक आह्वान गर्ने ।
  • गणक तथा सुपरिवेक्षकहरूलाई प्रदान गर्ने तालिमहरूमा अपाङ्गता सम्बन्धी सत्र संचालन गर्नको लागि तयारी गर्ने र उक्त सत्र संचालन गर्नको लागि स्थानीय जनगणना कार्यालयसंग समन्वय र पैरवी गर्ने र सत्र संचालन गर्ने
  • केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, संघ तथा प्रदेश कार्यालयले उत्पादन गरेका सचेतना तथा सुचना सम्बन्धी सामग्रीहरुको सम्प्रेषण तथा प्रचार प्रसार गर्न सहयोग गर्ने । यसको लागि व्यक्तिगत भेटघाट, फोन, सार्वजनिक संवाद, सामाजिक सञ्जाल सबैको उपयोग गर्ने ।
  • स्रोत र साधनले भ्याएसम्म प्रचार प्रसार सामग्री निर्माण गरी संस्थाको तर्फबाट प्रचार प्रसार गर्ने ।
  • जनगणना अभियानमा आफ्ना सबै सदस्यहरूलाई एक वा अर्को रुपमा परिचालन गर्ने ।
  • स्थानीय सञ्चार माध्यमहरू मार्फत पहुँचयुक्त भाषामा सूचना प्रसारण गर्न गराउनको लागि वकालत तथा पैरवी गर्ने ।
  • सम्भव भएसम्म जनगणना लक्षित छलफल, घर दैलो, साङ्गीतिक प्रस्तुतिकरण जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • सामाजिक संजालहरू बाट अपाङ्गता समावेशी जनगणना सम्बन्धी अभियान चलाउने ।
  • स्थानीय मिडियाहरूमा अपाङ्गता र जनगणना सम्बन्धी लेख रचना, अन्तर्वार्ता जस्ता कार्यक्रमहरू प्रसारण गर्न पहल गर्ने ।
  • खासगरी झट्ट हेर्दा बाहिरबाट नदेखिने अपाङ्गता भएका व्यक्तिहरू छुट्न सक्छन् त्यस बारेमा तिनका घर परिवार, स्वयं अपाङ्गता भएका व्यक्तिहरू, जनप्रतिनिधिहरू संग नियमित सम्पर्कमा रहने र यस सम्बन्धी जानकारी प्रदान गर्ने ।
  • गणक तथा सुपरभाईजरहरुसँग नियमित सम्पर्कमा रहने तथा गणना प्रकृयामा गणकहरुसँगै सहभागी भएर उनिहरुले कसरी सूचना तथा तथ्याङ्क सँकलन गरिरहेका छन् अनुगमन गर्ने
  • अपाङ्गता सम्बन्धी प्रश्नावलीहरु सोध्ने तरीका मिलेको छैन भने उनिहरुलाई सहजीकरण गर्ने ।
  • आफ्ना सबै सदस्यहरुलाई निश्चित एरिया तोकेर घरदैलो सञ्चालन गर्न लगाउने तथा अन्य सचेतनामुलक कार्य गर्न लगाउने ।
  • पालिका स्तरमा रहेका स्थानीय अपाङ्गता समन्वय समितिहरुलाई कृयाशिल रुपमा परिचालन गर्ने ।
  • स्थानीय स्तरमा सदस्य सँस्थाहरु वीच सहकार्य गर्ने र एक अर्काको कार्यबाट सिक्ने अवसर प्रदान गर्ने ।
  • सम्भव भए सम्म स्थानीय तहमा गणकहरुलाई अपाङ्गताको बारेमा थप सुसूचित गर्ने ।