कलियुगका श्रवणकुमार

मेरो नाम श्रवणकुमार यादव हो । म शारीरिक  अपाङ्गता भएको व्यक्ति हुँ । अहिले म २९ वर्षको भएँ । हाल म सनसाईन नामक संस्थामा काम गर्छु । मेरो मासिक १० हजार तलब छ । यसले मलाई आफ्नो अध्ययन र सामान्य घर परिवार चलाउन सहज भएको छ । निकै खुसी मुद्रामा श्रवणकुमार प्रस्तुत भए ।

उनले आफ्नो जीवनका वारेमा यसरी सुनाए ।

मेरो पनि अरु सामान्य व्यक्तिको जस्तै सपना थियो । यो हुनु स्वभाविक नै लाग्दथ्यो । म आफ्नो सपनालाई विपना बनाउन चाहन्थे । धेरै पढ्ने, राम्रो जागिर खाने, सुन्दर घर बसाल्ने  तथा अपाङ्गता अधिकारको लागि वकालत गर्ने । तर सपना भएर मात्र के गर्ने ? पढ्न जाऔं आर्थिक अवस्थाले भ्याउदैन थियो, न पढौं सपना पुरा हुदैन थियो । म निकै अफ्ठेरोमा परेको थिएँ । आफ्ना मनका कुरा कसलाई भन्ने ? कसले मेरो कुरा बुझ्ने ? दोधारै दोधारको जिन्दगीमा रुमल्लिरहेकोको थिएँ ।

A man who have physical disability standing in the front of tree

 

यसैबीच ढुङ्गा खोज्दा देउता मिले झैं भयो । जिल्ला च्याप्टर कपिलवस्तुलाई मैले भगवान कै रुपमा पाए । जिल्ला च्याप्टरले मेरो कुरा बुझ्यो । उहाँहरुको सहयोगमा ८ कक्षा पढ्नको लागि  जिल्ला शिक्षा कार्यालयबाट छात्रवृत्ति उपलव्ध गराईदिनु भयो । यसले ममा छुट्टै उर्जा थप्यो । मलाई पढेर केही गर्छु भन्ने रहर जाग्यो । मैले कस्तो पढ्दैछु भनेर बुझ्नका लागि जिल्लाबाट सरहरु आउनु हुन्थ्यो । उहाँहरुको निरन्तर प्रेरणा र सहयोगबाट १० कक्षासम्म जहदी माध्यमिक विद्यालयमा छात्रावृत्तिमा पढे । एस एल सी उतिर्ण भएपछि म हर्षविभोर भएँ । मेरो खुसीको सिमा नै रहेन । एकातिर खुसी थियो, अर्कातिर उच्च शिक्षा कसरी हासिल गर्ने भन्ने चिन्ता थियो । अब कोसँग सहयोग माग्ने अलमल परिरहेको थिएँ । यसै वेला पुनः जिल्ला च्याप्टरका अध्यक्षले उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्तिको लागि पहल गरिदिनु भयो । नभन्दै उच्च शिक्षाको लागि छात्रवृत्ती पाउने पनि निश्चित भयो । अब म ढुक्क भएर उच्च माविमा पढ्न थालें । यसका साथै आफ्नै गाउँमा अपाङ्गता अधिकारको लागि सञ्चालन भएको सामाजिक समावेशीकरण कार्यक्रम अन्तरगत बनेको स्वावलम्वन समुहको सदस्य भएँ ।

पढाइको साथै स्वावलम्वन समुहमा निरन्तर सहभागी हुन थालें । जसको कारणबाट मैले अपाङ्गता अधिकारको वारेमा राम्रोसँग बुझ्न थाले । मैले नेतृत्व विकास तालिम लगायत अन्य विभिन्न तालिमहरु पनि पाएँ । यी तालिमहरुबाट मैले आफ्नो अधिकार बुझ्न सकें ।  त्यसपछि गाउँ विकास समितिमा गएर अपाङ्गता अधिकारको लागि  बजेट छुट्याउन वकालत गर्न थालें । गाविसले पनि २०७१ सालमा १ लाख बजेट छुट्याइदियो ।

यसरी छुट्याएको रकमबाट अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्ने काम भयो । मेरो काम देखेर महासंघले गैंडाकोटमा आयोजना गरेको व्यवस्थापन तालिममा जाने मौका पाएँ ।  त्यसले मलाई अपाङ्गताको क्षेत्रमा अझ बढी काम गर्नु पर्दछ भन्ने प्रेरणा दियो । म निरन्तर जिल्ला च्याप्टरको सम्पर्कमा रही अपाङ्गता अधिकारको लागि लडिनै रहें  ।

मैले बार्ह कक्षा पास गरिसकेको थिएँ।  सनसाईन संस्थामा कर्मचारीका लागि आवेदन खुलेको थाहा पाएँ, त्यस पदका लागि मैले महासंघको जिल्ला अध्यक्षलाई पहल गरिदिन अनुरोध गरेँ । उहाँले पहल पनि गरिदिनु भयो । मेरो जागिर भयो  । त्यस पछि उक्त संस्थामा काम गर्ने अवसर प्राप्त भयो । सायद म जिल्ला च्याप्टरको सम्पर्कमा आउन नसकेको भए पढ्ने र हाल नोकरी गर्ने अवसर प्राप्त हुँदैनथ्यो ।

मैले अब  बि.एड. पढ्ने सोच बनाईरहेको छु । अब म कुनै पनि काम गरी जिवन धान्न सक्छु भन्ने आत्मबल ममा आएको छ । म धेरै खुशी छु । अहिले मलाई गाउँका साथीहरुले गर्ने व्यवहार समान छ । गाउँका सानातिना कामहरुमा नेतृत्व गर्ने मौका समेत पाएको छु । काम गर्दै जाँदा अहिले म गा.वि.स. स्तरको स्वावलम्वन समुहको अध्यक्ष बनेर स्थानीय श्रोत र साधन परिचालन गर्ने समेत जिम्मेवारी पाएको छु । यसका साथै म गरिबी निवारण समुहको सचिव र गाउँ परिषदको सदस्य भई काम गरिरहेको छु ।