स्वावलम्वन समूह सामाजिक कार्य तर्फ
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा जिल्ला च्याप्टर कैलालीले अपाङ्गता अधिकारको लागि सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालन गर्यो । यसै कार्यक्रम अन्तरगत वि.सं. २०७० सालमा कर्णखर अधिकारीको नेतृत्वमा साडेपानी गाविसमा साडेपानी स्वावलम्वन समुहको गठन भयो । जसमा ११ जना सदस्यहरु थिए । गठन त भयो अब के गर्ने ? सबै सदस्यहरु अन्योलमा थियौं ।
यसै बीच जिल्ला च्याप्टरबाट अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि समुहका सस्यहरुलाई विभिन्न चेतनामुलक तालिमहरु प्रदान गरियो । यी तालिमहरुको मुख्य उद्देश्य भनेको अपाङ्गता भएको व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु थियो । यसैबीच स्वावलम्वन समुहलाई स्थानीय श्रोत परिचालन सम्वन्धी तालिम प्रदान गरियो । यी सबै तालिमबाट अब कसरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि लड्ने अनि त्यसको लागि कसरी अगाडि बढ्ने भन्ने वारेमा प्रष्ट भयो । यी सबै बुझाईले एक प्रकारको हिम्मत सबैमा बढेको थियो ।
अब त केही गर्नुपर्छ, चुपचाप वसेर वा बैठक मात्र गरेर हुदैन । समाजमा उदाहरणीय काम गर्नु पर्छ भन्ने सोच बनीरहेको थियो । यसै वेला बैठकमा एक जना सदस्यले यसै जिल्लाको पहलमानपुर गाविसको वडा नं. १ मा बस्ने कुशल वि.क.को वारेमा सुनाए । जो २०६९ जेष्ठ ५ गते जन्मेका थिए । उनी जन्मजात शारीरिक अपाङ्गता भएका बालक थिए । कुशलका दुबै खुट्टा, घुडाँमुनी जोर्नी नभई सिधै छालाले जोडिएको बाँङ्गो थियो । उनलाई अहिलेसम्म पनि कसैले कुनै प्रकारको सहयोग नगरेको कुरा जानकारी बैठकमा छलफल भयो । उनको जीवनरक्षाको लागि केही गर्नु पर्ने कुरा बैठकमा छलफल भयो । समुहका सबै सदस्यहरुले सहयोग गर्ने बचन दिए ।
बैठकको भोलीपल्ट समुहका सदस्यहरु कुशलको घरमा पुगे । अभिभावकसँग कुराकानी गरे । त्यसपछि कुशलको समग्र अवस्थाको बारेमा जानकारी लिने काम भयो । उनको अभिभावकलाई उपचार पद्धति र प्रक्रियाको वारेमा केही जानकारी थिएन । कुशलको आमा बुवालाई उपचार सम्भव छ भन्ने कुरा जानकारी दिईयो । उपचारका लागि समुहका सदस्यहरुले यातायात खर्चको लागि आफूले सक्ने व्यक्तिगत सहयोग समेत गरे ।
त्यसपछि कुशलका अभिभावकले उनलाई लिएर बनेपा अस्पतालमा पुगे । डाक्टरको सल्लाह अनुसार शल्यकृया भयो । कृत्रिम जुत्ता लगाउन मिल्ने बनाइयो । जसको कारण उनी सामान्य हिडडुल गर्ने सक्ने भए । उनी आफै हिड्न सक्ने भएपछि दंग परे ।
छोरा हिडेको देख्दा कुशलका परिवार पनि दंग परे । सबजना एकदमै खुशी भए । हिड्नै नसकेको आफ्नो सन्तान यसरी हिडडुल गरेको देख्दा सपना हो की जस्तो लाग्यो । उनका बुबाले भने । उनका बुबा थप्छन्, यस्तो हिड्न सक्ने बनाउन सहयोग गर्ने स्वावलम्वन समुहलाई धन्यवाद । यदि यो समुहले आएर मेरो आखाँ नखोलिदिएको भए मेरो छोरो कहिले पनि यसरी हिड्न सक्ने थिएन ।
डाक्टरले फेरी १ पटक धुलिखेल अस्पताल आउनु भन्नु भएको छ । तर आर्थिक स्थिति कमजोर भएकोले त्यहाँ जान सकेका छैनन् । अलिकता पैसा जम्मा गरी चाडै अस्पताल जाने कुरा कुशलकी आमाले बताउछिन् ।
यसरी नै समाज भित्र रहेको समस्याहरुलाई उजागर गरी सम्बन्धित ठाउँमा पैरवी गर्ने स्वावलम्वन समुहले जहिले पनि अग्रस्थानमा उभिने कुरा समुहका अध्यक्ष कर्णखर अधिकारी बताउनु हुन्छ । उहाँ थप्नुहुन्छ, पहिलो कामबाट हामीलाई ठूलो सफलता मिलेको छ । म लगायत सबै पदाधिकारीहरु पनि दंग छन् । यसबाट हामीलाई अझै समाजसेवा गर्ने प्रेरणा मिलेको छ ।