वद्लिदै गरेको शुष्माको जीवनी
गरिव भएँ त के भयो ? तर पनि खुसी थिएँ । बाल्यकालमा धेरै दुःख भोगें । तर त्यो पनि सहें । कहिले हरेस खाइन बरु गरिवीको विरुद्धमा लड्दै अगाडि बढें । तर एक्कासी म माथि बज्रपात पर्यो । जुन म भन्न पनि सक्दिन र सम्झदा पनि मलाई गाह्रो हुन्छ । भक्कानिदै शुष्मा भण्डराले आफ्नो कुरा सुनाइन् । वि.सं २०५१ सालमा कैलाली जिल्लाको साडेपानी गाविस वडा नं. ६ मा गरिव परिवारमा उनको जन्म भएको थियो । घरमा उनी सहीत ९ जनाको परिवार छ ।
बुवा आमाले ज्याला मजदुरी गरेर ९ जना परिवारलाई खान लगाउन धौ–धौ थियो । दुःख कष्ट भोग्दै परिवारका सबैजनाले कष्टपुर्वक जीवन विताइरहेका थिए । किनकी गरिबीले हामीलाई छोडेको थिएन । आर्थिक अवस्था निकै दयनिय भएको कारण पढाईलाई भने परिवारका सबैले निरन्तरता दिन सकेका थिएनन् । तर शुष्माले भने जसरी तसरी पढाइलाई निरन्तरता दिइनै रहिन् ।
घरमा धेरै दिन छोरी राख्नु हुदैन भन्ने चलन हाम्रो गाउँमा थियो । मलाई सोध्दै नसोधी सानै उमेरमा १६ वर्ष पुग्दा नपुग्दै २०६६ सालमा गाँउमै मेरो विवाह भयो । विवाह भएको एक वर्षपछि उनी १ छोराकी आमा बनिन् । जेहोस गरिव भए पनि खुसी साथ जीवन चलिरहेको थियो । तर उनको खुसी लामो समयसम्म टिकेन । यस खुसीलाई सायद भगवानले पनि देख्न सकेनन् की के हो ?
उनी भन्छिन्, गाई बस्तुलाई घासँ काट्न म रुखमा चढें । मलाई के भयो थाहा भएन, एक्कासी रुखबाट भुईमा बजारिएँ । अस्पतामा उपचार भयो । तर के गर्ने उपचारले खासै काम गरेन । अन्ततः म शारीरिक अपाङ्गता भएको व्यक्ति भएँ । अपाङ्गता भएपछि पहिलाको जस्तो काम गर्न सकिन । परिवारले मलाई नै सहयोग गर्नुपर्ने भयो । त्यस पछि श्रीमान र घरपरिवारका अरु सदस्यले साह्रै हेप्ने र हेला गर्ने गर्न थाले । म गर्न सक्ने हुँदा, मेरो काम खान पाउन्जेल केही भन्दैन थिए । घर परिवारको म प्रतिको व्यवहार राम्रै थियो । अहिले गर्न नसक्ने भएपछि सबैको व्यवहार परिवर्तन भयो र मैले हेलामा पर्नु पर्यो ।
उनलाई परिवारले गर्ने व्यवहार, हेपाई र अपशब्दहरुको कारणले जिन्दगी नै धिक्कार लाग्न थाल्यो । यसपछिको एउटै मात्र विकल्प आत्महत्या रोजिन् उनले । जुनकुरा उनको साथी मार्फत स्वाबलम्वन समुहले थाहा पायो । उनिलाई स्वाबलम्वन समुहका पदाधिकारीले सम्झाई बुझाई गरेपछि बाच्नु पर्छ भन्ने आशा पलायो । उनी आत्महत्याबाट पछि हटिन् र केही गर्नु पर्छ भनि स्वावलम्वन समुहमा आवद्ध भईन् । उनी समुहमा सदस्य भएपछि विभिन्न कार्यक्रमहरुमा सहभागी भएर अपाङ्गता अधिकार, राज्यबाट पाउने सेवा सुविधा जस्ता कुराहरुको जानकारी पाईन् । यसले उनी भित्रको क्षमताहरु वाहिर निकाल्न सहयोग पुग्यो । अधिकारका लागि सबै ठाउँमा आवाज निकाल्न थालिन् । उनको सक्रियताका कारण नजिकैको विद्यालयमा प्रा. वि. तहको शिक्षक समेत बन्न सफल भइन् । यसको साथै उनी हिमचुली सहकारी संस्थाको अध्यक्ष बनिन् ।
यी कामले गर्दा समाजमा उनको प्रतिष्ठा बढ्दै गयो । घर परिवारले हेर्ने दृष्टीकोण पनि बद्लिन थाल्यो । अहिले परिवारका सबैले सम्मान गर्न थालेका छन् । उनिप्रति गर्ने व्यवहार परिवर्तन गर्न थालेका छन् साथै उनी आफूले गर्न नभ्याएको काममा पनि सहयोग गर्न थालेका छन् ।
आज म अपाङ्गताको वावजुद पनि यति खुसी छु की म भगवानलाई धन्यवाद दिन चाहन्छु । भगवानले मेरो पुकार सुनिदिनु भयो जस्तो लाग्दछ । म जिल्ला च्याप्टर तथा स्वावलम्वन समुहलाई पनि धन्यवाद दिन चाहन्छु जसको कारण आज म यो ठाउँमा उभिन पाएको छु । आगामी दिनमा समेत अपाङ्गता अधिकारको लागि निरन्तर लागिरहने बचन पनि व्यक्त गर्दछु । उनी भन्छिन् ।